|

रुपन्देही : मंसिर २१ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले मायादेवी गाउँपालिकास्थित शैक्षिक तालिम केन्द्रमा मनोनयन दर्ताको चाजोपाजो मिलाएको छ। मुख्य निर्वाचन अधिकृत नरिश्वर भण्डारीले मनोनयन दर्ताका लागि आवश्यक कर्मचारी, व्यवस्थापन, सुरक्षा व्यवस्था, इन्टरनेटको व्यवस्था, सबै क्षेत्रका लागि आवश्यक कागजात तयारीलगायतका सबै काम पूरा भएको जानकारी दिए।

बिहीबार बिहान १० बजेदेखि साँझ पाँच बजेसम्म दलहरुलाई छुट्टाछुट्टै समयमा मनोनयन दर्ताका लागि समय तोकिएको छ। भण्डारीले मनोनयन दर्तालाई भयरहित र शान्तिपूर्ण तरिकाले सम्पन्न गर्न सबै राजनीतिक दललाई आग्रह समेत गरेका छन्।

निर्वाचन अधिकृतको कार्यालयले बुधबार दिउँसो सर्वदलीय बैठक, सुरक्षा निकाय र निर्वाचनमा खटिने कर्मचारीहरुबीच छुट्टाछुट्टै छलफल गरेको छ। राजनीतिक दलहरुसँग भएको छलफलका आधारमा दलहरुलाई मनोनयन दर्ताको समय तोकिएको मुख्य निर्वाचन अधिकृत भण्डारीले बताए।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले केन्द्रीय स्तरका नेताहरुले समेत मनोनयन दर्ता गर्ने भएकाले सुरक्षा व्यवस्थालाई मजबुत बनाइएको बताए। उनले नेताहरुको सुरक्षा तथा मनोनयन दर्तालाई व्यवस्थित र शान्तिपूर्वक बनाउन विशेष सुरक्षा व्यवस्था मिलाइएको बताए।

बहालवालादेखि पूर्वमन्त्रीको उम्मेदवारी

रुपन्देहीबाट बहालवालादेखि पूर्वमन्त्रीले समेत उम्मेदवारी दिँदैछन्। स्वास्थ्य मन्त्री एवं राप्रपाका वरिष्ठ उपाध्यक्ष दीपक बोहोरा, खानेपानी तथा सरसफाइ राज्यमन्त्री एवं कांग्रेस जिल्ला सभापति अब्दुल रज्जाक, एमाले उपमहासचिव तथा पूर्व अर्थमन्त्री विष्णु पौडेल, एमालेकै उपमहासचिव घनश्याम भुसाल, पूर्वमन्त्री तथा राजपा नेता सर्वेन्द्रनाथ शुक्ल, पूर्वराज्यमन्त्री ओमप्रकाश यादव गुल्जारी र पूर्वराज्यमन्त्री भरतकुमार शाहलगायतका केन्द्रीयस्तरका नेताहरु चुनावी मैदानमा छन्।

जिल्लामा प्रतिनिधि सभाका लागि ५ र प्रदेश सभाका लागि १० निर्वाचन क्षेत्र छन्। जिल्लामा ५ लाख २२ हजार ६ सय २ जना मतदाता छन्। निर्वाचन सहज बनाउन २ सय ८ मतदान स्थलमा ५ सय ९८ मतदान केन्द्र तोकिएको छ।

प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं १ अन्तरगत ४५ मतदान स्थलमा १ सय २७ मतदान केन्द्र छन् भने १ लाख १२ हजार १ सय ३० मतदाता छन्। प्रदेश सभा निर्वाचन क्षेत्र नं १ को (१) मा २४ मतदान स्थलमा ६७ मतदान केन्द्र छन्। जहाँ ५७ हजार ४ सय २१ मतदाता छन्। त्यसैगरी निर्वाचन क्षेत्र नं १ को (२) मा २१ मतदानस्थल र ६० मतदान केन्द्र छन् भने ५४ हजार ७ सय ९ मतदाता छन्।

प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. २ मा २४ वटा मतदान स्थल र १ सय १२ मतदान केन्द्र छन् भने १ लाख ५ हजार २ सय ६ मतदाता छन्। प्रदेश सभा अन्तरगत क्षेत्र नं २ को (१) मा १० मतदानस्थल र ५४ मतदान केन्द्र छन्। यहाँ ५१ हजार ६ सय ३ मतदाता छन्।

यस्तै प्रदेश सभा निर्वाचन क्षेत्र नं २ को (२) मा १४ मतदानस्थल र ५८ मतदान केन्द्र छन्। यसमा ५३ हजार ६ सय ३ मतदाताहरु छन्। प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. ३ मा ४६ मतदान स्थलमा १ सय २४ मतदान केन्द्र छन्, भने कुल मतदाता संख्या १ लाख ९ हजार २ सय ७८ रहेका छन्।

प्रदेश सभा निर्वाचन क्षेत्र नं ३ को (१) मा २० मतदानस्थल र ६१ मतदान केन्द्र छन्। यहाँ ५५ हजार १ सय ७६ मतदाता छन्। त्यसैगरी क्षेत्र नं ३ को (२) मा २६ मतदानस्थल र ६३ मतदान केन्द्र छन् भने ५४ हजार १ सय २ मतदाता छन्। प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. ४ अन्तरगत ४८ मतदानस्थलमा १ सय ११ मतदान केन्द्र छन् भने ८९ हजार ८ सय ३५ मतदाताहरु छन्। 

प्रदेश सभा निर्वाचन क्षेत्र अन्तरगत क्षेत्र नं ४ को (१) मा २४ मतदानस्थल र ५५ मतदान केन्द्र छन् भने ४३ हजार ४ सय ६८ मतदाता छन्। क्षेत्र नं ४ को (२) मा २४ मतदानस्थल र ५६ मतदान केन्द्र छन् भने ४६ हजार ३ सय ६७ मतदाता छन्। यस्तै प्रतिनिधीसभा सदस्य निर्वाचन क्षेत्र नं. ५ अन्तरगत ४५ मतदानस्थल र १ सय २४ मतदान केन्द्र छन् भने १ लाख ६ हजार १ सय ५३ मतदाता छन्।

प्रदेश सभा निर्वाचन अन्तरगत क्षेत्र नं ५ को (१) मा २० मतादानस्थल र ६९ मतदान केन्द्र छन् भने ६१ हजार ५ सय ८३ मतदाता छन्। प्रदेश सभा ५ को (२) अन्तरगत २५ मतदानस्थल, ५५ मतदान केन्द्र र ४४ हजार ५ सय ७० मतदाता छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.