|

लहानः सिरहाको कर्जन्हा नगरपालिका– २ बन्दीपुरमा अनैतिक सम्बन्धको प्रत्यक्षदर्शी रहेका भाइलाई केटा साथीसँग मिलेर हत्या गरेको खुलेपछि पक्राउ परेकी युवतीले प्रहरी हिरासतभित्रै आत्महत्या गरेकी छन्। 

सिरहाको कर्जन्हा नगरपालिका– २ बन्दीपुरकी १६ वर्षकी प्रियंका यादवले इलाका प्रहरी कार्यालय विष्णुपुरको प्रहरी हिरासतभित्र रहेको शौचालयमा आइतबार अपराह्न सलको पासो लगाएर आत्महत्या गरेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजन भेटवालले जानकारी दिए। 

प्रवक्ता भेटवालका अनुसार शव झुण्डिएको अवस्थामा नै आइतबार साँझ माइती पक्षलाई बोलाई घटनास्थल प्रकृति मुचुल्का उठाएर पोष्टमार्टमका लागि सिरहा जिल्ला अस्पताल लैजाने तयारी गरिएको छ। 

भाइको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेकी यादव र उनका केटा साथी सञ्जयकुमार साहलाई इलाका प्रहरी कार्यालय मिर्चैयामा आइतबार बिहान पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरिएपछि मिर्चैयामा महिला थुनुवा राख्ने ठाउँ नभएकाले प्रियंकालाई विष्णुपुर लगिएको थियो। 

‘हिरासतमा पुर्‍याएको केही समयपछि नुहाउन जान्छु भन्दै शौचालय छिरेकी प्रियंका ननिस्किएपछि महिला प्रहरीले ढोका खोलेर हेर्दा झुण्डिएको अवस्थामा भेटियो’, प्रवक्ता भेटवालले भने। 

हत्याले निम्त्यायो आत्महत्या

घाँटी रेटेर हत्या भएको अवस्थामा शव भेटिएपछि नेपाल प्रहरी २ नं. प्रदेश कार्यालय, जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय मिर्चैयाको टोली अनुसन्धानमा खटिएको थियो। अनुसन्धानको क्रममा मृतककी ठूलोबुबाकी छोरी प्रियंका र धनुषाको धनौजीपट्टि घर भई कर्जन्हा– २ स्थित मामाको घरमा बसेर पढिरहेका सञ्जयको अनैतिक सम्बन्ध रहेको प्रारम्भिक सूचना पाएपछि प्रहरीले हप्ता दिनभित्रै दुवैलाई पक्राउ गरेको हो। छिमेकी युवकसँगको अनैतिक सम्बन्धकै कारणले भाइको हत्या गरेको खुलेपछि हीनताबोध गर्दै उनले आत्महत्या गरेको हुन सक्ने आशंका गरिएको छ। 

आफ्नै काकाका छोरा १३ वर्षका भवेशकुमार यादवले कार्तिक १ गते सञ्जयसँगको शारीरिक सम्बन्ध देखेपछि दुवैले हत्या गर्ने योजना बनाई पर्सिपल्ट कार्तिक ३ गते धारिलो खुकुरी प्रहार गरी हत्या गरेका थिए। आफूहरूको शारीरिक सम्बन्धको कुरा कसैलाई पनि नभन्ने सर्तमा फकाएर हत्या गर्ने उद्देश्यले ‘नर्सरीमा मोबाइल र पटाका लुकाएर राखेका छौँ, लिन जाऔँ’ भन्दै वनमारा घारीमा धारिलो खुकुरी प्रहार गरी उनको हत्या गरिएको प्रहरीले जनाएको छ। हत्यामा संलग्न रहेकी प्रियंका बन्दीपुरस्थित नेपाल राष्ट्रिय फूलकुमारी माविमा कक्षा ८ मा पढ्दै थिइन्। 

बन्दीपुरस्थित अक्सफोर्ड बोर्डिङ स्कुलमा कक्षा ४ मा अध्ययनरत भवेश कार्तिक ३ गते बेपत्ता भएपछि खोजतलाश गर्ने क्रममा दुई दिनपछि कार्तिक ५ गते अपराह्न ४ बजे शव भेटिएको प्रहरीले जानकारी दिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.