|

रुपन्देही : दोस्रो चरणमा आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि तोकिएका रुपन्देहीका २०८ मतदान स्थलमध्ये अधिकांश संवेदनशीलको सूचीमा परेका छन्। जिल्ला सुरक्षा समितिले ११७ वटा मतदान स्थललाई अति संवेदनशील र संवेदनशीलको सूचीमा राखेको छ।

सुरक्षा समितिका अनुसार ७५ मतदान स्थल अतिसंवेदनशील, ४२ मतदान स्थल संवेदनशील छन्। ९१ मतदान स्थललाई सामान्यको सूचीमा राखेको रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले बताए। 

रुपन्देहीको दक्षिण पश्चिमी, पश्चिमी र पूर्वी क्षेत्रका मतदान स्थल अति संवेदनशील र संवेदनशील स्थलका रुपमा वर्गीकरण गरिएको छ। जिल्लाका उत्तरी क्षेत्रका मतदान स्थल भने सामान्यमा परेका छन्। भारतसँग जोडिएका सबैजसो स्थल संवेदनशील क्षेत्र मानिएको छ। पश्चिम दक्षिणी मर्चवार, लुम्बिनी, सालझण्डी, धकधई, देवदह र उत्तरी क्षेत्रको केही भागलाई संवेदनशीलमा राखिएको छ।

सुरक्षा समितिले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र सिके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनले चुनाव विरोधी गतिविधि गर्नसक्ने विश्लेषण गरेको सहायक प्रमुख जिल्ला अधिकारी रेग्मीले बताए।

यस्ता समूहको गतिविधि हुनसक्ने क्षेत्रमा उच्च सुरक्षा अपनाउँदै कडा निगरानी राखिने उनले बताए। जसका लागि रुपन्देहीमा करीब १० हजार सुरक्षाकर्मी परिचालन हुनेछन्।

रुपन्देहीमा २ हजार ३ सय म्यादी प्रहरी, १ हजार २ सय नेपाल प्रहरी, १ हजार सशस्त्र प्रहरी र पाँच हजार नेपाली सेना खटिने सुरक्षा समितिले जनाएको छ। पाँचवटा निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा २ सय ८ वटा मतदानस्थल, ५ सय ९८ वटा मतदान केन्द्र रहेका छन् भने ५ लाख २२ हजार ६ सय २ मतदाता रहेका छन्।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.