|

झापा : ०२४ मा उनी कक्षा ८ मा पढ्दै गर्दा कम्युनिस्ट आन्दोलनमा होमिए। १८ वर्षको लक्का जवान उनमा त्यसवेलाको पञ्चायती शासकविरुद्ध लड्नुपर्छ भन्ने चेत आयो। उनी कम्यनिस्ट किताब पढ्न थाले। कम्युनिस्टको विचार बुझ्न थाले। त्यतिवेलाका पञ्चायतीविरुद्ध उनी खबरदारी गर्न थाले। उनी अर्थात् झापा शिवसताक्षीस्थित माईधारको किनारामा बस्दै आएका ६८ वर्षीय मालेस्ताएमा दाहाल।

उनको नामबाटै प्रस्ट थाह हुन्छ उनी कट्टर कम्युनिस्ट हुन्। मार्क्स, लेनिन, स्टालिन, एंगेल्स र माओसेतुङजस्ता विश्वका चर्चित कम्युनिस्ट नेताको पहिलो अक्षरबाट उनको नाम राखिएको छ। 

झापामा भएको किसान अान्दाेलनमा उनकाे सहभागिता सक्रिय थियाे। जग्गा मालिकहरुले माेहीलार्इ धमाधम  निकाल्न थालेका थिए। त्यसकाे  विराेधमा झापामा अान्दाेलन चर्कंदै  थियाे त्यही अान्दाेलनमा मालेसताएमा पनि सहभागी भए। 

उनको नाम कसरी भयो मालेस्ताएमा? 

उनको कक्षा १० सम्म पढ्दाको नाम मालेस्ताएमा होइन। उनको वास्तविक नाम तुलसीराम दाहाल हो। ०२४ मा झापाको घौलाडुब्बास्थित आदर्श विद्यालयमा कक्षा ८ मा अध्ययन गर्दै थिए। घर तेह्रथुमको अठराईमा भए पनि पढाइको सिलसिलामा मधेस झरेका थिए। मधेसमा उनी आफ्ना काका रामनाथ दाहालकोमा बस्दै आएका थिए। काका रामनाथ कम्युनिस्ट पार्टीको प्रचार गर्दै हिँड्थे।

क्युनिस्ट पार्टीका नेता राधाकृष्ण मैनाली, सिपी मैनालीलगायत नेता घरमै आउथे। कम्युनिस्टका किताब ल्याउथे, त्यो किताब उनी पनि पढ्थे। विस्तारै उनलाई कम्युनिस्टको विचार मन पर्न थाल्यो। यसै क्रममा राधाकृष्ण मैनाली, सिपी मैनाली, रामनाथ दाहाल विद्यालयतिर संगठन विस्तार गर्नतर्फ लागे।

उनी पनि संगठन विस्तारमा सघाउन र  विभिन्न विद्यालयका अलिक ठूला विद्यार्थी भेला गर्नतर्फ लागे। त्यही क्रममा उनले एमालेका हालका अध्यक्ष केपी शर्मा ओलीलाई पनि संगठनमा जोडे। उनीहरु विद्यार्थी राजनीतिमा सँगसँगै काम गर्न थाले।

उनी पनि आदर्श विद्यालयको विद्यार्थी युनियनको अध्यक्ष भए। उनले पञ्चायतीहरुलाई त्यससमय धेरै खबरदारी गरे। त्यही कारण पनि उनी पञ्चायतीको आँखाको तारो बने। त्यसवेला विद्यार्थी युनियनको प्रतिनिधि पनि गाउँ पञ्चायतमा जान पाउने भए। त्यही क्रममा उनी पनि विभिन्न गाउँ पञ्चायतको सभा पुग्थे। उनलाई गाउँपञ्चायतको सभामा जनतालाई पञ्चायती शासकले ठगेको पटक्कै मन पर्दैन थियो।

०२६ मा गाउँपञ्चायतमा चारपानेमा भएको निर्णय उनीहरुलाई मन परेको थिएन। त्यही क्रममा तत्कालीन प्रधानपञ्च मोहन राजवंशीविरुद्ध उनीहरु उभिए। उनीहरुले विररोध गर्न थालेपछि प्रधानपञ्च त्यहाँबाट उठेर भागे। त्यपसछि उनलाई वारेन्ट जारी गरियो। पञ्चायत सरकारले जहाँ भेटे पनि पक्रने निर्णय गरेपछि उनीसँगै, केपी शर्मा ओली, भगिरथ ओली, नरपति उप्रेती र नारायण संग्रौला भागेर तेह्रथुमको अठराई पुगेको उनी सम्झन्छन्।

उनी भन्छन्, ‘हामी शासकको त्यो वारेन्टका कारण भागेर अठराई पुग्यौँ। जन्म थालो पुगेर पनि हामीले पञ्चायतविरुद्ध संघर्ष गर्यौँ, हामीले अठराई बजार बन्द गर्यौँ’। त्यहाँ पनि उनीहरुलाई पञ्चायतले निगरानी गर्यौं।’ 

अठराईको चोकपुर भन्ने स्थानबाट विद्यालय बन्द गरेर आउने क्रममा हिँड्दा खोलाको सुब्बिनी पुलमा प्रधानपञ्चका कार्यकर्ताले दाहाललाई कुटपिट गरे।  तर,  बहिनी शान्ताले उनलाई पानी खान दिएर बचाइन्। केपी ओलीलगायत उनीसँग आएका ४ जना साथीहरु झापा आए। उनीहरुलाई वारेन्ट रहेनछ। त्यसपछि उनीहरुले झापामै पढ्न सुरु गरे। पञ्चका कार्यकर्ताको कुटाइको चोटबाट उनलाई निको हुन करिब एक महिना लाग्यो।

‘एक महिनासम्म त दिशा, पिसाब, नाक, मुखबाट रगत गयो, एक महिनापछि औषधि गर्दागर्दा बल्न निको भएँ’, उनी ती दु:खका क्षण सम्झन्छन्। झापा जाँऊ भने वारेन्ट जारी भएको थियो। कक्षा ९ त झापामै पास गरेका थिए। उनले कक्षा १० मा भर्ना हुने सोच बनाए। उनी भर्ना हुन अठराईको पोखरी हाईस्कुलमा गए। त्यहाँ प्रध्यानाध्यापक सूर्य कन्दङ्वा पनि कम्युनिस्ट विचारधाराका थिए। उनले राम्रै सहयोग गरे, उनको आफ्नो नाम तुलसीराम भन्दा वारेन्ट जारी भएको थियो। पक्राउ हुने डर थियो, त्यही क्रममा प्रधानाध्यापकले उनको नाम मालेस्ताएमा राखिदिए

दाहाललाई विश्वका प्रमुख कम्युनिस्ट नेताबारे पनि  प्रध्यानाध्यापक कन्दङ्वाले जानकारी गराएर पढाए। उनको नाम पनि त्यही चर्चित नेताबाट राखेको बताए। ‘म स्कुल त भर्ना भएँ, तर कहाँ छाड्छन् पञ्चेहरुले, मालेस्ताएमा भनेकै तुलसीराम हो भनेर प्रहरीलाई कुरा लगाएछन्, स्कुलमा सधैँ मेरो लागि एउटा पुलिस आउँथ्यो तर स्कुल र गाउँलेको सर्पोट भएकाले मलाई पक्राउ गर्न चाहिँ सकेन’, दाहालले भने।

 ०२७  चैतको कुरा उनले एसएलसीका लागि फर्मसमेत भरे। सेन्टप परीक्षा पनि दिए। त्यसपछि एक दिन राति कम्युनिस्ट कार्यकर्ताको मिटिङ बस्यो। उनीहरुलाई परीक्षा दिँदा-दिदै प्रतिक्रियावादीले पक्राउ गर्छ भन्ने निष्कर्ष निक्लियाे। 

त्यही क्रममा कम्युनिस्ट विचारका विद्यार्थीहरु हरिचरण बानियाँ, रघुनाथ भट्टराई, जय उप्रेती, चन्द्र थपलिया र उनले प्रहरीसमक्ष आत्मसमर्पण गर्ने र कारागारबाट नै परीक्षा दिने निर्णय गरे। उनीहरु आत्मसमर्पण गर्न जिल्ला प्रहरी कार्यालय तेह्रथुम गए। हरिचरण बानियाँ साना भएका कारण उनलाई प्रहरीले पक्राउ गरेन। अरुलाई अदालतमा उपस्थित गराएर जेल चलान गर्‍यो। उनले जेलबाटै परीक्षा दिए।

उनीहरु जेल परेको १२ दिनपछि सूर्य कन्दङ्वा, देवी उप्रेती, पिपी सिटौलालगायत १५ जना अठराई क्षेत्रका शिक्षकलाई पनि प्रहरीले ल्यायो। उनीहरुलाई प्रहरीले १५ दिनमा छाड्यो। तर, दाहालसँगै अगाडि पक्राउ गरेका विद्यार्थीहरुलाई भने ढेड महिना राखेर छाड्यो।

तर, मालेस्ताएमालाई भने फेरि अर्को झुटो मुद्दा लगाएर बाटैमा पक्राउ गर्ने भनेको योजना साथीहरुले उनलाई सुनाए। त्यसपछि उनी धनकुटाको बाटो हुँदै भागेर झापा आए। त्यसवेलासम्म उनको एसएलसीको नतिजा आएको थियो। उनी दोस्रो श्रेणीमा पास पनि भए। झापा आएर सुरुमा त उनी लुकेरै बसे तर पछि सबैको सल्लाहमा उनले आफू सुरक्षित हुन विद्यालयमा पढाउने निधो गरे।

उनले झापाको डाँगीबारीस्थित १ नम्बर केन्द्र विद्यालयमा ९५ रुपैयाँमा पढाउँन सुरु गरे। त्यसपछि उनलाई १५ रुपैयाँ पैसा बढाएर सहप्रध्यानाध्यापक बनाएर बाह्रदशीको ४ नम्बर केन्द्रको विद्यालयमा पठायो। त्यसपछि उनलाई ०२९ को शिक्षा योजनाले स्थायी गरेर बाँहुनडाँगी पठायो। त्यसबीचमा उनका काका रामनाथ दाहालको सुखानीमा ०२९ साल फागुन २१ गते तत्कलीन पञ्चायत सरकारले हत्या गर्‍यो।

कम्युनिस्ट आन्दोलनका आफ्ना गुरु तथा उत्प्रेरक काकाको पनि हत्या भएपछि उनलाई खासै आन्दोलन गरेर हिँड्न पनि मन लागेन। उनले विद्यार्थी पढाउनतर्फ मन लगाए। तर, ०३० साउनमा दाहाल कम्युनिस्ट कार्यकर्ता भएको भन्दै तत्कालीन जिल्ला शिक्षा अधिकारीले शिक्षा मन्त्रालयमा पत्र लेखे र उनलाई भदौ १५ गते बर्खास्त गरियो। त्यसपछि उनलाई जहाँ भेट्यो त्यहीँ गोली हान्ने भन्ने सूचना आयो।  

उनी झापा बस्न सक्ने अवस्थामा रहेनन्। एक महिनासम्म त गाउँमा लुकेर बसे। त्यसपछि उनी भागेर भारतको आसाम गए। उनी भन्छन्,‘ म पनि पश्चिमतिर ( नेपालको पश्चिम क्षेत्र) तिर भागेको भए त यतिवेला देशको निकै ठूलो मान्छे बन्थेँ होला तर पूर्वतिर गएँ। त्यहाँ गएर पनि कम्युनिस्टको विचारलाई जनतामाझ  पुर्‍याइयो तर त्यहाँ गरेर के गर्नु र।’

त्यसपछि उनी ०४७ मा नेपाल फर्किए। नेपाल आएर बस्ने ठाउँ पनि थिएन। कमाइ खाने केही थिएन। आफ्नो जागिरमा पुनर्वहाली हुन धेरै प्रयास गरे तर सकेनन्। उनी भन्छन्,‘ मैले आएर धेरै प्रयास गरेँ तर पुनर्वहाली हुन सकिनँ, त्यसपछि राजनीतिक पीडित भनेर पुस्तक निक्लिएको रहेछ। त्यो किताब हेरेँ मेरो पनि नाम रहेछ।’

सहयोद्धाले गरेनन् सहयोग

०५१ मा कम्युनिस्ट आन्दोलनका दाहालका सहयोद्धा साथी केपी शार्मा ओली गृहमन्त्री भए। त्यसवेला उनले जागिरको पुनर्वहालीको मुद्धा अदालतमा पनि हालेका थिए। तर, आफ्ना सहयोद्धाका कारण उनी आफ्नो पेसामा पुनर्वहाली हुन सकेनन्। उनी भन्छन्,‘ खड्ग ओली गृहमन्त्री भएको वेलामा मैले मुद्दा हालेको थिएँ। तर, उहाँले अदालतमा फोन गरेर लामो समय ग्याप भयो भनिदे भनेछन्। म पुनर्वहाली हुन पाइनँ। अहिले सँगैका साथीहरु पेन्सन खाएर बस्छन् म चाहिँ यसरी मन्दिरमा घण्टी हल्लाएर बसेको छु।’

त्यति मात्र होइन आफ्ना सहयोद्धा ओलीले उनलाई धेरै असहयोग गरेको उनी बताउँछन्। उनी भन्छन्, ‘उहाँले मलाई त धेरै असहयोग गर्नुभयो, मेरो नाम पनि राजनीतिक पीडितमा परेकाले मैले पाउने पैसा लामो समयदेखि रोकिएको थियो। मैले ७५ हजार पैसा पाउने थिएँ। एकपटक उहाँ गृहमन्त्री भएका वेला दमक

आउनुभयो, त्यसवेला रोकिएको पैसा मगाउन भनेर म गएँ तर उहाँले गाडी भए पो टायर फेर्न चाहिन्छ तपाईलार्इ पैसा चाहिँदैन भन्नुभयो, कम्युनिस्ट विचारबाट मन्त्री भएकाले गरिबलाई पैसा चाहिँदैन धनीलाई मात्र पैसा चाहिँन्छ भनेपछि म मन खिन्न हुदै फर्किएँ।’ तर, पछि उनले आफैँ गएर ५५ हजार पैसा ल्याए। उनी भन्छन्,‘ मैले अहिले यतिभन्दा त कसले पो पत्याउँछ र अहिले सत्य बोल्ने त जमाना नै छैन। उहाँलाई अहिले सबैले देशको राम्रो नेता भनेर चिन्छन्।’

आफूहरुले सोझो तरिकाले आन्दोलन गरेकाले ठूलो पदमा नपुगेको उनी बताउँछन्। भन्छन्,‘ हामीले सोझो भएर मजदुरका निम्ति आन्दोलन गरिरह्यौँ, केही चतुर्‍याइँ गरेको भए त नेता बन्ने थियौँ’। अहिले पनि केपी ओली झापा आउँदा उनलाई बोलाउँछन्। मालेस्ताएमा भन्छन्, ‘अहिले पनि उहाँ आउँदा मलाई लिन विद्यार्थी संगठनका नेता लिन पठाउनुहुन्छ, म पनि जान्छु। उहाँको अनुहार हेरेर खिसिक्क हाँस्छु, उहाँ पनि हाँस्नुहुन्छ र उहाँको भाषण सुनेर आउँछु’
 

त्यसवेलाका क्रान्तिकारी अहिलेका पूजारी

पूर्व-पश्चिम राजमार्गको माई पुलदेखि दक्षिणमा खोलाको बगरमा केही छाप्रा घरहरु। छेउमै मन्दिर उनको पनि त्यही खोलाको किनाराको ऐलेनी जग्गामा घर। घर पनि खोलाले आधी भाग बगाएको। यही घरमा उनको २२ वर्ष बित्यो। उनले त्यही खोलाको बगरैमा रहेको आफ्नो घरको एक कोठामा मन्दिरजस्तै बनाएर भगवानका मूर्ति राखेका छन्। खोलाको बगरमा पूजा गर्न आउनेलाई टीका लगाइदिएर घण्टी बजाएर २२ वर्षदेखि उनी आफ्नो दैनिकी चलाउँदै अाएका छन्।

‘त्यसवेलाको म खरो क्रान्तिकारी अहिलेको पूजारी। थुइक्क मेरो जिन्दगी’, उनी भन्छन्, ‘ त्यसवेला त म पनि धर्मको खुब विरोध गर्थेँ। मन्दिरमा जटावाल पूजारी देख्नै हुँदैन्थ्यो। तर, अहिले त म आफैँ पूजारी बन्नपर्‍यो।’ उनी बाध्यताले गर्दा आफूले घण्टी बजाएर बस्नुपरेको बताउँछन्। उनले भने, ‘जागिरमा पनि पुनर्वहाली हुन सकिनँ, कमाइ गर्न अरु बाटो छैन, कम्युनिस्ट भनाउँदा नेताले पनि हेरेनन् अनि के गर्नु त?’
 
कम्युनिस्टको खोल ओडेर देशलाई धोका दिनेले कम्युनिस्टको नाम नलिए हुने

उनी अहिलेका कम्युनिस्ट भनाउँदा नेताले क्युनिस्टको नाम नलिए हुने बताउँछन्। कम्युनिस्टको खोल ओडेर जनता लुट्नुभन्दा कम्युनिस्टको नामै नलिनु राम्रो हुने उनी बताउँछन्। उनी भन्छन्,‘त्यतिवेला हामीले आन्दोलन गर्दा कम्युनिस्ट विचार राम्रो थियो, कम्युनिस्ट विचार त अहिले पनि राम्रो छ तर केही नेताले बिगारेका छन्। हामी विश्वका सर्वहारा एक हौँ भन्थ्यौँ तर अहिलेका कम्युनिस्टले विश्वका पुँजीवादीलाई हात लिएर गरिबलाई छाडेका छन्। यस्ताले आफू कम्युनिस्ट हो नभनिदिए हुन्थ्यो।’

उनी कम्युनिस्ट अरु नेताभन्दा पनि आफ्नै सहयोद्धालाई सम्झन्छन्। ‘अरुको त के कुरा गर्नु एमाले अध्यक्ष, मेरा सहयोद्धा साथीलेाई गृहमन्त्री भएको वेलामा  दमकमा भेट्न गएको थिएँ’, उनले भने, ‘उहाँले बेलुका गफ गर्दा गरिबलाई हेरेर के पाउनु, धनीलाई हेर्‍यो भने त सत्तामा पुगिन्छ भन्नुभएको थियो।’
 

उहाँ सक्रिय राजनीतिमा आउनु भएनः राधाकृष्ण मैनाली
पुराना कम्युनिस्ट नेता राधाकृष्ण मैनाली मालेसताएमा सक्रिय राजनीतिमा नआएकाले अवसरबाट वञ्चित भएको बताउँछन्। ०२४ देखि ०२९ मा किसान आन्दोलनमा सक्रिय सहभागिता जनाए पनि पछि हराएकाले अवसरबाट वञ्चित हुन पुगेको उनी बताउँछन्। मैनाली भन्छन्,‘उहाँ किसन आन्दोलनका सक्रिय नेता हुनुहुन्थ्यो। तर, पछि खुला राजनीतिमा आउने वेला उहाँ हराउनुभयो। ०३६ को झापा आन्दोलनमा उहाँ भारततिर जानु भएका कारण पनि यस्तो भएको हो।’  खुला राजनीतिमा  सक्रिय भएकाे भए दाहालले पनि अवसर पाउने उनी बताउँछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.