पुनर्निर्माणले गति नलिँदा बढ्दै छ चिसोको सकस

|

सिन्धुपाल्चोक : महाविनाशकारी भूकम्प गएको ३० महिना बितेको छ। भूकम्पबाट अति प्रभावित सिन्धुपाल्चोक जिल्लामा अझै पुनर्निर्माणले गति लिन सकेको छैन। पुनर्निर्माणका लागि आवश्यक दक्ष जनशक्ति अभाव भएकै कारण पनि सिन्धुपाल्चोकको पुनर्निर्माणमा समस्या भएको हो।

सिन्धुपाल्चोकमा विभिन्न संघसंस्थाले भूकम्पपछिको पुनर्निर्माणका लागि दक्ष जनशक्ति उत्पादनको लागि ७ दिनको ६ हजार ५ सय ४२ र ५० दिनको १ हजार ४ सय २९ गरी जम्मा ७ हजार ९ सय ७१ जना युवालाई तालिम दिएको सहरी विकास तथा भवन डिभिजन कार्यालयसँग तंथ्याक छ। तालिम लिएका धेरै युवा तालिमपश्चात् पुनर्निर्माणमा नलागी वैदेशिक रोजगारीमा खाडी मुलुक पसेका छन्।

अहिले सिन्धुुपाल्चोकको पुनर्निर्माणको लहर नै चलेको छ। चाडपर्व सकिएसँगै पुनर्निर्माणले गति लिन थालेको छ। तर, नजिकिँदै गरेको निर्वाचनले पुनर्निर्माणलाई बाधा पुर्‍याउने देखिन्छ। गाउँमा बाँकी भएका युवा पनि चुनावी प्रचार प्रसारमा लागेका छन्।

भूकम्प प्रतिरोधी नयाँ घर बनाएर नयाँ घरमा दसैं मनाएका चौतारा सागाँचोकगढी नगरपालिकाका भरतबहादुर सापकोटा भन्छन् ‘घर त जसोतसो बनाइयो, तालिम लिएका दक्ष प्राविधक एकजना पनि पाइएन। गाउँघरमा बल्लतल्ल अलिअलि मान्छे पाएर घर बनाएँ।’ संघसंस्थाले तालिम दिएका दक्ष डकर्मी आफ्नो घर बनाउँदा लगाउन नपाएको उनले गुनासो पोखे।

संघसंस्थाको लगानी व्यर्थ

भूकम्पपछि राहत, पुनःस्थापना र पुनर्निर्माणका लागि सिन्धुपाल्चोकमा संघसंस्थाको ओहिरो नै लाग्यो। प्रायः संघसंस्था आर्थिक हिसाब देखाउन नसकेकाले बाहिरिइसकेका छन्। पछिल्लो चरणमा स्थानीय संघसंस्थाको साझेदारीमा संघसंस्थाले खानेपानी, सरसफाइ, महिला स्वास्थ्य, जिविकोपार्जन, पुनर्निर्माण लगाएको क्षेत्रमा काम गरिरहेका छन्।

संघसंस्थाले पछिल्लो चरणमा पुनर्निर्माणलाई महत्वका साथ अगाडि बढाएका छन्। पुनर्निर्माणका लागि आवश्यक जनशक्तिका लागि तालिम प्रदान गरेका छन्। तालिमको नाममा करोडौँ पैसा खन्याएको भए पनि अहिले पुनर्निर्माणको बखतमा तालिम प्राप्त दक्ष जनशक्ति पाउनै छाडेका छन्। तालिम लिएका युवा अहिले कहाँ छन् कुनै जानकारी छैन।

२ हजारले लिए तेस्रो किस्ता

भूकम्प गएको ३० महिनामा बितिसकेको छ। भूकम्प गएको तीन वर्ष बित्नै लाग्दा पनि अधिकांश पीडितले घर बनाउन सकेका छैनन्। जिल्लामा ७९ हजार ९ सय १७ लाभग्राही पहिचान भएकामा ७५ हजार ३ सय ४ जनासँग पहिलो किस्तबापतको अनुदान सम्झौता भएको सहरी विकास तथा भवन डिभिजन कार्यालयमा प्रमुख टंक गौतम बताउँछन्।

सम्झौता भएकामध्ये ७५ हजार १ सय ९१ जनाले पहिलो किस्ता लगिसकेका छन्। ३० महिनाको अन्तरालमा सिन्धुपाल्चोकका १५ हजार ३ सय ३१ जनाले दोस्रो र २ हजार ३ सय ९ जनाले तेस्रो किस्ताको रकम बुझिसकेको गौतमले जानकारी दिए।

के गर्दै छन् स्थानीय तह?

स्थानीय सरकार पीडितले पाएको पनि झन्डै ६ महिना पुग्न लागेको छ। स्थानीय सरकार आए पनि आफ्नो घर निर्माणमा सहज हुने आशा राखेका पीडितले त्यो अझै पाउन सकेका छैनन। पीडितहरु टहरामै बसेर स्थानीय सरकार चुने फेरि प्रतिनिधि र प्रदेशसभाका सदस्य चुन्दै छन्।

‘सबै गाउँपालिका र नगरपालिकाले आफ्नो पहिलो प्राथामिकता पुनर्निर्माणलाई नै राखेका छन्’ जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङले भने, ‘हामीहरुले पहिलो प्राथामिकता सबै जनतालाई बासको व्यवस्था मिलाउनु हो। त्यो हामीहरुले सबै गाउँपालिका र नगरपालिकालाई आग्रह गरिसकेका छौँ।’

‘पुनर्निर्माणको काम तीव्र रुपले अगाडि बढ्न आवश्यक छ’ प्रमुख तामाङले भने, ‘स्थानीय तहले पनि पहिलो प्राथामिकता पुनर्निर्माणलाई लिएका छन्। त्यसैले अबको एक वर्षमा सबै पीडितहरुको बास अस्थायी टहरामा नराख्ने योजनासहित अगाडि बढाएका छौँ।’

प्रमुखविहिन छ कार्यालय

नेपाल सरकारले भूकम्प प्रभावित सिन्धुपाल्चोकका राष्ट्रिय पुननिर्माण प्राधिकरणको सम्पर्क कार्यालयको स्थापना ग¥यो। अपसोच सिन्धुपाल्चोकमा स्थापना गरिएको सो कार्यालय प्रमुखविहिन बनेको छ। पछिल्लो समय प्रमुख भएकाकाम गरिरहेका रुद्र मल्ल अहिले प्रतिनिधि र प्रदेशसभा निर्वाचनको लागि सहायक निर्वाचन अधिकृतको रुपमा निर्वाचन कार्यालय गएका छन्। मल्ल निर्वाचन कार्यालय गएसँगै उक्त पद रिक्त भएको हो।

उस्तै छ चिसोको सकस

भूकम्पले घरबारविहीन जिल्लाका भूकम्पपीडितलाई कठ्यांग्रिँदो चिसो अर्को संकट बनेर आएको छ। ३० महिनादेखि अस्थायी टहरामा बस्दै आएका पीडितहरूको बसाइ चिसोका कारण कष्टकर बन्दै गएको छ। केटाकेटी र वृद्धवृद्धा झन् चिसोले सकसमा पर्न थालेका छन्।

जाडो मौसम सुरुभएसँगै अस्थायी टहराको बाँसले पनि चिन्ता थपिदिएको छ। पहिलो किस्ताले घरको जग कसरी बसाउने भन्नेमा अझै अन्यौल छन् पीडितहरु। ‘चिसोले सताउने चिन्ता थपिएको छ, चिसोको सामना गर्दै परिवार कसरी पाल्ने भन्ने चिन्ताले समेत पिरोलेको छ’ जुगल गाउँपालिकाकी दुर्गाकुमारी सिलवालले भनिन् ‘टहरामा मुनि बसेर यो चिसो धान्न सकिएला जस्तो छैन।’

चिसो बढेसँगै चिसोसँगै रुघाखोकी र ज्वरोका बिरामीको संख्या बढ्न थालेको छ। चिसोले दीर्घरोगी, रक्तचाप असन्तुलन भएका तथा बालबालिका र वृद्धवृद्धाको संख्या बढ्न थालेको हो। रुघाखोकी र ज्वरोका बिरामीलाई विशेष सावधानी अपनाउन डाक्टरले सल्लाह दिएका छन्।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.