|

काठमाडौं : इंग्लिस प्रिमियर लिगको लिगलिडर म्यान्चेस्टर सिटी इलालियन सिरी ए लिडर नापोलीलाई पराजित गर्दै च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेको छ। नापोलीको घरेलु मैदानमा गएराति भएको खेलमा पाहुना टोली सिटी ४-२ ले विजयी भयो। उसको जितमा निकोलस ओटामेन्दी, जोन स्टोन्स, सर्जियो एग्युरो र रहिम स्ट्रलिङले गोल गरे।

खेलमा अग्रता भने घरेलु टोली नापोलीले लिएको थियो। २१औं मिनेटमा इन्सिग्नेको गोलबाट पछि परेको सिटीलाई ३४औं मिनेटमा ओटामेन्दीले खेलमा फर्काए। ४८औं मिनेटमा स्टोन्सले सिटीका लागि गोल थपे। ६२औं मिनेटमा प्राप्त पेनाल्टीमार्फत जोर्गिन्होले घरेलु टोलीका लागि बराबरी गोल गरे।

६९औं मिनेटमा एग्युरोले टिमका लागि रेकर्ड ब्रेकिङ गोल गर्दा सिटीले फेरि अग्रता लियो। यो सिटीका लागि एग्युरोको १७८औं गोल हो। यससँगै एग्युरो सिटीको सर्वाधिक गोलकर्ता बनेका छन्। उनले इरिक ब्रुकले १७७ गोल गर्दै बनाएको रेकर्ड तोडेका हुन्।

इन्जुरी समयमा रहिम स्ट्रलिङले गोल थप्दा सिटीले ४-२ को जित पक्का गर्‍यो, जसले सिटीलाई २ खेलअगावै युरोपकै प्रतिष्ठित प्रतियोगिताको प्रि-क्वार्टर फाइनलमा पुर्‍याएको छ। ४ खेलको समाप्तिमा शतप्रतिशत १२ अंक जोड्दै सिटी 'समूह एफ'को शीर्ष स्थानमा छ। दोस्रो स्थानमा रहेको सख्तर डोनेक्सले ९ अंक जोडेको छ। जम्मा ३ अंक जोडेर तेस्रो स्थानमा रहेको नापोलीको भने अघिल्लो चरण जाने सम्भावना कमजोर बनेको छ।

गएराति नै भएको यसै समूहको अर्को खेलमा सख्तर डोनेक्सले फेइनरुडलाई ३-१ ले पराजित गर्‍यो।

यस्तै अर्को इंग्लिस टोली लिभरपुलले मरिबोरलाई ३-० ले पराजित गरेको छ। लिभरपुलको जितमा मोहमद सल्लाह, इम्री कान र ड्यानियल स्टरेजले १-१ गोल गरे। पेनाल्टीमा प्राप्त अवसर भने जेम्स मिल्नरले सदुपयोग गर्न सकेनन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.