|

कैलाली : नेपाली कांग्रेस लम्कीचुहा नगरसमितिको कार्यालय थपालीपुरमा अज्ञात समूहले आगजनी गरेको छ। कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित पूर्वसांसद मोहनसिंह राठोर एमाले छाडेर कांग्रेस प्रवेश गरेकै दिन बेलुका करिब साढे ९ बजेतिर अज्ञात समूहले कांग्रेस कार्यालयमा आगजनी गरेको हो।

रातिको समयमा आगो लागिसकेपछि मात्र आफूले थाहा पाएको प्रत्यक्षदर्शी गीता बडुवालले बताइन्। आगो कसले र किन लगायो भन्ने बारेमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ। प्रहरीका अनुसार पार्टी कार्यालयमा पेट्रोल छर्किएर आगो लगाइएको थियो। आगलागीबाट फर्निचर तथा कागजात जलेका छन्।

पार्टीका पुराना नेतालाई टिकट नदिएर एमालेबाट प्रवेश गरेकै दिन राठोरलाई सभापति शेरबहादुर देउवाले टिकट दिएको भन्दै कांग्रेस नेता कार्यकर्ताले असन्तुष्टि जनाएका छन्। पार्टी सभापति देउवाले स्थानीय नेता कार्यकर्ताको मनोबल गिराउने काम गरेको कांग्रेस लम्किचुहा नगर सभापति रामबहादुर विष्टले गुनासाे गरे।

राठोरलाई टिकट दिने निर्णयको विरोधमा कांग्रेस लम्कीचुहा सभापति विष्ट र बर्दगोरिया सभापति गणेशबहादुर शाहीले पार्टीबाट राजीनामा दिएको घोषणा गरेका छन्। जिल्लाबाट कैलाली २ मा नेताहरु कमल शाह, हिम रावल र विजय स्वाँरको नाम सिफारिस भएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.