|

  • मनोज भट्टराई-

ओखलढुंगा : ओखलढुंगामा चुनावी चहलपहल बढ्न थालेको छ। उम्मेदवारी मनोनयनसँगै जिल्लामा चुनावी गतिविधि तीव्र हुन थालेको हो। जिल्लाका पार्टी उम्मेदवारहरू हरेक गाउँगाउँमा चुनाबीसभा र मतदातासँग भेटघाटमा व्यस्त छन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले अन्तिम नामावली प्रकाशन गरेअनुसार जिल्लामा प्रदेश र प्रतिनिधिसभा चुनावका लागि २१ जना उम्मेदवार प्रतिस्पर्धा गर्ने भएका छन्।

प्रतिनिधिसभामा ९ जना र प्रदेशसभामा १२ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन्, जसमध्ये एकजना स्वतन्त्र उम्मेदवार रहेका छन्। संघीय संसदका लागि ९ जना उम्मेदवारमध्ये मुख्य प्रतिस्पर्धा वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनका बीचमा हुने देखिएको छ भने प्रदेशमा अन्य दलको प्रभाव नभएकाले दुई गठबन्धनबीच प्रतिस्पर्धा हुनेछ।

वाम गठबन्धन एमाले र प्रजातान्त्रिक गठबन्धनको कांग्रेसले नेतृत्व गरेको छ। प्रजातानित्रक गठबन्धनमा असन्तुष्ट र विद्रोहीसमेत रहेकाले  कांगे्रसलाई वाम गठबन्धनसँग प्रतिस्पर्धा गर्न चुनौती थपिएको छ।

कुन स्थानीय तहमा कसको प्रभाव?

ओखलढुंगामा प्रदेश (क) अन्तर्गत सिद्धिचरण नगरपालिका एउटाबाहेक सबै वडाका साथै खिजिदेम्बा, मोलुङ र चिसंखुगढी गाउँपालिका पर्छन्। यीमध्ये खिजिदेम्बा कांग्रेसले जितेको छ भने सिद्धिचरण र मोलुङमा एमालेले जितेको छ। चिसंखुगढीमा माओवादी केन्द्रले जितेको छ। प्रदेश (क) मा संयुक्त गठबन्धनका तर्फबाट अम्बीरबाबु गुरुङ र कांग्रेसका मित्रसेन दाहालबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ।

प्रदेश (ख) अन्तर्गत लिखु, सुनकोसी, चम्पादेवी र मानेभन्ञ्याङ गाउँपालिका पर्छन्। तीमध्ये लिखुमा एमालेले जितेको छ भने अरु तीनवटै गाउँपालिका कांग्रेसले जितेको छ । स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रले कांग्रेसलाई सहयोग गरेको भए पनि यो क्षेत्रमा लिखु र चम्पादेवी गाउँपालिका संयुक्त गठबन्धनको आधार क्षेत्रसमेत भनेर चिनिन्छ।

 सो क्षेत्रमा एमालेले माओवादीका उम्मेदवार मोहन खड्कालाई समर्थन गरेको छ। कांग्रेसले प्रदेश (ख) मा एमालेको सबै भोट माओवादीलाई नजाने देखेर आफ्नो बल लगाएको छ। माओवादी नेता बालकृष्ण ढुंगेल सोही क्षेत्रबाट ०६४ मा निर्वाचित भए पनि पछिल्लो स्थानीय तह चुनावमा माओवादीले ५ हजार मत मात्र पाएको छ। एमालेको करिब १२ हजार मत रहेको छ भने कांग्रेसको १३ हजार ७ सय ६७ मत छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.