|

रूपन्देहीः नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पाँच वर्षभित्रमा भारतकै सरह प्रतिव्यक्ति आय पुर्‍याउने दाबी गरेका छन्। 

आगामी निर्वाचनबाट बन्ने सरकारले पाँच वर्षभित्र नेपालीको प्रतिव्यक्ति आम्दानी भारतकै सरह पुर्‍याउने र १५ वर्षभित्रमा नेपाललाई चीनजत्तिकै समृद्ध बनाउने गौतमले बताए। 

रूपन्देहीको मर्चवार क्षेत्रको कोटहीमाईमा आयोजित आमसभा तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले मर्चवार क्षेत्रमा समृद्धिको लहर आउने बताए। 

तराईमा एमालेप्रतिको भ्रम हटाउनका लागि आफूहरू सफल भएको भन्दै उनले एमालेले उम्मेदवारी दिएका सबै स्थानमा जीत हात पार्ने दाबीसमेत गरे। ‘हाम्रा बारेमा जे भ्रम फिँजाइएको थियो, सबै हटिसकेको छ, अब हामीले मधेसलाई समृद्ध पार्छौं’, उनले भने। 

उनले मर्चवार क्षेत्रमा आफूले सक्रिय राजनीति गरेको सम्झिँदै भने, ‘मैले राजनीति गर्दा जस्तो थियो, उस्तैउस्तै छ यहाँको अवस्था, यहाँबाट जित्नेहरूले केही परिवर्तन गर्न सकेको देखिएन।’ उनले अब आफूहरू आएको र यहाँको अवस्था परिवर्तन गरेर देखाउने पनि बताए।

उनले मर्चवारवासीलाई चुनावी एजेन्डासमेत सुनाए। ‘मर्चवार–बेतकुइयामा उच्चस्तरीय कलेज निर्माण गर्ने, महिलाका लागि छुट्टै कलेज निर्माण गर्ने, वनगाईदेखि तैरेनी नाकासम्म छ लेन सडक निर्माण गर्ने, कोटहीमाई गाउँपालिकामा एक सय शैयाको अस्पताल बनाउने जस्ता काम गरेर देखाउने आश्वासन पनि दिए गौतमले। उनले भोजपुरी भाषामा भाषण गरेका थिए। 

गौतमले मर्चवारको तैरेनी नाका खुलाउनका लागि भारत सरकारसँग छलफल गर्ने र एमालेको नेतृत्वमा सरकार बनेको छ महिनाभित्र नाका खोलाउने दाबी गरे।
गौतमले एमालेको नेतृत्वमा सरकार बनेको दुई वर्षमा रोजगार नभएको प्रत्येक परिवारको एक सदस्यलाई र एक महिलालाई अनिवार्य रोजगारी दिलाउने आश्वासन पनि दिए। 

एमाले उपमहासचिव विष्णु पौडेलले मर्चवार जस्ता धेरै क्षेत्रको विकास हुन नसकेको औल्याउँदै एमालेले अब विकासको लहर ल्याउने बताए। 

कार्यक्रममा उपाध्यक्ष गौतमले राष्ट्रिय जनता पार्टीका राष्ट्रिय उपाध्यक्ष ओमप्रकाश यादव गुल्जारी, समरीमाई गाउँपालिकाका अध्यक्ष जितेन्द्र शुक्ला बब्लु, नेतृ पल्लवी शुक्ला, पूर्व प्रमुख जिल्ला अधिकारी अब्दुल कलाम खाँलगायतलाई पार्टी प्रवेश गराएका थिए। 

कार्यक्रममा एमाले पार्टी अध्यक्ष केपी ओली आउने तय भए पनि अस्वस्थताका कारण नआएको एमाले रूपन्देही उपाध्यक्ष पुरुषोत्तम घिमिरेले बताए। 

पार्टी प्रवेशसँगै टिकट
राजपाबाट एमाले प्रवेश गरेका राजपा उपाध्यक्ष गुल्जारीलाई रूपन्देही– ४ बाट प्रतिनिधिसभामा टिकट दिने एमालेले आश्वासन दिएको छ। उम्मेदवारी दर्ता गर्नु दुई दिनअघि मात्रै पार्टी प्रवेश गरेका उनलाई टिकट दिने आश्वासन दिएरै पार्टी प्रवेश गराइएको हो। 

यस्तै नेतृ पल्लवी शुक्लालाई पनि रूपन्देही– ४ बाट प्रदेशसभाका लागि टिकट दिने नेताहरूले बताएका छन्। उनलाई प्रत्यक्षतर्फबाटै उम्मेदवारी दिने तयारी भएको बताइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.