|

बाँकेः आफ्नै साथीको हत्या गरेको अभियोगमा बाँके प्रहरीले डेढ महिनापछि एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेले राप्ती–सोनारी गाउँपालिका– १, कुसुममा हत्या गरी फरार दुई अभियुक्तलाई पक्राउ गरेको हो।

गत भदौ ३१ गते रुकुम भुमे गाउँपालिका– ३ का शन्तकुमार पुनको हत्या गरी फरार रहेको अभियोगमा भुमे गाउँपालिका– ८ का रणबहादुर रोकालाई दाङबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। रोकाले पुनको चिर्पट प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ।

लामो अनुसन्धानपछि अभियुक्तलाई पक्राउ गर्न सकिएको बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सुधीरराज शाहीले बताए। आपसी विवादले चरम रूप लिएपछि रोकाले पछाडिबाट पुनको टाउकोमा चिर्पट प्रहार गरी हत्या गरेको अनुसन्धानबाट खुल्न आएको शाहीले बताए। 

मृतक पुनको मोटरसाइकल घटनास्थलभन्दा केही पर मकैको डाँठले ढाकेर राखेको अवस्थामा फेलापरेको थियो। सोही मोटरसाइकलको आधारमा मृतकको पहिचान गरी घटनामा संलग्न अभियुक्तलाई पक्राउ गर्न सकिएको शाहीले बताए। थुप्रै व्यक्तिलाई पक्राउ गरी अनुसन्धान गरिएको बताउँदै उनले अन्तिममा रोका संलग्न भएको पुष्टि भएको बताए। 

यसैबीच, लागूऔषध नियन्त्रण ब्यूरो नेपालगन्जको सहयोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। भारतको रूपइडिहाबाट नेपालगन्जतर्फ आउँदै गरेका भारत बहराइचका सोनु राईलाई ३० ग्राम ७५० मिलिग्राम ब्राउन सुगरसहित फक्राउ गरिएको प्रहरीले जनाएको छ।

सोनुले भारतबाट दाङसम्म लगेर लागूऔषध बिक्री वितरण गर्दै आएको अनुसन्धानबाट खुलेको शाहीले पत्रकार सम्मेलनमा बताए। उनले दाङमा लागूऔषधको कारोबार गर्ने घोराही उपमहानगरपालिका– ५ का ३१ वर्षका प्रमोद पछाई पनि पक्राउ परेको जानकारी दिए। प्रहरीले पक्राउ परेका सबैलाई पत्रकार सम्मेलन गरी सोमबार सार्वजनिक गरेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.