|
नेपालगञ्ज भन्सारमा प्रहरीले बरामद गरेको ट्रक।

बाँके : नेपालगञ्ज भन्सार कार्यालयका कर्मचारीको मिलोमतोमा भारतबाट अवैध रुपमा सामान वारपार हुने गरेको विभिन्न घटनाले खुलासा गरेको छ। संघीय प्रहरी एकाइ कार्यालय नेपालगञ्जले शनिबार राति उपकरणसहित ट्रक नियन्त्रणमा लिएपछि  नेपालगञ्ज भन्सारका कर्मचारी र व्यापारी मिलेर करोडौँका सामान भारतबाट नेपाल भित्र्याउने गरेको खुलासा भएको हो।

एकथरि व्यापारीले भन्सारका कर्मचारीसँग मिलेर भन्सार छलेर सामान नेपालगञ्ज भित्र्याउछन्। भने, अर्काेथरि व्यापारीले एउटा सामान भनेर अर्को सामान नेपाल भित्र्याउने गरेका छन्। केही दिनअघि नेपालगञ्ज धम्बोझी खजुरा रोडमा मासु व्यवसाय सञ्चालन गर्दै आएका दिलीप सोनखरले आलु र केराउ

(मटर) भनेर ट्रकमा ल्याउँदै गरेको ट्रकबाट १० हजार किलो कुखुरा, १ हजार २ सय किलो बंगुर र माछाको मासु बरामद गरेपछि व्यापारीले एउटा सामान देखाएर अर्को सामान ल्याउने गरेको खुलासा भएको छ। सोनखरले ट्रकको पछाडि र वरिपरि आलु, मटर, आलुको चप राखेर भित्रि भागमा कुखुरा, बंगुर र माछाको मासु राखेको फेला परेको थियो।  

करिब ६–७ महिनाअघि पनि नेपालगञ्जका एक व्यापारीले कनिका भनेर चामल ल्याएको फेला परेको थियो। भन्सारबाट करिब एक किलोमिटर उत्तरतर्फ आइसकेको उक्त ट्रक दुर्घटना भएपछि मात्र कनिका भनेर भन्सार गरिएको ट्रकमा चामल भएको पुष्टि भएको थियो।

सूचनाको आधारमा अवैध रुपमा नेपाल भित्र्याउँदै गरेको सामान प्रहरीले बरामद गरे पनि भन्सारका कर्मचारीसँग मिलेर व्यापारीले सामान वारपार गराउँछन् भन्ने प्रमाणित भएको छ।

३० लाखको उपकरण बरामद

भन्सार छलेर भित्र्याइएको ३० लाख रुपैयाँको उपकरण प्रहरीले बरामद गरेको छ। संघीय प्रहरी एकाइ कार्यालय नेपालगञ्जबाट खटिएको प्रहरीे टोलीले विद्युतीय मेसिन, पार्टससहित भारतीय युपी३५टी७३०७ नम्बर प्लेटको ट्रकसमेत नियन्त्रणमा लिएको छ।

चेन्सामेसिन, हाइड्रोलिक मेसिन, हेन्ड ग्रेटेलर, लेथमेसिन, हाइड्रोलिक कटर, वेल्डिङ मेसिन र डिसियमलगायत विद्युतीय सामग्री बरामद गरेको संघीय प्रहरी एकाइ कार्यालय नेपालगञ्जका वरिष्ठ प्रहरी उपरीक्षक महेशविक्रम शाहले बताए। ट्रक चालक भारतको उन्नाउ ग्रामथाना सफिपुर निवासी २४ वर्षीय वीरेन्द्रकुमार पाल र २८ वर्षीय सहचालक नरेन्द्रलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको शाहले बताए। 

भन्सार गेट कसरी पास भएको थियो ट्रक?

विद्युतीय उपकरणले भरिएको भारतीय नम्बर प्लेटको युपी ३५टी७३०७ नं. को ट्रकलाई जमुनहामा बसेका नेपालगञ्ज भन्सार कार्यालयका कर्मचारी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले दर्ता गरेर भन्सारका लागि पठाएको थियो।

उक्त ट्रक लाइनमा भएका ट्रकलाई छिचोल्दै भन्सार कार्यालयको गेटमा आयो तर, भन्सार गेटमा रहेका सशस्त्र प्रहरी, नेपाल प्रहरी र भन्सार कार्यालयका कर्मचारीले उक्त ट्रकलाई चेकजाँच नगरी सरासर नेपालगञ्जतर्फ आउन दिए।

भारतबाट आउने अन्य ट्रकलाई भन्सार टर्मिनलमा पठाउने भन्सार कर्मचारीले सरासर नेपालगञ्जतर्फ आउन दिनुले उक्त घटनामा भन्सार कर्मचारीको मिलोमतो छ भन्ने देखिएको संघीय प्रहरी एकाइ कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक शाहले बताए। ‘विद्युतीय उपकरण बोकेको ट्रक भन्सार ब्यारियल पार गरेर कसरी नेपालगञ्जतर्फ आउन सक्यो,’ उनले भने, ‘यो रहस्यको विषय बनेको छ।’

प्रहरीले कसरी लियो नियन्त्रणमा?

नेपालगञ्ज भन्सारमा राजस्व नतिरेर नेपालगञ्जतर्फ आउँदै गरेको ट्रकलाई संघीय एकाइ प्रहरी कार्यालयबाट खटिएको टोलीले ट्राफिक चोक आसपासबाट नियन्त्रणमा लिएको थियो। उक्त टोलीले ट्रक चालकसँग भन्सार तिरेको रसिद, भन्सारले गेटबाहिर जान दिने गेट पास (अनुमति पत्र) र भारतबाट

सामान किनेको बिल मागेका थिए। चालकले भारतबाट सामान किनेको बिल प्रहरीलाई देखाउन सके पनि भन्सार तिरेको रसिद र गेटपास दिन नसकेपछि नियन्त्रणमा लिएको एसएसपी शाहले बताए।

भन्सार नतिरेर मेसिनरी सामान बोकेको ट्रक आउँदै छ भन्ने सूचनाको आधारमा खटिएको प्रहरी टोलीले नेपालगञ्ज पुग्न नपाउँदै नियन्त्रणमा लिएर चेकजाँच गर्दा मेसिनरी सामान फेला परेको थियो। ‘समयमा सूचना नपाएको भए भन्सार छली गरेर नेपालगञ्ज आउँदै गरेको ट्रक समात्न सकिने थिएन,’ एसएसपी शाहले भने।

विदेशबाट आएको समान कसरी हुन्छ भन्सारमा जाँच?

नेपालगञ्ज भन्सार कार्यालयले आयातकर्ताले भनेको आधारमा भन्सार शुल्क लिँदै आएको छ। भारतलगायत तेस्रो मुलुकबाट आएको समान खरिद गरेको बिल, भरपाई र आयातकर्ताले भनेको आधारमा भन्सार शुल्क लिँदै आएको नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत जनार्दन आचार्यले बताए।

उनले ट्रकमा भएका सबै सामान एक–एक गरेर हेर्न नसकिने भएकोले आयातकर्ताले भनेको आधारमा भन्सार शुल्क लिने गरेको बताए।

धेरैजसो व्यापारीले अवैधानिक काम नगरेको बताउँदै उनले कोही–कोही व्यापारीले यस्तो गरेको हुन सक्ने जिकिर गरे। ‘आयातकर्ताले भनेको आधारमा केही सामान स्याम्पलको रुपमा हेरेर भन्सार गरिन्छ,’ उनले भने, ‘उपकरणविना सबै सामान चेकजाँच गर्न सक्ने सम्भवै हुँदैन।’ 

एक्सरे मेसिन ३ महिनादेखि अलपत्र

यात्रुको झोलालगायत अन्य सामग्री जाँचका लागि खरिद गरिएको उपकरण प्रयोगविहीन भएको छ। नेपालगञ्ज भन्सार कार्यालयले अवैध सामान नियन्त्रणका लागि गत असारमा खरिद गरेको प्री–बि बोर्ड प्यासेन्जर स्क्यानिङ एक्सरे मेसिन सञ्चालनमा नल्याएपछि प्रयोगविहीन भएको हो।

मेसिन खरिद भए पनि राख्ने ठाउँ नभएकोले सञ्चालनमा ल्याउन नसकेको नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत आचार्यले स्पष्ट पारे। उनले एक्सरे मेसिन राख्ने भवन निर्माणको क्रममा रहेको बताए। ‘आगामी पौष मसान्तभित्र सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ,’ उनले भने।

उनले उक्त एक्सरे मेसिन जडान भएपछि अवैध रुपमा ल्याउने सामानका साथै साना हातहतियार र विष्फोटक पदार्थ भित्रिन नपाउने बताए। उनले उपकरणले यात्रु र भन्सारका कर्मचारीलाई समेत सहज हुने जिकिर गरे। ‘साना–साना झोला देखाउन झन्झट मान्ने यात्रुलाई सहज हुनेछ,’ आचार्यले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.