|

महोत्तरी :  जिल्लामा डेंगु रोगको संक्रमण नियन्त्रणबाहिर गएको छ। असोजको दोस्रो सातादेखि फैलिएको डेङ्गुको संक्रमण अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन। स्वास्थ्यकर्मीसहित ५ जनामा देखिएको डेङ्गुको संङक्रमण फैलिएर अहिलेसम्म ४ सय ५५ जनामा देखिएको छ।

एडिज एल्बोमेक्टस नामक लामखुट्टेको टोकाइबाट संक्रमण हुने डेङ्गु ज्वरोको विरामी महोत्तरीमा दिनानुदिन बढ्दै गएका छन्। गत भदौ १२ गते भारतको कोलकाताबाट आएका एक भारतीय नागरिकमा छिमेकी जिल्ला सर्लाहीको लालबन्दीमा डेङ्गुको संङक्रमण देखिएपछि महोत्तरीमा पनि संक्रमण देखिएको स्वाथ्यकर्मीहरुले बताएका छन्।

महोत्तरीमा देखिएको डेङ्गुको संक्रमण नियन्त्रणमा आउन नसकेपछि स्थानीयवासिन्दा त्रसित बनेका छन्। साधारण रुघाखोकी लाग्दासमेत डेङ्गु लाग्यो भन्ने शंकामा स्थानीयहरु स्वास्थ्यचौकी पुग्ने गरेका जनसेवा अस्पताल बर्दिवासका प्रमुख डा. गणेशकुमार श्रेष्ठले बताए।

बर्दिवास नगरपालिका वडा नम्बर १, २, ३, र १४ का बजार क्षेत्रलाई डेङ्गुबाट संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ। पानी जम्ने टिनका डब्बा, थोत्रा टायर, मट्टितेलका खाली ड्रम, गमला, फूलदानी, पानी ट्यांकीमा एडिज नामक लामखुट्टेले फुल पार्ने र अरु लामखुट्टे उत्पादन हुने हुँदा डेंगुका लार्भाहरुको नष्ट गर्ने काम पनि भइरहेको बर्दिवास नगरपालिकाका प्रमुख विदुरकुमार कार्कीले जानकारी दिए।

जिल्ला जनस्वास्थ्य कार्यालयले भने आफ्नो तर्फबाट डेंगु नियन्त्रणका लागि सक्दो प्रयास गरिरहेको बताएको छ। जनस्वास्थ्य कार्यालय महोत्तरीका प्रमुख डा. राजीव झाले जनचेतना फैलाउन नसकिएका कारण डेंगु नियन्त्रण हुन नसकेको बताए। घर वरपर पानी जम्न नदिन सचेतनाका लागि घरदैलो अभियान समेत चलाइएको झाले बताए।

पछिल्ला दिनहरुमा डेङ्गु नियन्त्रणमा आउनुको सट्टा बढ्दै गएको छ। अहिले दैनिक २० भन्दा बढीको संख्यामा डेङ्गुका विरामी थपिदै गएका छन्। सरोकारवालाले चलाएको डेङ्गु नियन्त्रण अभियान प्रभावकारी नभएको स्थानीयको गुनासो छ।

उता सर्लाहीमा १ सय ५७ जनामा डेङ्गुको संक्रमण देखिएपछि विस्तारै नियन्त्रण हुँदै गएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय सर्लाही र प्राथामिक स्वास्थ्य केन्द्रहरुले विभिन्न अभियानहरु सञ्चालन गरेपछि डेङ्गुको संक्रमण नियन्त्रण गर्न सफल भएको जिल्ला जनस्वास्थ्य कार्यालय सर्लाहिका प्रमुख डा. हरिचन्द्र साहले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.