|

  • भोजराज कार्की-

सोलुखुम्बुः सोलुदूधकुण्ड नगरपालिका सोलुखुम्बुका कार्यकारी अधिकृत एकै दिन चार दिनको हाजिर गरेर पुनः मन्त्रालय फकिएका छन्।

स्थानीय विकास मन्त्रालयको गत असोज ६ गते सचिवस्तरको बैठकले उपसचिव राजेश गिरीलाई सोलुदूधकुण्ड नगरपालिकाको कार्यकारी अधिकृतमा काज सरुवा गर्ने निर्णय गरेको थियो। 

सोही निर्णयअनुसार मन्त्रालयको च. नं १२३, असोज ८ गतेको  पत्रको आधारमा गिरी गत कात्तिक ८ गते कार्यालयमा हाजिर हुन आए पनि नगरपालिकाका प्रमुख नाम्गेल जाङ्बु शेर्पाले हाजिर हुन दिएका थिएनन्। नगर प्रमुख शेर्पाले आफूअनुकूलको कार्यकारी अधिकृत नभएको भन्दै हाजिर गर्न नदिएको कार्यकारी अधिकृत गिरीको आरोप छ। 

कार्यकारी अधिकृत आफ्नो कार्यालयमा हाजिर हुन आए पनि कार्यालयमा समेत प्रवेश गर्न दिइएको थिएन। कार्यालयमा केही युवासमेत परिचालन गरी आफूलाई धम्कीपूर्ण भाषामा कार्यालयमा हाजिर नभई फर्कन प्रमुख शेर्पाले दबाब दिएको अधिकृत गिरीको भनाइ छ।

स्थानीय विकास मन्त्रालयको सचिव, मन्त्रीसहितको टेलिफोन वार्तापश्चात् नगरपालिकाका अधिकृत गिरीलाई पुनः मन्त्रालयमा काज बोलाउने टुंगो भएपछि हाजिर गर्न दिइएको छ। प्रमुखको कार्यकक्षमा बसेर कार्यकारी अधिकृतलाई चार दिनको हाजिर एकैछिन गरेर नगरपालिकाको पत्र बुझ्दै मन्त्रालय फर्कन बाध्य बनाइएको छ। 

नगरपालिकामा भेला भएका विभिन्न राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधिसमेतको उपस्थितिमा उनलाई हाजिर गराइएको हो। नगरपालिकामा जारी विवादको विषयमा बुझ्न नगरपालिकाको कार्यालय पुगेका स्थानीयलाई नगर प्रमुख शेर्पाले गाली गरेपछि तनाव उत्पन्न भएको थियो। प्रमुखको प्रस्तुतिप्रति आपत्ति जनाउने स्थानीयलाई शेर्पाले नेमप्लेट उचालेर हान्न खोजेपछि कार्यालयमा झनै तनाव बढेको थियो। 

उत्पन्न तनावलाई प्रहरीले नियन्त्रणमा लिन सफल भएको छ। कार्यालयमा उपस्थित स्थानीयले प्रमुखको कार्यशैलीप्रति आपत्तिसमेत जनाएका छन्। 

नयाँ कार्यकारी हाजिर भएर गएपछि निमित्त कार्याकारी छन् कुर्सीमा
स्थानीय विकास मन्त्रालयबाट काज सरुवाको पत्र आए पनि सोलुदूधकुण्ड नगरपालिकाकी निमित्त कार्यकारी अधिकृत इन्दिरा थापाले कार्यालय छाडेकी छैनन्। अधिकृत थापालाई असोज १ गते नै सरुवा गर्ने निर्णय भए पनि आजसम्म उनलाई भने रमना दिइएको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.