बजेटको पैसा प्रहरी खाजा र गाँजा फडानीका औजार किन्नमा खर्च

|

उदयपुर : उदयपुरमा बर्सेनि कृर्षकले अवैध रुपमा खेती गर्दै आएको गाँजा खेती यस वर्ष प्रहरी प्रशासनले फडानी सुरु गरेको छैन। दसैँ तिहारपछि फडानी गर्ने प्रहरी प्रशासनले यस वर्ष बजेट अभाव भएकाले फडानी सुरु नसकेको हो।

उदयपुरका प्रमुख जिल्ला अधिकारी चन्द्रमान श्रेष्ठले यस वर्ष पनि उदयपुरको पहाडी क्षेत्रको अन्कन्ठार जग्गामा गाँजा खेती गरेको सूचना आएको बताए। ‘गाँजा फडानीको कुरा प्रहरी दिवसमा समेत उठेको थियो,’ प्रजिअ श्रेष्ठले भने, ‘गृह मन्त्रालयबाट गाँजा फडानीको लागि आउने बजेट आएको छैन, तर, मैले एसपी नवराज भट्टलाई अन्य स्रोत खोजेर फडानी गर्न भनेको छु।’

प्रजिअ श्रेष्ठका अनुसार विगतका वर्षभन्दा अहिले कम रोपिए पनि त्यसलाई प्रशासनले फडानी गर्ने तयारी गरेको छ। प्रजिअ श्रेष्ठका अनुसार गाँजा फडानीको लागि गृह मन्त्रालयबाट बर्सेनि एक लाख रुपैँया आउने गरेको थियो। श्रेष्ठले नपुगेको पैसा जिल्ला प्रहरी र जिल्ला प्रशासनको आन्तरिक स्रोत खोजेर जुटाउँदै आएको बताए।

‘प्रत्येक वर्ष गाँजा फडानीको लागि १ लाख ५० हजारसम्म खर्च हुने गरेको छ,’  प्रजिअ श्रेष्ठले भने, ‘त्यो पैसाले गाँजा फडानीको वेला प्रहरीलाई खाजा खुवाउने, गाँजाका बोट काट्नको लागि खुर्पा, हसिया, खरिद गर्ने र काटएिको गाँजा जलाउनको लागि मट्टीतेल, डिजलसमेत किन्ने गरिएको गरिएको छ।’

श्रेष्ठले त्योभन्दा बढी खर्च भए पनि गृह मन्त्रालयमा माग गर्ने गर अन्य स्रोत खोजिने गरेको समेत बताए। ‘कुनै वेला हामीले सोचेभन्दा बढी गाँजा खेती फेला पर्छ,’ उनले भने, ‘गाँजा काट्न गएको प्रहरीलाई कसैले पनि खान दिदैन, अनि पुन खर्चपर्च जुटाएर समेत फडानी गर्नु पर्छ।’

विगतमा जिल्लाको रुपाटार, लिम्पाटार, सोरुङ छविसे, तवाश्री, पञ्चावती, ईनामे, लेखगाँउ, ओख्ले साविकका तीन दर्जन गाँउ बिकास समितिका अनकन्ठार भुगोलमा गाँजा खेती हुँदै आएको छ। सुरक्षा निकायको आँखा छल्न सकिने क्षेत्रमा अहिले गाँजा खेती हुन थालेको स्रोतको दाबी छ।

 बढी नाफा लिनको लागि कृर्षकले  कोदो, धान, मकै, भट्मास हुने जग्गामा गाँजा खेती गर्दै आएका छन। ताप्ली गाँउपालिकाका एक शिक्षकका अनुसार अहिले खोटाङ, भोजपुर, धनकुटासँग उदयपुरको सिमान जोडिएको सुनकोसी नदीको किनारमा पर्ने जग्गामा गाँजा खेती हुने गरेको छ।

‘उदयपुरको उत्तरी पहाडी क्षेत्रमा माओवादी द्वन्द्वकालदेखि गाँजा रोप्न थालिएको हो,’ गाजाको बारेमा आप्mनो नाम गोप्य राख्ने सर्तमा भने, ‘०७१ सालबाट प्रहीले फडानी गर्न थालेपछि रोप्ने कृर्षक घट्दै गएपनि रोप्न भने छाडेका छैनन।’ उनका अनुसार गाँजा व्यापारीको सेटिङमा कृर्षकलाई गाँजा खेती लगान लगाइन्छ।

सकेसम्म प्रहरीको आँखा नपुग्ने कृर्षकका जग्गा, सरकारी तथा वन क्षेत्रका जग्गामा खेती गर्न कृर्षकलाई व्यापारीको सुझाव हुने गरेको छ। जिल्ला प्रहरी कार्यालयका उदयपुरका प्रमुख एसपी नवराज भट्टले सकिएको चाडपर्व र नजिकिएको चुनावले गर्दा ढिलाई भएको भन्दै सुचना संकलनको काम सुरु गरेको बताए।

‘चुनावको लागि म्यादी प्रहरी भर्नादेखि विभिन्न समस्यामा परेका छौ,’ उनले भने, ‘यस पटक गृह मन्त्रालयबाट गाँजा फडानीको लागि आउने बजेट पनि आएको छैन, मलाई जानकारी आएको कोसी टप्पुका क्षेत्रतिर फडानी गर्न लगाएको छु।’

फडानीले उत्पादन घट्दै

लागुऔधष गाँजा उत्पादनको पकेट क्षेत्रको रुपमा उदयपुर चिनिन्ति। केही वर्ष अगाडी मात्र लागुऔषध अफिम खेतीनै फेला परेको थियो। प्रहरीले वर्षेनी फडाँनी गर्दै आउन थालेपछि गाँजा खेतीसमेत घट्दै गएको थियो।

जिल्ला प्रहरी कार्यालय उदयपुरको तीन वर्षे तथ्यङक अनुसार आथिर्क वर्ष ०७१/०७२ मा एक हजार ९९ रोपनी जग्गा खेती गरिएको गाँजा खेती नष्ट गरिएको छ। यसैगरी आव ०७२/०७३ मा एक हजार ८ सय १६ रोपनी, आव ०७३/०७४ मा एक सय ७४ रोपनी फडानी गरिएको छ।

जुन अघिल्लो ०७७१ देखि ०७३ सम्म आउँदा धेरै कृर्षकले रोप्न छाड्दै आएका थिए। ‘यस वर्ष पनि पुर्व क्षेत्र र पश्चिमी क्षेत्रमा गाँजा रोपिएको सुनिएको छ,’ एसपी भट्टले केही हप्ता अघि एक पत्रकार सम्मेलनमा भनेका थिए, ‘त्यसलाई फडानीको तयारी गरिएको छ।’

उदयपुरको गाँजा यसरी पुग्छ भारत

उदयपुरमा उत्पादन भएको गाँजाको ढुवानीसमेत बदलिएको छ। ‘पहिला भरिया लगाएकार चुरेको जंगलबाट सिरहा हुँदै भारत जान्थ्यो,’ गाजाँ बोक्ने एक भरियाले भने, ‘अहिले यस क्षेत्रमा प्रहरीले बढी आँखा लगाउन थालेपछि सुनकोसी नदीमा बाँसमा बाधेर कोशी व्यारेज कटाउन थालिएको छ।

गाँउमा रहेका एक गाँजाका छोटो व्यापारीका अनुसार फडानीबाट जोगाउन सके गाँजाबाट कृर्षकले मनग्य आम्दामी लिने गरेका छन। ‘पहिला भरिया लगाएर नाका कटाइन्थ्यो,’ उनले भने, ‘अहिले विभिन्न प्रकारका आधुनिक बाटो खोज्नुको साथै सप्तकोसी ढुंगाबाट कटाउने चलन सुरु भएको छ।’

विगतमा भरियाले इनामेको रुन्चे भञ्याङ्ग, तावाखोला हुँदै रिस्कुबाट सिरहाको मुक्सारदेखि भारत, लेखगाँउको नारिमाला हुँदै कटारी र रिस्कुको जंगलबाट सिरहाबाट पनि भारत, सोरुछविसे, लिम्पटारको सोरुङखोला र कमला नदीको बाटो धनुषा हँुदै भारत निकासी गर्ने बाटो समेत परिवर्तन हुने  गरेको स्थानीय बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.