|

काठमाडौं : दाङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा उम्मेदवारको आकांक्षी एमाले स्थायी कमिटी सदस्य शंकर पोख्रेल अन्ततः प्रदेशसभा निर्वाचनमा प्रतिस्पर्धा गर्न राजी भए। दाङ २ मा उनीसँगै नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा आकांक्षी थिए। एमाले र माओवादी केन्द्रबीच गठबन्धन रहेका कारण पोख्रेलले छाडेर महरा प्रतिनिधिसभामा उम्मेदवार बन्ने भएका छन्।

त्यसको सट्टामा उनी प्रदेशसभामा उम्मेदवारी दिने र ५ नम्बर प्रदेशको मुख्य मन्त्रीको रुपमा अघि बढ्ने भएका छन्। उनी दाङ क्षेत्र नम्बर २ अन्तर्गतको १ बाट प्रदेशसभाको निर्वाचनमा प्रतिस्पर्धा गर्नेछन्।

पोख्रेलले आफू मानसिक रूपमा आफू प्रतिनिधिसभाको तयारीमा रहे पनि प्रदेशसभाको निर्वाचन लड्नुपर्ने अवस्था आएको बताए। उनले आफ्ना लागि प्रदेशसभाको यात्रा अनौठो भएको बताए।  'म भाग्न खोजिरहेको थिएँ, तर प्रदेशले तानेको तान्यै गर्‍यो। मेरो लागि यो अनौठो यात्रा हो', नेता पोख्रेलले भने, 'तर मैले यसलाई अवसरका रूपमा लिएको छु।'

'मेरो उम्मेदवारी प्रदेशमा नै हो, कुनै द्विविधा छैन'

राष्ट्रिय राजनीतिमा राम्रो प्रभाव पार्न सक्ने खुबी भएका नेता पोख्रलले प्रतिनिधिसभाको निर्वाचन लड्न नपाए पनि विचलित नहुन आफ्ना शुभेच्छुकहरूलाई आग्रह गरेका छन्। 'दाङका मेरा शुभेच्छुकहरूमा हलचल मच्चिएको छ। यो के फैसला हो? भनेर प्रश्न गरिरहनुभएको छ। उहाँहरूलाई म आउँछु अनि जवाफ दिन्छु भनेको छु', पोख्रेलले भने।

उनले अब कुनै द्विविधामा नपरेर चुनावी अभियानमा लाग्नसमेत शुभेच्छुकहरूलाई आग्रह गरे। 'मुख्यमन्त्रीको उम्मेदवार भनेपछि मेरा देशैभरका शुभेच्छुकहरूमा हलचल मच्चिएको छ। विशेषगरी दाङमा', उनले भने, 'अब ममा कुनै द्विविधा छैन। म क्याम्पेनिङमा हिडिसकेपछि जे निष्कर्षमा पुगिएको छ, त्यसलाई सफल पार्न लाग्ने हो।'

५ नम्बर प्रदेशका वामपन्थी दलहरूको साझा उम्मेदवारका रूपमा आफू आएको उनी बताउँछन्। उनले प्रदेश नम्बर- ५ लाई नमुना मात्र नभएर सिंगो ५ नम्बर प्रदेशवासीले गर्व अनुभूति गर्न सक्ने खालको काम गरेर देखाउने प्रतिबद्धता जनाए। 'अब ५ नम्बर प्रदेश नमुना मात्र होइन, नमुना त जस्तो पनि हुनसक्छ', पोख्रेलले भने, '५ नम्बर प्रदेशका जनताले गर्व अनुभूति गर्नसक्ने खालको काम गरिनेछ।'

अब बन्ने प्रदेशको मुख्यमन्त्रीहरु नै भविष्यमा प्रधानमन्त्रीको उम्मेदवार हुने भन्दै उनले सबल मुख्यमन्त्रीले प्रधानमन्त्रीको दावी गर्न सक्ने बताउँछन्। राष्ट्र सबल हुनका लागि प्रदेशहरू सबल हुनुपर्ने भन्दै नेता पोख्रेलले त्यसका लागि आफूले ५ नम्बर प्रदेशमा भूमिका निर्वाह गर्ने बताए।

२० प्रतिशत सिटमा मात्र प्रतिस्पर्धा

एमाले नेता पोख्रेलले मंसिरमा हुने निर्वाचनमा वाम गठबन्धनको कम्तीमा पनि ८० प्रतिशत निर्वाचन क्षेत्र सुरक्षित रहेको दाबी गरे। बाँकी रहेको २० प्रतिशत सिटमा मात्र कांग्रेस नेतृत्वको प्रजातान्त्रिक गठबन्धनसँग प्रतिस्पर्धा हुने नेता उनको भनाइ छ।

'यसपालि वाम गठबन्धन ८० प्रतिशत स्थान पक्का छ। मंसिरपछि दुई तिहाई बहुमतसहितको सरकार बन्छ', पोख्रेलले भने। यस निर्वाचनपछि नेपालको राजनीतिले नयाँ बाटो लिने बताउँदै उनले कम्तीमा पाँचवटा मात्र राष्ट्रिय पार्टी रहनेसमेत बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.