|

नेपाल र नेपालीहरूमा इतिहासमै प्रथम पटक संगठित रूपमा देखापरेको  धाार्मिक, सामाजिक तथा राजनीतिक आन्दोलनको उठान चन्द्रशमशेरको शासनकालको अर्को महत्त्वपूर्ण घटना हो। 

यस क्रममा एकातिर जड हिन्दूवादी परम्परा, संस्कार, अन्धविश्वास, कुरीति आदिविरुद्ध धार्मिक सुधार आन्दोलनको  सूत्रपात भएको थियो भने अर्कोतिर बेलायती साम्राज्यवादबाट निर्देशित राणाहरूको निरंकुश पारिवारिक शासनविरुद्ध पनि विद्रोहका स्वरहरू उर्लिन थालेका थिए। धार्मिक–सामाजिक सुधार आन्दोलन भारतमा जारी राजा राममोहन राय, दयानन्द सरस्वती आदिको अगुवाइमा जारी आन्दोलनको प्रेरणाबाट अघि बढेको थियो। 

यसैगरी भारतमा अंग्रेजविरुद्ध जारी राजनीतिक आन्दोलनको नेपालका राष्ट्रवादीहरूमा प्रभाव परेको थियो। विश्व बीसौँ शताब्दीमा प्रवेश गरेसँगै सामाजिक, आर्थिक, राजनीतिक तथा विज्ञानको क्षेत्रमा भइरहेका युगान्तकारी परिवर्तनबाट राणाहरूले नेपाललाई जति नै कटाउन खोजे पनि समयको प्रवाहलाई उनीहरूले उल्ट्याउन सक्दैनथे। 

उन्नाइसौँ शताब्दीको अन्त्य र बीसौँ शताब्दीको आरम्भमा विश्व भीषण उथलपुथलको चरणबाट गुज्रिरहेको थियो। विज्ञान र प्रविधिको विकासबाट कृषि र औद्योगिक उत्पादनमा मानव समाज धेरै माथि पुगिसकेको थियो। यातायातको क्षेत्रमा विशाल मात्रामा  मोटरहरूको उत्पादन, छिटोछरितो रेल यात्रा, तीब्र गतिमा समुद्रमा चल्ने जहाजहरू र सन् १९०३ मा  हवाईजहाजको आविष्कारले संसारलाई साँघुरो बनाइदिएको थियो।

टेलिफोन र टेलिग्राफले सूचना प्रवाहलाई सार्वभौम बनाइदिएको थियो। विज्ञानका विभिन्न शाखाहरूमा आश्चर्यजनक विकास भएको थियो। विज्ञानका यिनै चमत्कारहरूको जगमा टेकेर मानव समाज बीसौँ शताब्दीमा विश्वासका साथ प्रवेश गरेको थियो।

विज्ञान र प्रविधिको विकासले उत्पादनको प्रक्रियालाई तीब्र मात्र बनाएका थिएनन्, सामाजिक, राजनीतिक तथा सांस्कृतिक पक्षहरूमा समेत गहिरो प्रभाव पारेका थिए। विज्ञान र प्रविधिको विकासको अर्थ थियो, उत्पादनका साधनहरूको विकास, जसले उत्पादको मात्रा र गुणस्तरको विकासमा निर्णायक भूमिका खेलेको थियो। यो सबैको परिणामले उत्पादक शक्तिहरूलाई पनि अभूतपूर्व रूपमा विकसित तुल्याएको थियो। 

विकसित उत्पादक शक्तिले सामाजिक  उत्पादन सम्बन्धमा ठूलो हेरफेर ल्याइदिएको थियो। युरोपमा त यस्तो प्रक्रिया धेरै पहिलेदेखि नै आरम्भ भइसकेको थियो।  विश्वका  अन्य भूभागहरूमा समेत सामन्ती भूस्वामित्वमा आधारित अर्थतन्त्र कैयौँ ठाउँहरूमा ध्वस्त हुने प्रक्रियामा थियो अथवा ध्वस्त भएर ती ठाउँहरूमा औद्योगिक  पूँजीवादको स्थापना भइसकेको थियो। 

सामन्ती मूल्य मान्यता, परम्परा, संस्था र सत्ताका ठाउँमा पूँजीवादी मूल्य र सत्ताहरू क्रमशः सुदृढ हँुदै गइरहेका थिए। सामन्ती निरंकुशताका ठाउँमा पूँजीवादी लोकतन्त्र, कुलीनतन्त्रका स्थानमा सीमितै रूपमा भए पनि जनमतबाट गठित संसदीय प्रणाली आदि जस्ता संस्थाहरू जन्मिने वा संस्थागत हुने प्रक्रियामा थिए। 

अर्कोतिर विज्ञान र प्रविधिको विकास र त्योसँगै आएको पूँजीवादले संसारभर युद्ध, रक्तपात, महामारी, गरिबी र भोकमरी लादेको थियो। सन् १९१४ मा प्रमुख युरोपेली साम्राज्यवादी शक्तिहरूले संसारभर विभिन्न उत्पीडित राष्ट्रहरूमा फैलिएको विश्व बजारको नयाँ शिराबाट विभाजन र पुनर्विभाजन गरेर त्यसको धेरैभन्दा धेरै हिस्सा हडप्ने उद्देश्यका साथ विश्वयुद्ध छेडेका थिए। यो युद्ध विश्वका श्रमजीवी मजदुर, किसान र उत्पीडित देशहरूमाथि लादिएको युद्ध थियो।

(पन्तको हालै प्रकाशित पुस्तक 'आधुनिक नेपालको इतिहास महत्त्वपूर्ण समीक्षा'नामक पुस्तकबाट)

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.