|

पाल्पा : रैनादेवी छहरा गाउँपालिका– ६ जुठापौवास्थित स्वास्थ्यचौकीका कर्मचारीको लापरवाहीले सेवाग्राही मर्कामा परेका छन्। कर्मचारी लामो समय स्वास्थ्य चौकीमा नआउँदा उनीहरू मर्कामा परेका हुन्। 

एक सातासम्मको हाजिर पहिले नै गरेर कर्मचारीहरू घरमा बस्ने गरेका छन्। रैनादेवी छहरा गाउँपालिकाका स्वास्थ्य प्रमुख जीवन रानाको नेतृत्वमा गएको छड्के अनुगमन टोलीले यो अवस्था फेला पारेको हो। 

उनका अनुसार स्वास्थ्य चौकका प्रमुख आवास कर्णले नै यस्तो गर्ने गरेको पाइएको छ। उनी गत असोज २६ गते पहिले नै एक हप्ताको हाजिरी पुस्तिकामा हाजिर गरी कार्यालयमा उपस्थित नभएको पाइएको प्रमुख रानाले बताए। यस्तै अनमी राधिका भण्डारीले पनि एक साताको हाजिर एकै पटक गर्ने गरेको  पाइएको छ । 

‘यो काम गलत हो’, स्वास्थ्य चौकीका प्रमुख रानाले भने, ‘दुवै जनाको हाजिरमा रातो लगाएको छु। यसलाई बिदामा कटाइदिने छु।’ रैनादेवी छहरा गाउँपालिका अध्यक्ष रामबहादुर कार्कीले कार्यालयका प्रमुख नै पहिले हाजिर गरेर घरमा बसेको पाइएको भन्दै कारबाही गर्ने बताए। ‘हामी अनुगमनमा जाँदा प्रमुख कर्ण र एक अनमीले पहिले नै हाजिर गरेर स्वास्थ्य चौकीमा नआएको पाइयो’, अध्यक्ष कार्कीले भने स्पष्टीकरण लिने र हाजिरी बेतलवी विदामा कटाइदिनेछु।’ 

जिल्लाको सुदूरपश्चिममा रहेका अति विकट मानिने साविक जुठापौवा, बल्ढेङगढी, र सत्यवती गाविसका सयौं मानिस यहाँ औषधी उपचार गर्न आउने गर्छन्। दैनिक ३० देखि ४० जना विरामी स्वास्थ्य परीक्षण गर्न यहाँ आउँछन्। तर यहाँका कर्मचारी आफ्नो कार्यप्रति उदासिन देखिएको र आफूहरु मर्कामा परेको स्थानीय बासिन्दाको गुनासो छ। 

कर्मचारी मनपरी विदामा बस्दा स्वास्थ्य चौकीबाट सञ्चालन हुने गाउँघर क्लिनिक समेत प्रभावकारी बन्न सकेको छैन। प्रायः कर्मचारी घर विदामा बस्छन अनमी मुना गाहाले भनिन्, ‘नियमित रूपमा सञ्चालन गर्ने गाउँघर क्लिनिक सञ्चालन गर्दा कार्यालय नै बन्द गरेर जानुपर्ने बाध्यता छ। त्यसैले यहाँ आएका सेवाग्राही फर्किएर घर जान वा उपचारका लागि सदरमुकाम तानसेन जान बाध्य हुन्छन्।’  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.