|

काठमाडौं: प्रधानमन्त्री शेरबहादुर देउवाको मन्त्रीपरिषद्का सदस्यसमेत रहेका माओवादी केन्द्रका पूर्व सांसद र नेकपा एमालेका दुई पूर्व सांसद नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।

नेकपा एमालेका पूर्व अध्यक्ष झलनाथ खनाललाई संविधानसभा निर्वाचन २०७० मा सर्लाही- १ बाट पराजित गरेका माओवादी नेता शम्भुलाल श्रेष्ठ नेपाली कांग्रेसमा प्रवेश गरेका हुन्। प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा विना विभागीय राज्यमन्त्री श्रेष्ठसहितका माओवादी नेता तथा कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका हुन्।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित छुट्टै कार्यक्रममा एमालेको तर्फबाट २०७० को संविधानसभा निर्वाचनमा कैलाली- २ बाट निर्वाचित पूर्व सांसद मोहनसिंह राठौर र समानुपातिकबाट सांसद बनेकी रवनी चौधरी पनि कांग्रेसमा प्रवेश गरेका छन्। संसदको सुशासन तथा अनुगमन समितिका सभापतिको अनुभव संहालेका राठौरलाई कांग्रेसले कैलाली- २ बाटै प्रतिनिधिसभातर्फ उम्मेदवार बनाउने भएको छ। 

विना विभागीय राज्यमन्त्री श्रेष्ठलाई कांग्रेसले सर्लाही- १ बाटै प्रत्यक्षतर्फ प्रतिनिधिसभाका लागि उम्मेदवार बनाउने निर्णय गरेको छ। श्रेष्ठ चार वर्षअघि मात्र नेपाली कांग्रेस परित्याग गरी माओवादीमा प्रवेश गरेका थिए।

राज्यमन्त्री श्रेष्ठसँगै माओवादी केन्द्रका जिल्लास्तरीय नेताहरू प्रेमहरि श्रेष्ठ, इन्द्रबहादुर योञ्जन, आदिमाया स्याङ्वा, रामप्रीत चौधरी, रामनानु साह, सुनिल मोक्तान, पूर्णवीर थापा, रामप्रसाद महतो, अम्मरबहादुर कार्की, लामा दोर्जे मोक्तान, राजु लामा, अभिषेक सुवेदी, यमुना श्रेष्ठ, सुरज डगौरा, उमा डगौरालगायत कांग्रेसमा प्रवेश गरेको प्रधानमन्त्रीका वरिष्ठ प्रेस संयोजक गोविन्द परियारले बताए।

प्रधानमन्त्री शेरबहादुर देउवा, नेताहरू रामचन्द्र पौडेल, डा. शशांक कोइराला, विमलेन्द्र निधि, गोपालमान श्रेष्ठ, मिनेन्द्र रिजाल, दिलेन्द्र वडु, एनपी साउद, किशोरसिंह राठौरलगायतका नेताहरू पार्टी प्रवेश कार्यक्रममा उपस्थित थिए। मुक्त कमैयाको ५ जिल्लाको समितिको केन्द्रीय सदस्यसमेत रहेकी पूर्व सांसद चौधरी थारू समुदायमा लोकप्रिय छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.