सैनिक जवानसहित ७ को सनाखत

|

उदयपुर : उदयपुरको पश्चिमी क्षेत्र कटारी नगरपालिका ११ लेखानी ठाडींमा सोमबार दिउँसो भएको जिप दुर्घटनामा मृत्यु भएका ९ जनामध्ये एक जना नेपाली सेनाको जवानसमेत ७ जनाको सनाखत भएको छ।

कटारीबाट ओखलढुंगातर्फ जाँदै गरेको जिप ना १ ज ३४०४ नम्बरको सोमबार दिउँसो साढे १ बजे सिद्धिचरण लोकमार्ग अन्तर्गत कटारी घुर्मी सडक खण्डमा सडकबाट खस्दा ९ जनाको मृत्यु भएको थियो। दुर्घटनामा ८ जना यात्रुको घटनास्थलमा नै र चालक कटारी नगरपालिका २ का २८ बर्षीय हरि कार्कीको उपचारका क्रममा कटारी अस्पतालमा मृत्यु भएको हो।

मृत्यु हुनेमा नेपाली सेनाको अमरदल गण सोलुखुम्बुमा सिपाही पदमा कार्यरत सप्तरी वैखा ६ का रुपेन्द्र वुर्जा, उदयपुरको रामपुरठोक्सिलाका सन्देश किराँती, ओखलढुंगां शेर्मा ३ का ईश्वरप्रसाद भट्टराई, सप्तरी कविलासका ३ का गंगाराम साह, सप्तरी वयरगाडा ४ का राधेश्याम महत्तो, ठेगाना नखुलेका सविता राई रहेका छन् । अन्य दुई जनाको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एसपी नवराज भट्टले जानकारी दिए।

मृतकको उमेर र केहीको जिल्ला खुले पनि अन्य ठेगाना खुल्न नसकेको प्रहरीको भनाइ छ। दुर्घटनामा गम्भीर घाइते भएकी केसुंगा ७ ओखलढुगांकी अन्जना राईको कटारी अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि विराटनगर रेफर गरिएको प्रहरीले जनाएको छ। चालकसहित ११ जना सवार उक्त जिपमा तीन बर्षीय एक बालकलाई स्थानीयले सकुशल उद्धार गरेको स्थानीयबासी तथा हिमाली यातायात व्यवसायी संघका उपमहासचिव शत्रुधन कार्कीले जानकारी दिए।

जिप सडकबाट करिव ५ सय मिटर भिरमा खसेको छ। भिरमा रहेको शवलाई प्रहरीले ३ घण्टा लगाएर सडकमा निकालेको एसपी भट्टले जानकारी दिए। उनले भने, ‘भिरमा अड्किएको शवलाई एकले अर्कोलाई तान्दै, सानातिना बोटविरुवालाई समातेर कष्टकासाथ निकालियो।’

उकालोमा तान्न नसकी पछाडि जिप ब्याक हुँदा खसेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। दुर्घटनास्थल कटारी बजारबाट ३५ किलोमिटर उत्तरी भेगको कच्ची सडकमा पर्छ। दुर्घटनास्थलमा इलाका प्रहरी कार्यालय कटारीका डिएसपी महेन्द्रकुमार श्रेष्ठको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको एसपी भट्टले जानकारी दिए।

यात्राको हिसाबले उदयपुरको सबैभन्दा असुरक्षित सडक सोही सडकलाई मानिन्छ। उक्त सडकमा बर्षेनी सवारी दुर्घटना हुँदा एक दर्जन बढीको मृत्यु हुने गरेको संघका उपमहासचिव कार्कीको भनाइ छ। कच्ची सडक त्यसमा पनि क्षमताभन्दा बढी यात्रु सवारत, चालकले लापरवाही ढंगले ओभर स्पिड चलाउने र सडकको अवस्था पनि नाजुक भएका कारण बर्षेनी दुर्घटना हुने गरेको स्थानीयको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.