|

पर्वत : मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको लागि पर्वतमा नेपाली कांग्रेसबाट निवर्तमान सांसद अर्जुनप्रसाद जोशी र नेकपा एमाले पर्वतका अध्यक्ष पदम गिरी उम्मेदवार बनेका छन्। प्रतिनिधिसभाको लागि यी दुई नेताबीचको लडाईँलाई जिल्लाबासीले पनि निकै चासोका साथमा हेरेका छन्। संसदीय राजनीतिमा 'इन्ट्री' मार्ने दाउमा रहेका वाम गठबन्धनका उम्मेदर गिरी र संसदीय राजनीतिमा 'ह्याट्रिक' गरिसकेका कांग्रेसका जोशीबीचको चुनावी प्रतिस्पर्धाले अहिले जिल्ला तताएको छ।

चुनावमा ह्याट्रिक गर्ने सीमित नेताभित्र पर्ने जोशीलाई चुनावी रणनीतिका बलिया खेलाडीको रुपमा जिल्लाबासीले हेर्ने गरेका छन्। एमालेका गिरी पृथ्वीनारायण क्याम्पस, पोखराको स्ववियू सभापति हुँदै विद्यार्थी राजनीतिबाट अगाडि आएका हुन्। चलाखीपूर्ण र मिजासिलो राजनीतिका कारण गिरीलाई पार्टीले समेत अन्य नेतालाई पन्छाउँदै प्रतिनिधि सभाको लागि उम्मेदवार बनाएको हो। गिरीलाई पनि जिल्लाबासीले आसलाग्दो नेताका रुपमा हेर्ने गरेका छन्।

यसैगरी, प्रदेश सभाको लागि पर्वत क्षेत्र नं. १ (१) बाट नेपाली कांग्रसको तर्फबाट पूर्व जिल्ला सभापति नवराज गुरुङ र बाम गठबन्धनबाट माओवादी केन्द्रका नेत्र अधिकारी ‘हिमाल’ चुनावी मैदानमा छन्। गुरुङ संविधान सभा निर्वाचन २०७० मा क्षेत्र नं. २ बाट एमालेका विकास लम्सालसंग पराजित उम्मेदवार हुन् भने, माओवादीका पोलिटब्युरो सदस्य समेत रहेका अधिकारी संविधान सभा निर्वाचन २०७० मा क्षेत्र नं. १ मा कांग्रेसका अर्जुनप्रसाद जोशीसंग पराजित भएका थिए। जोशीले लगातार तीन पटक सम्म निर्वाचन जितेको यस क्षेत्रमा स्थानीय तहको निर्वाचनमा दुई ओटा तह नेपाली कांग्रेस र एउटा तह एमालेले जितेको थियो।

यस्तै, प्रदेश सभाको निर्वाचनको लागि बाम गठबन्धनको तर्फबाट पर्वत क्षेत्र नं. २ (२) बाट नेकपा एमाले पर्वतका पूर्व अध्यक्ष तथा निवर्तमान सांसद विकास लम्साल र नेपाली कांग्रेसको तर्फबाट पैयूँ गाउँपालिकाका राजेन्द्र प्रसाद तिवारी तिवारी भिड्दै छन्। संविधान सभा निर्वाचन २०६४ मा माओवादी र २०७० मा एमालेले जित हात पारेको यस क्षेत्रमा स्थानीय तहको निर्वाचनमा तीन स्थानीय तहमा एमाले र एक स्थानीय तहमा कांग्रेस विजयी भएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.