|

काठमाडौं: युवागजलकार गणेश घिमिरेको गजलसंग्रह 'यादहरूको पहाड'माथि शनिबार काठमाडौंमा अन्तर्क्रिया सम्पन्न भयो।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरको आयोजनामा भएको उक्त कार्यक्रममा पुस्तकमाथि बोल्दै युवासमालोचक शैलेन्द्र अधिकारीले नेपाली गजल साहित्यमा परिष्कृत र स्तरीय गजलहरू आउन थालेका बताउँदै गणेशले देशबाहिर रहेर देखे, भोगेका कुरालाई सुन्दर ढंगले कलात्मक रूपमा गजलका शेरमा उनेको धारणा राखे। अधिकारीले गणेशका गजल पढेपछि अबका दिनमा नेपाली गजलको भविष्य थप उज्ज्वल हुने आशा जागेको उल्लेख गरे।

गजलकार ललिजन रावलले नेपाली साहित्यको विकास र विस्तारमा प्रवासमा रहेका स्रष्टाको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै गणेश घिमिरेको लेखनको उज्ज्वल यात्राको कामना गरे।

समालोचक डा. देवी नेपालले अब नेपाली गजलको उचाइ बढ्न थालेको भन्दै स्तरीय र गुणात्मक गजल लेख्नेको संख्या पनि बढ्दै जानु खुसीको कुरा भएको बताए। डा. नेपालले नेपाली गजलको विश्वव्यापीकरणबाट आफू निकै उत्साहित र सन्तुष्ट रहेको धारणा राख्दै गणेशको गजल लेखनले थप उचाइ लेअोस् भन्ने शुभकामना व्यक्त गरे।

प्रमुख अतिथिका रूपमा उपस्थित नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले गणेश घिमिरेको लेखन र साहित्यिक अभियानबाट आफू दुई वर्षअघिदेखि परिचित रहेको उल्लेख गर्दै नेपाली साहित्यको श्रीवृद्धिका लागि प्रवासमा रहेर खटिइरहेकामा धन्यवाद दिए। 

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका वरिष्ठ उपाध्यक्ष तथा नेपाल चयाप्टर अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा सम्पन्न कार्यक्रममा पाँच दर्जन विशिष्ट स्रष्टाको उपस्थिति थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.