|

भक्तपुर : नेपाली कांग्रेसका केन्द्रीय नेता एवं सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले मुलुकमा एक दलीय अधिनायकवाद र लोकतन्त्रवादीहरूबीचको युद्ध सुरु भएको बताएका छन्।

नेपाली कांग्रेस भक्तपुरका पूर्वसभापति एवं प्रजातान्त्रिक योद्धा ९३ वर्षीय रामबहादुर ठकुरीले लेखेको आत्मवृतान्त पुस्तक ‘नलेखिएको इतिहास’को सोमबार विमोचन गर्दै मन्त्री बस्नेतले चुनावमार्फत मुलुकमा लोकतन्त्रवादी र कम्युनिस्ट एक दलीय अधिनायकवादबीच युद्ध सुरु भएको बताएका हुन्।

उनले मुलुकलाई एक दलीय अधिनायकवादबाट जोगाउन लोकतन्त्रवादीहरु एकजुट हुनुको विकल्प नभएको बताए। जनताले पनि आफ्नो अभिव्यक्ति स्वतन्त्रता, मानवअधिकार लगायतको रक्षाको लागि लोकतन्त्रवादीहरुलाई मत दिनुपर्ने समय आएको बताउँदै उनले वाम गठबन्धन मुलुकमा एक दलीय अधिनायकवाद लाद्ने दुस्प्रयास भएको बताए।

कार्यक्रममा पूर्वउद्योग राज्यमन्त्री कञ्चनचन्द्र वादेले संविधान कार्यान्वयनका लागि कांग्रेसको नेतृत्व आवश्यक भएको बताए। संविधानलाई असफल पार्दै मुलुकमा फेरि राजनीतिक तथा संवैधानिक संकट निम्त्याएर मुलुकलाई अस्थिरताको खाडलमा धकेल्ने दुस्प्रयास भइरहेको बताउँदै उनले मुलुकको आर्थिक समृद्धिको लागि आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कांग्रेसलाई जिताउन आग्रह गरे।

नेपाली कांग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले राजनीतिलाई पद र प्रतिष्ठाभन्दा पनि सामाजिक क्रियाकलापका रुपमा लिन नसक्दा अहिलेको विकृति र विसंगति देखापरेको बताए। उनले टिकटको लुँछाचुँडीभन्दा लोकतान्त्रिक पद्धतिको दिगो विकासका लागि युवाहरुले सोच्नुपर्ने बेला आएको बताए।

पुस्तकका लेखक रामबहादुर ठकुरीले प्रजातन्त्रको प्राप्तिपछि मुलुक आत्मनिर्भरताको बाटोमा अग्रसर हुनुपर्नेमा त्यसो हुन नसक्दा मुलुकले अशान्तिको भुमरीमा फस्नुपरेको बताए।

ठकुरीका जेष्ठ सुपुत्र ध्रुवबहादुर ठकुरीको सभापतित्वमा सम्पन्न कार्यक्रममा वरिष्ठ पत्रकार कविर राणा, माथवरसिंह बस्नेत, नेपाली कांग्रेस भक्तपुरका पूर्वसभापति एवं पूर्वसांसद लेखनाथ न्यौपाने, पूर्वजिल्लासभापति तिलकप्रसाद कायस्थ, ठकुरीका सहपाठी एवं कांग्रेसका नेता रामप्रसाद दवाडी, निशान ढुंगेल, सुनिल ठकुरी लगायतका वक्ताहरुले लेखक ठकुरीको राजनीतिक जीवनको चर्चा गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.