|

  • अर्जुन बोहरा-

सिमकोटः स्वास्थ्य चौकीमा स्वाथ्यकर्मी नियमित नभएपछि खार्पुनाथ स्वास्थ्य चौकीमा स्थानीय युवाहरूले ताला लगाइदिएका छन्। 

खार्पुनाथ गाउँपालिका– ५ मा रहको स्वास्थ्य चौकीमा कर्मचारीसमेत नभएपछि दैनिक बिरामीको उपचारमा समस्या आएको स्थानीय कमल शाहीले बताए। चौध वर्षका जनक शाहीको टाउकोमा गहिरो चोट लागेर तीनवटा टाँका लगाएको १५ दिन बितिसक्दा पनि अहिलेसम्म टाँका खोल्ने स्वास्थ्यकर्मी नभएपछि स्वास्थ्य कार्यालयमा ताला लगाएको उनले बताए। 

विगत एक महिनादेखि उक्त स्वास्थ्य चौकीमा स्वाथ्य इन्चार्ज कर्णजीत शाहीलगायतका स्वास्थ्यकर्मी नआएपछि बाध्य भएर ताला लगाउनुपरेको समेत स्थानीयले बताए। अहिले उक्त स्वास्थ्य चौकीमा सिटामोलबाहेक अरू कुनै पनि औषधि नभएको स्थानीयले जानकारी दिए। स्वास्थ्य चौकीबाट निःशुल्क उपलब्ध गराउनुपर्ने कुनै पनि औषधि नभएको र स्वास्थ्यकर्मीसमेत नहुँदा अहिले हुम्लाका अधिकांश गाउँपालिकामा बिरामीको समस्या जटिल बन्दै गएको समेत श्रीनगरका कालीबहादुर थापाले बताए। 

जिल्लाका अधिकांश स्वास्थ्य संस्थामा औषधिको अभाव हुँदा बिरामीहरू संख्या दिनहुँ बढ्दै गएको छ। औषधि अभाव भएको महिनौँ बिते पनि सम्बन्धित निकायले चासो नदिएको चंखेली गाउँपालिकाका स्थानीय बासिन्दा कालीबहादुर ऐडीले बताए। यतिखेर हिमाली जिल्ला हुम्लामा चिसोको सिजन सुरु भएको हुँदा ज्वरो आउने, निमोनिया, टाउको दुख्नेलगायतका बिरामीको संख्या बढेको नाम्खा गाउँपालिकाका स्वास्थ्य इन्चार्ज नरबहादुर भण्डारीले बताए। 

गर्भवती महिलाहरूलाई समेत औषधि नहुँदा समस्या परेको छ। आइरन चक्कीलगायत अत्यावश्यक औषधिसमेत जिल्ला स्वास्थ्य कार्यालय हुम्लाले उपलब्ध नगराएको स्थानीयले बताए।

सरकारले सम्पूर्ण अधिकार तथा वजेट स्थानीय तहमा पठाएपछि गाउँपालिकासमेत औषधि खरिद प्रक्रियामा अलमलिएको  सकेगार्ढ गाउँपालिका अध्यक्ष कृष्ण रोकायाले बताए। उनका अनुसार स्वास्थ्य चौकीमा औषधिभन्दा जिल्ला स्वास्थ्य कार्यालय हुम्लाले स्वास्थ्यकर्मीसमेत भनेको जति दरबन्दी नपठाउँदा समस्या आएको बताए। 

जिल्ला स्वास्थ्य कार्यालयमा औषधिको अभावबारे जानकारी गराए तापनि सरकारले सबै औषधि खरिदका लागि बजेट गाउँपालिकामा गएकोले जिल्लाबाट नहुने जिल्ला स्वास्थ्य कार्यालय हुम्लाका प्रमुख डा. स्मृति महतले जानकारी गराइन्। डा. महतले सरकारले अब सबै जिम्मा स्थानीय तहलाई दिएकाले पनि गाउँपालिकामा रहेका स्वास्थ्यकर्मीले समन्वय गरेर गाउँपालिका रहेका स्वास्थ्य चौकीमा व्यवस्थापन गर्न आग्रह गरिन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.