|

काठमाडौं: उपन्यासकार निमेष पौडेल आफ्नो पहिलो कृति 'फाइभ मन्थ्स' उपन्यास लिएर नेपाली साहित्यमा प्रवेश गरेका छन्। शनिबार राजधानी काठमाडौंमा आयोजित एक कार्यक्रममा उक्त उपन्यास विमोचन गरियो।

नेपाली कांग्रेसका युवा नेता एवं पूर्व स्वास्थ्यमन्त्री गगनकुमार थापा, चर्चित सिने अभिनेत्री दीपाश्री निरौलालगायतले विमोचन गरेको उक्त पुस्तकमाथि समीक्षात्मक टिप्पणी गर्दै युवासमालोचक घनेन्द्र अोझाले पुस्तकमा कुरकुरे वैँसको उमेरका केटाकेटीको प्रेम प्रसंग रोचक तरिकाले प्रस्तुत गरिएको बताए। अोझाले वर्तमानको नेपाली आख्यान लेखन उडन्ते, बजारमुखी र ननभेज जोकहरूको संग्रह जस्ता हुँदै गएको बताउँदै अबका स्रष्टा त्यसप्रति सचेत हुनुपर्ने धारणा राखे।

उपन्यास प्रेम, आकर्षण, प्रणय हुँदै पश्चातापमा पुगेर टुंगिएको बताउँदै भाषा र कला पक्षमा सुधार गर्न लेखकलाई सुझाव दिए। अहिले नेपाली आख्यानमा कलम चलाउनु चुनौतीपूर्ण कार्य भएको पनि अोझाको भनाइ थियो।

अभिनेत्री निरौलाले सानो उमेरमै उपन्यास जस्तो गहन विधामा कलम चलाउने साहस गरेकामा निमेषलाई बधाई दिइन्। 

प्रमुख अतिथिका रूपमा आमन्त्रित पूर्व स्वास्थ्यमन्त्री थापाले निमेषको लेखनबाट आफू खुसी भएकाे र भोलिका दिनमा अझ परिष्कृत र परिपक्व लेखनको आशा निमेषाबाट गरिएको बताउँदै शुभकामना र बधाई दिए।

उक्त उपन्यास बुलबुल पब्लिकेशनले बजारमा ल्याएको हो। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.