|

काठमाडौं : प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा कम्युनिष्टहरुले जितेमा नेपाली जनताको रुने अधिकार समेत खोसिने टिप्पणी गरेका छन्। 

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मंगलबार पार्टीको घोषणापत्र सार्वजनिक गर्दै सभापति देउवाले भने ‘हामीले ल्याएको प्रजातन्त्रको कारण आज मुर्दाबाद भन्न पाउने अधिकार पाइएको छ, भोलि कम्युनिष्टले जिते भने रुन पनि पाइन्न।’

बामपन्थी गठबन्धन गरेका एमाले र माओवादीको नाम उच्चारण नै नगरी उनले कम्युनिष्ट पार्टीहरु मिलेर साम्यवाद ल्याएमा हालसम्म भएका सबै राजनीतिक परिवर्तन र उपलब्धी समाप्त हुने दावी गरे। ‘हामीले ल्याएको प्रजातन्त्रले दिएको अधिकारलाई नै उपयोग गरेर उनीहरुले बीपी र सुवर्णविरुद्ध मुर्दावाद भनेका थिए’ देउवाले भने।

प्रजातन्त्रविरुद्ध कम्युनिष्ट पार्टीहरु एक भइरहेको भन्दै देउवाले कम्युनिष्ट अधिनायवकवाद मुलुकमा आउने खतरा रहेकोले सचेत हुन आव्हान गरे। ‘कम्युनिष्टहरु एक भएर अधिनायकवादी शासन लाद्न खोज्दैछन्, यस्तो भएमा वाक स्वतन्त्रता, प्रेस स्वतन्त्रता केही पनि रहन्न’ उनले भने ‘यो मुलुकमा डर, त्रास र भयको साम्राज्य हुन्छ।’

प्रजातन्त्र बचाउन र मानवअधिकारको रक्षा गर्न कांग्रेसबाट मात्र सम्भव भएकोले कांग्रेसलाई नै जिताउन देउवाले आह्वान गरे। उनले भने ‘हरेक नागरिकलाई देशको मालिक कांग्रेसले मात्र बनाउन सक्छ।’

हिमाल पहाड तराईलाई जोड्ने, आत्मसम्मानका साथ बाँच्न पाउने अधिकारको रक्षा गर्ने, जातीय, साम्प्रदायिक र क्षेत्रीय सद्भाव कायम गर्ने र राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रको सहयोग, समर्थन र विश्वास लिन सक्ने दल कांग्रेस मात्र भएकोले राष्ट्रियता वचाउन र एकता कायम गर्न कांग्रेसले जित्नुपर्ने बताए।

‘दलित, महिला, मधेसी र आदिवासी/जनजाति समुदायको सम्मान गर्ने पार्टी कांग्रेस मात्र हो’, देउवाले भने 'शान्तिस्थापना गरी संविधान कार्यान्वयन गर्न र समृद्ध नेपाल बनाउँदै प्रजातन्त्रको रक्षा कांग्रेसबाट मात्र सम्भव छ।’

आगामी निर्वाचनले संविधानसभाबाट जारी भएको संविधान कार्यान्वयन गर्न कसैले खोस्न नसक्ने गरी लोकतन्त्र स्थापित गर्न कांग्रेसलाई जिताउनुपर्ने देउवाले बताए। उनले भने ‘देशमा भएका हरेक क्रान्ति र परिवर्तनको नेतृत्व कांग्रेसले गरेकोले चुनावमा पनि बहुमत कांग्रेसले पाउनुपर्छ।’

घोषणा पत्र सार्वजनिक कार्यक्रममा नेता रामचन्द्र पौडेलले वर्तमान संविधान जारी गर्न सहमत भएका पार्टीले संविधान नै कार्यान्वयन नगर्ने षड्यन्त्र गरेको आरोप लगाए। ‘संविधानमा भएको व्यवस्था विपरितको कार्यमा संविधान जारी गर्ने दल लागेका छन्,’ पौडेलले भने ‘मुलुकमा देखिएको साम्यवाद र एकाधिकारको विरुद्ध लड्ने शक्ति नेपाली कांग्रेससँग मात्र छ।’

नेता पौडेलले कांग्रेसको घोषणा पत्रले मुलुकलाई कसरी रुपान्तरण गरेर समृद्ध बनाउन सक्छ भन्ने खाका तयार गरेको वताए। कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले पार्टीले सार्वजनिक गरेको घोषणा पत्र उपयोगी भएको भन्दै कांग्रेसलाई आगामी निर्वाचनमा बहुमत दिन आग्रह गरे। घोषणा पत्र सार्वजनिक कार्यक्रमको विशेषताको बारेमा घोषणा पत्र मस्यौदा समितिका संयोजक महेश आचार्यले चर्चा गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.