|

बैतडी : पहिलो चरणमा १० मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बैतडीमा प्रत्यक्षतर्फ कुनै पार्टीले पनि महिला उम्मेदवार उठाएको छैन। प्रतिनिधिसभाको एउटा र प्रदेशसभाको दुईवटा क्षेत्रमा महिला उम्मेदवार नउठाएपछि जिल्लास्तरीय नेत्रीहरूले असन्तुष्टि पोखेका छन्।

माओवादी पोलिटब्युरो सदस्य रेणु चन्दले दलहरूले महिलाहरूलाई विश्वास नगरेको गुनासो गरिन्। ‘धेरै महिला प्रत्यक्ष चुनाव लड्न इच्छुक देखिनुभयो, तर नेतृत्वले पत्याएन,’ उनले भनिन्।

दलहरूले महिलालाई समानुपातिकको सूचीमा राख्न पनि कन्जुस्याइँ गरेका छन्। माओवादीले वाम गठबन्धनबाट पूर्वसभासद रेणु चन्दलाई समानुपातिक उम्मेदवार बनाएको छ।

एमालेबाट जिल्ला सचिवालय सदस्य सुशीला सिंह चन्दले प्रदेशसभाका लागि प्रत्यक्ष लड्ने दाबी गरे पनि पार्टीले टिकट दिएन। यस्तै, जिल्ला कमिटी सदस्य पदमा खत्रीले प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ आकांक्षा देखाएकी थिइन्। तर, पार्टीले उनलाई पनि पत्याएन।

एमालेबाट समानुपातिकमा जानकी अवस्थी, चन्द्रा लुहार र पार्वती भट्टको नाम जिल्लाबाट सिफारिस भएको थियो। तर, केन्द्रीय समितिले उनीहरुलाई टिकट नदिएको जिल्ला सचिवालय सदस्य सरस्वती नेपालीले बताइन्।

वाम गठबन्धनले गर्दा टिकट व्यवस्थापनमा समस्या भएकाले पनि महिलाले अवसर नपाएको माओवादी पोलिटब्युरो सदस्य रेणु चन्दको भनाइ छ। प्रतिस्पर्धा र चुनावी खर्च गर्न नसक्ने भन्दै महिलालाई पाखा लगाइएको उनको आरोप छ। ‘महिलालाई कमजोर मानसिकताले हेर्ने गरिएका कारण महिलालाई पाखा लगाइयो,’ उनले भनिन्, ‘महिला उम्मेदवारीको अवस्था असाध्यै दुखद र लाजमर्दो हुने खालको छ।’

राप्रपासँग चुनावी तालमेल गरेको कांग्रेसबाट पनि समानुपातिकका लागि ६ महिला नेतृको नाम जिल्लाबाट सिफारिस भएको छ। तर, सूचीमा पर्ने महिलाहरु अटाएनन्। ‘पार्टीले महिलाको विश्वास नगरेर टिकट नदिएको हो,’ कांग्रेस नेत्री देवु ठगुन्नाले भनिन्, ‘पार्टीले महिलाहरूलाई समानुपातिकमा समेत नसमेटेर कमजोर बनाउने काम गरेको छ।’

जिल्लामा साना दलहरूले पनि महिलालाई प्रत्यक्ष उम्मेदवार बनाएका छैनन्। कांग्रेससँग तालमेल गरेको राप्रपाले पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द र मन्त्री जयन्त चन्दलाई समानुपातिक उम्मेदवार बनाएको छ।

प्रत्यक्षतर्फ महिलाहरुको शून्य उम्मेदवार रहेको बैतडीमा दलहरुले समानुपातिकमा पनि महिलाहरुलाई नसमेटेपछि महिला नेतृहरु खिन्न देखिन्छन्। पुरुषभन्दा महिला उम्मेदवार बढी रहेको बैतडीमा महिलाकै उम्मेदवारी नआउँदा महिलाहरुमा पनि निराशा छाएको छ।

पहिलो चरणमा १० मंसिरमा हुने निर्वाचन हुने ७ नम्बर प्रदेशका चारवटा जिल्लाहरु बैतडी, बझाङ, बाजुरा र दार्चुलामा पनि प्रत्यक्षतर्फ महिला उम्मेदवारी शून्य छ। यी चारै जिल्लाहरुमा प्रतिनिधिसभाका लागि १ र प्रदेशसभाका लागि २ निर्वाचन क्षेत्र रहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.