|

धनकुटा : प्रदेशसभा र संघीय संसद चुनावको मिति नजिकिँदै गर्दा 'प्रादेशिक राजधानी'को विषयले चर्चा पाइरहेको छ। प्रदेश नम्बर १ को राजधानीको लागि धनकुटा, इटहरी र विराटनगर गरी तीन स्थानलाई सम्भावित राजधानीका रूपमा हेरिएको छ। तीनमध्ये कुन ठाउँ उपयुक्त होला भनेर विभिन्न चर्चा परिचर्चा भइरहेका छन्। 

यस्तो अवस्थामा प्रदेश नं. १ को राजधानी विवादरहित ढंगले कुन ठाउँलाई निर्धारण गर्ने भनेर सरकारलाई त्यति सहज अवस्था भने पक्कै छैन। तर, प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिंदै गर्दा गठबन्धनका नेतृत्व दलहरु प्रदेशको राजधानी धनकुटालाई आफूले मात्रै बनाउन सक्ने भन्दै एकअर्काविरुद्ध विषवमन गर्दै मतदाता आफ्नो पक्षमा पार्न लागिपरेका छन्। अरुका कमीकमजोरी खोजी खोजी दलका नेताहरू एकले अर्काविरुद्ध सार्वजनिक रूपमा अभिव्यक्ति दिइरहेका छन्।

धनकुटामा लोकतान्त्रिक गठबन्धन प्रतिनिधिसभाका उम्मेदवार राप्रपा प्रजातान्त्रिकका केन्द्रीय सदस्य तथा उद्योगमन्त्री सुनिलबहादुर थापाले शनिबार धनकुटामा आयोजित पत्रकार सम्मेलनमा जिल्लामा वाम गठबन्धनको नेतृत्व गरिरहेको दल एमालेले प्रदेशको राजधानी विराटनगर बनाउने सम्झौतामा हस्ताक्षर गरिसकेको आरोप लगाए। आफ्ना बुबा स्व. सूर्यबहादुर थापाले धनकुटाको विकास गरेको र अब आफूले मात्रै धनकुटालाई प्रादेशिक राजधानी बनाउन सक्ने बताए।

भोलिपल्ट आइतबार एमालेले सदरमुकाममा पत्रकार सम्मेलन गर्दै मन्त्री थापाले भ्रामक अभिव्यक्ति दिएको भन्दै प्रमाण अगाडि ल्याएर मात्रै त्यस्ता अभिव्यक्ति दिन चुनौती दिएको छ। एमाले धनकुटाका कार्यवाहक अध्यक्ष दुर्गा लिंखाले धनकुटाले राजधानीको विषयमा गरिरहेको आन्दोलन सफल नभए अन्य राजनीतिक दललाई आह्वान गरी एमालेले अगुवाइ गरेर सफल पार्ने बताए। 

उनले प्रदेशको राजधानी प्रदेशसभाले तोक्ने भएकाले प्रतिनिधिसभाका उम्मेदवारले राजधानी बनाउँछु भनेर जनतालाई भ्रम छर्दै हिडेकोमा आपत्ति जनाए। यस्तै जिल्ला समन्वय समितिका प्रमुख तथा एमाले धनकुटाका सचिवालय सदस्य टंक चौहानले उद्योगमन्त्रीतर्फ लक्षित गर्दै सरकारका बहालवाला मन्त्रीले सक्ने भए अहिले नै धनकुटालाई प्रादेशिक राजधानी बनाउन चुनौती दिँदै उच्च अदालत विराटनगर लग्दा उनी त्यो बेला पनि सरकारमा रहेकाले धनकुटामा राख्न किन नसकेको भनी प्रश्न गरे। 

प्रदेश नं. १ को राजधानी प्रदेशको केन्द्र धनकुटालाई नै बनाउन  स्थानीय बासिन्दाको माग छ। हरेक हिसावले धनकुटानै राजधानीका लागि उपयुक्त भएपनि त्यसलाई वेवास्ता गर्दै अन्यत्रै राजधानी तोक्ने षड्यन्त्र भइरहेको भन्दै जिल्लाबासीले प्रदर्शन गरिरहेका छन्। धनकुटा पहिलेदेखि नै सदरमुकाम स्थापित भई हालसम्म यसको निरन्तरता पाएको र  संघीय संरचनाअनुसार पनि प्रदेशको राजधानीका धनकुटा हरेक दृष्टिले उपयुक्त रहेको उनीहरूको भनाइ छ।

एक नम्बर प्रदेशका १४ वटै जिल्लाको केन्द्रभागमा रहेको, पर्याप्त भौतिक संरचना, उपयुक्त हावापानी, मजबुत सुरक्षा व्यवस्था भएको लगायत कारणले धनकुटालाई नै प्रादेशिक राजधानी बनाउनुपर्ने जिल्लाबासीको तर्क छ। धनकुटावासीले यसअघि २०६८ सालमा १८ दिनसम्म बजार बन्द गरी प्रादेशिक राजधानीका लागि आन्दोलन गरेका थिए।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.