|

गुल्मी : गुल्मीको वीरबासमा माइक्रोबस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ। सोमबार बिहान बुटवलबाट तम्घासका लागि छुटेको बा ४ ख ५५०१ नम्बरको माइक्रोबस गुल्मी दरबार गाउँपालिका ४ मा सडकबाट ५ सय मिटर तल खसेर दुर्घटना हुँदा ९ जनाको मृत्यु र ८ जना घाइते भएका हुन्।

दुर्घटनामा ६ जनाको घटनास्थलमै र १ जनाको उपचारको क्रममा र २ जनाको पाल्पा लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी प्रमुख अनुरागकुमार द्वीवेदीले जानकारी दिए। दुर्घटनामा ३ जना महिला ६ जना पुरुषको मृत्यु भएको छ। मृत्यु हुनेमध्ये रेसुङ्गा नगरपालिका ८ मकी सुमित्रा दर्लामी, अर्घाखाँची भगवतीका विष्णु पाण्डेय, चालक भीम घर्ती र गुल्मी अर्जेका लालबहादुर मुखियाको सनाखत भएको छ।

गाडीका चालकको पनि पाल्पा लैजाने क्रममा मृत्यु भएको हो। शवहरु जिल्ला अस्पताल गुल्मीमा राखिएको गुल्मीका प्रमुख जिल्ला अधिकारी गोपाल अर्यालले जानकारी दिए। घाइते हुनेहरुमा १ जना महिला ५ जना पुरुष र २ जना बालक रहेको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये रुरु गाउँपालिका १ का माधव पोखरेल, मुसीकोट १ का प्रकाश केसी, मालारानी अर्घाखाँचीका बिन्दु भुसाल, दरवार देवीस्थान ४ का गोकुल कार्की, रेसुंगा ८ की सविना दर्लामी, घमिरका एलिसा घिमिरे र अन्य दुई जनाको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचार भइरहेको छ।

गाडीमा सवार चालक सहित १७ जना रहेका थिए। घाइतेहरुको प्रहरी, सशस्त्र प्रहरी र स्थानीय वासिन्दाले उद्दार गरेका थिए। तिब्र गतिमा रहेको माइक्रोबसले जिपलाई साइड दिने क्रममा दुर्घटनामा परेको घटनास्थल पुगेका सशस्त्र बल गुल्मका गुल्मपती प्रेमप्रकाश सिग्देलले जानकारी दिए। उनका अनुसार साइड दिने जिप सडकको नालीमा खसेको छ। दुर्घटनास्थल ठूलो भिर र साँघुरो बाटोमा पर्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.