नौ जनालाई दिइने भयो प्रज्ञा पुरस्कार

|

काठमाडौंः नेपाल प्रज्ञाप्रतिष्ठानको ३२औँ प्राज्ञसभा प्रज्ञाभवन, कमलादी, काठमाडौँमा सम्पन्न भएको छ। 

प्रज्ञाप्रतिष्ठानका कुलपति एवं प्राज्ञसभा अध्यक्ष गंगाप्रसाद उप्रेतीको अध्यक्षतामा सोमबार सम्पन्न प्राज्ञसभाको प्रज्ञाप्रतिष्ठानका संरक्षक संस्कृतिमन्त्री जीतेन्द्रनारायण देवले उद्घाटन गरेका थिए।

उद्घाटन सभालाई सम्बोधन गर्दै मन्त्री देवले नेपाल ऐतिहासिक, सांस्कृतिक र प्राकृतिक दृष्टिले अत्यन्त सम्पन्न मुलुक भएको र यसको सुदीर्घ इतिहास, विविध संस्कृति र तराई, मधेस, पहाड र हिमालका विविधतामय वातावरणमा हुर्केको प्राचीन सभ्यता गौरवपूर्ण रहेको बताए। ‘वर्तमान पनि अनेक विशिष्टताले युक्त छ। यस महत्त्वलाई हृदयंगम गरी प्राज्ञिक वर्गले संसारमा नेपालको पहिचान फिँजाउन र मुलुकभित्र आत्मगौरव बढाउन आआफ्ना ठाउँबाट योगदान गर्दै जानुपर्छ’, उनले भने। 

सभामा प्रज्ञाप्रतिष्ठानका प्रमुख संरक्षक प्रधानमन्त्री शेरबहादुर देउवाले पठाएको शुभकामना सन्देश सदस्य सचिव प्रा. डा. जीवेन्द्रदेव गिरीले पढेर सुनाएका थिए। ‘राजनीतिक र लोकतान्त्रिक रूपान्तरणलाई सामाजिक परिवर्तनमार्फत् संस्थागत गर्ने मुख्य अभिभारा प्राज्ञहरूको हुने’ भन्दै ‘प्राज्ञिक बहस, विवेचना र सिर्जनाले राष्ट्रिय जीवन उपयुक्त ढंगबाट संचालन गर्न मद्दत पुग्ने हुनाले प्रतिष्ठानको प्राज्ञसभाले अंगीकार गर्ने नीतिहरूले राष्ट्रलाई सफल बनाउन प्रत्यक्ष र परोक्ष रूपमा महत्त्वपूर्ण योगदान दिनेछ’, सन्देशमा प्रधानमन्त्रीले उल्लेख गरेका छन्।

कुलपति एवं सभाध्यक्ष उप्रेतीले नेपाल प्रज्ञाप्रतिष्ठान मुलुकका भाषा, साहित्य, संस्कृति, समाजशास्त्र र दर्शन विधाको प्रवद्र्धन गर्दै मुलुकको प्राज्ञिक गरिमा राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा स्थापित गर्न राज्यद्वारा सञ्चालित सर्वोच्च प्राज्ञिक संस्था भएको उल्लेख गर्दै प्रतिष्ठानको वर्तमान नेतृत्वले यस दिशामा महत्त्वपूर्ण कार्यहरू गरिरहेको बताए। उनले भने, ‘दक्षिण एसियाली मुलुकका राज्य सञ्चालित समान प्रकृतिका प्रज्ञाप्रतिष्ठानहरूसँग संस्थागत सम्बन्ध स्थापना गरी नियमित रूपमा प्राज्ञिक आदान–प्रदान भइरहेको छ।’

यसै सन्दर्भमा नेपाल प्रज्ञाप्रतिष्ठानकै प्रस्ताव र यस क्षेत्रका समकक्षी प्रज्ञाप्रतिष्ठानहरूको सहमतिमा क्षेत्रीय रूपमा बहुपक्षीय महत्त्वका प्राज्ञिक विषयमा सहकार्य गर्न हालै चीन तथा दक्षिण एसिया साहित्यसभा स्थापना भई यसको पहिलो सम्मेलन यही २०१७ को नोभेम्बर ५ देखि ९ तारिखसम्म चीनमा सम्पन्न हुने जानकारी पनि उनले गराए।

चीन, भारत, बंगलादेश, पाकिस्तान, श्रीलंकाका समकक्षी प्रतिष्ठानहरू एवं नेपाल प्रज्ञाप्रतिष्ठानसमेत संस्थापक रहेको उक्त क्षेत्रीय निकायले क्षेत्रीय रूपमा साहित्य, संस्कृति, भाषा र वाङ्मयका अन्य विधाको उन्नयनका लागि महत्त्वपूर्ण काम गर्ने कुलपतिले बताए।

उद्घाटन समारोहलाई पूर्व कुलपति बैरागी काइँला, नेपाल संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानका कुलपति सरुभक्तले पनि सम्बोधन गरेका थिए। काइँलाले बदलिँदो परिस्थितिलाई सम्बोधन गर्दै भाषिक पर्यटनको विकासका लागि प्रज्ञाप्रतिष्ठानले भूमिका खेल्नुपर्ने औँल्याए। सरुभक्तले महत्त्वपूर्ण निर्णयहरू गर्दै प्राज्ञसभा सफल होस् भनी कामना गरे। 

उपकुलपति डा. विष्णुविभु घिमिरेले सभामा स्वागत मन्तव्य राख्दै वाङ्मयका पाँच महत्त्वपूर्ण विधामा काम गर्ने अख्तियारी पाएको प्रज्ञाप्रतिष्ठानले सीमित साधन र स्रोतका बाबजुद पनि धेरै प्रभावकारी कार्यहरू सम्पादन गरिरहेको बताए। 

प्राज्ञसभाले आर्थिक वर्ष २०७४/०७५ का लागि १६ करोड रुपैयाँको प्रस्तावित बजेट पारित गरेको छ भने प्रज्ञाप्रतिष्ठान कर्मचारी तथा कलाकार नियमावली संशोधन गर्नुका साथै प्रज्ञा पुरस्कारहरूको निर्णयसमेत गरेको छ। नेपाली भाषा, साहित्य, संस्कृति एवं मातृभाषा साहित्यका विधामा विशिष्ट योगदान पु¥याएवापत नौ जना स्रष्टालाई प्रज्ञापुरस्कार प्रदान गरिने  भएको छ। 

यसअनुसार प्रत्येक चार वर्षमा राष्ट्रका एक जना विशिष्ट वाङ्मय साधकलाई प्रदान गरिने नगद चार लाख रुपैयाँ राशिको पृथ्वी प्रज्ञा पुरस्कार डा. तारानाथ शर्मालाई प्रदान गर्ने निर्णय गरिएको छ। यसैगरी प्रत्येक दुई वर्षमा प्रदान गरिने एक लाख रुपैयाँ राशिको नेपाल प्रज्ञा संस्कृति पुरस्कार प्रा.डा. वीणा पौड्याल घिमिरेलाई र दुई वर्षमै प्रदान गरिने नेपाल प्रज्ञा भाषा पुरस्कार प्रा.डा. रामावतार यादवलाई प्रदान गरिने भएको छ।

यसैगरी वर्सेनि प्रदान गरिने नेपाल प्रज्ञा नेपाली साहित्य पुरस्कार, २०७३ विमल निभालाई र २०७४ का लागि ध्रुव सापकोटालाई, तराई÷मधेसमा बोलिने मातृभाषाका साहित्यतर्फ २०७३ का लागि अब्दुल लतिफ शौक र २०७४ का लागि सोमबहादुर धिमाललाई तथा पहाडी÷हिमाली क्षेत्रमा बोलिने मातृभाषा साहित्यतर्फ २०७३ का लागि पदम राई र २०७४ का लागि धनबहादुर माझीलाई जनही एक लाख रुपैयाँ राशिको नेपाल प्रज्ञा मातृभाषा साहित्य पुरस्कार प्रदान गर्ने निर्णय गरिएको छ।  पृथ्वी प्रज्ञा–पुरस्कार राष्ट्रकै सम्मानित र गौरवमय  पुरस्कार मानिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.