|

वर्तमान सत्ताको प्रमुख दल मुख मिठ्याउन मस्त थियो। नजिकै आउँदै गरेका निर्वाचनमा जात, पात, धर्म, वर्ण, गोत्र नमिलेको जस्तो देखिए पनि, तेस्रै सही, ऊसँग उठबस गरिन्छ, लामै समय सत्ताको नसामा लठ्ठ भइन्छ। 

स्थानीय निर्वाचनमा पहिलो भए पनि आगामी निर्वाचनबाट उसलाई ढोकाबाहिर राखिन्छ, भित्र खालेखाले परिकार बनाइन्छ, चाखिन्छ। के थियो पहिले, के भयो अहिले? सपना सबै उडायो हुरीले! अन्ततः सत्ताको जुवामा नारिएको तेस्रो दल आगामी निर्वाचनमा तालमेल र सके दलीय एकीकरणको गीत गाउँदै उपियाँ जस्तो फुत्त एमालेको बारीमा फड्किएपछि उसलाई भाउन्न हुनु, बर्बराहट, कुण्ठा, पीडा, आक्रोश, वेदना, छटपटाहट, चिडचिडाहट जस्ता समस्याले समात्नुलाई स्वाभाविक मान्नुपर्छ। 

विशेषतः मुख्य सत्तावाला नेताहरू आफ्नो चेतना, विवेक र बुद्धिअनुसार गालीशास्त्र वाचनमा लागेका छन्। एउटा भन्छ- यो अधिनायकवादतर्फको यात्रा हो। अर्को भन्छ- अब अधिनायवाद संभव छैन। तेस्रो पूरै जीउ लगलग कमाउँदै कराउँछ- राणाले ताछ्न नसकेको, राजाले केही लछार्न नसकेको, पञ्चायतसँग सिँगौरी खेलेको, कम्युनिष्टले रौँ हल्लाउन नसकेको अहिले नाथे यो लुरे, स्वार्थी, अनैतिक, अप्राकृतिक गठबन्धनले केही खालो सार्न सक्दैन। पानीको फोका जस्तो गठबन्धन आफैँ थला पर्छ। 

किन यत्रोविघ्न चिल्लीबिल्ली? हिले, कत्ले, झिँगे नै भए पनि एक ठाम एक वाम, एउटै कम्युनिष्ट केन्द्रको बाँसुरी बजेको आज होइन। भलै अहिले पनि उही कुरो न चलेको हो, काम कुरा सबै फत्ते नै त भएको होइन। सैद्धान्तिक र व्यावहारिक जालो तोड्नु मुखमा चिनी हालेजस्तो त होइन। विचित्र छ, समयले कसलाई कतिखेर कहाँ थचार्छ पत्तो हुँदैन। 

के थियो विगत? दुवै पार्टी सँगसँगै जन्मिएपछि मुढोले थिचिएको दुवो जस्तो वाम पार्टी मौलाउन सकेन। नेपाली कांग्रेस मलको मूलाझैँ ह्वात्तै ज्यान हाल्न पुग्यो। २००७ सालको क्रान्तिमा कम्युनिष्टको सहभागिता धानमकै शिला खोजेको जस्तो अवस्था थियो। २०१५ मा सम्पन्न निर्वाचनमा १०९ मा जम्मा चार सिटमा विजयी बनी जसोतसो लाज ढाक्न पुग्यो। त्यसपछि पञ्चायतविरुद्धको आन्दोलनमा दुवै दल आआफ्ना खेतीपातीतिर लागे। दुवै दललाई किनारामा राखेर शासन सत्ताको च्याँखे दाउमा पञ्चायत सफल भइरहेको थियो।

दुवैको घैँटामा घाम लागेपछि २०४६ मा जन्मिएको जनआन्दोलनमा पनि वाम मोर्चा नेकाभन्दा होचो नै देखियो। २०४८ को निर्वाचनमा कांग्रेस बहुमतमा थियो भने जसोतसो एमालेलाई इज्जत धान्नै गाह्रो भइरहेको थियो। सत्ता पाच्य नभएपछि २०५१ को निर्वाचन विश्वमा कम्युनिष्ट हराइरहेका बेला नेपालमा चमत्कारमा अनुवाद भयो। त्यसपछि नपत्याउनेहरू पनि पत्याउन बाध्य भए। त्यसपछि दुवै शक्ति हाराहारीमा छन्। 

लोकतन्त्र बाँच्ने केले? हिजो सिद्धान्त जीवित थियो, विचार थियो, सोहीअनुसारको व्यवहार थियो, आचरण थियो। नैतिकता थियो, इमान्दारी थियो, जवाफदेहिता थियो, सत्ता थिएन तर नेपाली कांग्रेस जल्दोबल्दो थियो। अहिले विचार, सिद्धान्त कागजमा ढुसी परेका छन्। व्यवहार, आचरण, नैतिकता, इमान्दारी आईसीयुमा छ अनि हिजोको इतिहासको टेकोले कति धान्छ? आज जम्माजम्मी सत्ता छ, जसमा पूरापूर ढुसी परेको छ।

नेपाली सेनाबाहेक कुन क्षेत्र त्यस्तो छ, जहाँ दलीय कार्यकर्ताको बिगबिगी नभएको होस्। जो इमानमा बसे, ती संस्था जसोतसो जोगिएका छन्, जो आदेशपालक बनी उभिए, त्यसलाई कब्जा नभनी के भन्ने? आईजीपी प्रकरण, न्यायाधीश नियुक्ति, प्रधानन्यायधीशमाथि महाअभियोग प्रकरण, पाइला पाइलामा पेसाभन्दा बाहिर गई गरिने दलीय बण्डा के सत्ता कब्जाको अभ्यास वा प्रयोग होइन? 

यसको अर्थ हो- आफू उभिएको जगमा धमिरोले भ्याउन थालेपछि बेलैमा त्यसको निकास खोज्नु बुद्धिमानी हुन्छ। बेइमानको रथमा चढेर इमानको शहरमा पुग्न संभव छैन। कार्पेटमुनि फोहोर लुकाएर कति दिन सुकिला भजन गाउन सकिन्छ? प्रश्न विचारणीय छ। जोसेफ सम्पिटरको मत छ– लोकतन्त्रको सफलताका लागि निम्न तत्त्वको विद्यमानता आवश्यक छः (क) उच्च गुणस्तरका राजनीतिज्ञ (ख) आफूले प्रतिस्पर्धा गर्ने ढाँचाका बारेमा राजनीतिज्ञहरूबीच सहमति (ग) तालिम प्राप्त र दक्ष तथा कर्तव्यनिष्ठ कर्मचारीतन्त्र (घ) प्रजातान्त्रिक आत्मनियन्त्रणः वैधानिक पक्रियाबाट आएको परिणामलाई स्वीकार गर्ने बानी, आलोचना र व्यवस्थाविरोधी गतिविधिहरूप्रति संयम, घुस्याहाहरूले दिएका प्रलोभनमा नपरी काम गर्न सक्ने उच्च मनोभावना र (ङ) फरक मत र आलोचना सहन सक्ने संस्कार। 

अब आफूले आफैँलाई नियालौँ, हामी कहाँ छौँ, लोकतन्त्रको नाममा हामी कस्तो खेतीपाती गरिरहेका छौँ? भन्नै पर्छ, समयको प्रवाहसँगै हामी खिइँदै गएका छौँ। मानिसभन्दा बढी जात, धर्म, भाषा, लिंग, दलीय घेरामा विभाजित बनेका छौँ। त्यसैको फेर समातेर सुविचार, सुसंस्कृति, मानवताको श्रीवृद्धिखातिर आगो सल्काउन मस्त छौँ। आआफ्ना दल छन्, नाम अलगअलग छ्न्। सतही रूपमा हेर्दा लाग्छ- दलहरूबीच ठूलै आधारभूत भिन्नता छ तर व्यवहारतः पुष्टि हुँदैन। कथनीभन्दा पनि करनीमा परिणाम हुन्छ। दलाल, नोकरशाही, पूँजीपति, समाजवाद र साम्यवादको जडौरी भिरेकाहरूबीच व्यवहारतः तात्त्विक भिन्नता छैन। प्रायः सबै नेतृत्व पंक्ति आर्थिक हैसियतमा फलिफाप अवस्थामा छन्। आचरण, व्यवहार, शैली उस्तैउस्तै नै छ। 

श्रमजीवी, निम्न, मध्यम, पूँजीपति वर्गको नेतृत्व कसको हातमा छ, व्यवहारतः छुट्याउन सक्ने ल्याकत छैन। प्रायः दलहरूमा दलभन्दा नेता, नेताभन्दा गुट, गुटभन्दा उपगुटको बोलवाला छ। राजनीति अत्यधिक आपराधीकरण भएको र महँगिएको छ। नेतृत्वमा पुगेर वा फेरो समाएर कमाउन नसक्नु अक्षमता वा नामर्दीपन बनेको स्थिति छ। लुट्नु, धुत्नु, जसरी हुन्छ कुम्ल्याउनु ध्याउन्न भएको छ। निष्ठावान, इमान्दार, सक्षम व्यक्तिको सम्बन्ध दलभित्र र बाहिर चिसिँदै गएको छ। लाग्छ, हामी दल बदलको वर्ष मनाइरहेका छौँ। एउटा दलमा आज, अर्को दलको टिकट भोलि र पर्सि कता हो! अनुमान सहज छैन।

खान्कीमा कुराकानी सजिलै मिल्छ। भागबण्डामा मुख मिल्न असहज हुँदैन। जस्तो नेतृत्व, त्यस्तै राजनीति, उस्तै कर्मचारीतन्त्र, उस्तै चौथो अंग, सुरक्षा निकाय, नागरिक समाज, जनता! प्रतिस्पर्धा देशको उन्नति र प्रगतिको काँचुली फेर्नमा होइन, जनताका कलेटी परेका ओठमा मुस्कान उमार्न होइन, उपगुट, गुट पोस्न, राज्यको ढुकुटी दोहन गर्न, राजनीतिको व्याज खान, विकृति र विसंगतिको कारखाना खोल्न र अपराधमा राजनीति र राजनीतिमा अपराधको व्यापार व्यवसाय गर्नमा केन्द्रित छ। अनि राज्यका संयन्त्रले गोरु नब्याएर के ब्याउँछन्? 

अख्तियार कि सुत्छ, कि सुतेको स्वाङ पार्छ। पत्रकारिताभित्र दलीय फल लाग्नु कुन अनौठो भयो! कर्मचारीका आआफ्ना दल वा नेता मन्दिर वा भगवान् भएपछि आशिष वा वर पाउन के नौलो भयो र! नेतृत्व पंक्ति बौद्धिक चोरी चित्रसहित फेहरिस्त बाहिर आउँदा पनि छानबिन होइन, विश्वविद्यालयको चाबी सुम्पन्छ अनि अक्सफोर्डको परिकल्पना गर्छ। लोकमान पाल्छ, सुशासन खोज्छ, न्यायको मन्दिर कार्यकर्ताले भर्छ- न्याय उम्रियोस् भन्छ। 

नागरिक राजश्व तिर्छ, उही राजश्वबाट पालिएको नेतृत्व वा कर्मचारी कर नतिर, अलिअलि मलाई बुझा, भैगो नि, जिन्दगी यस्तै हो, मिलीजुली हसुर्नुमा नै स्वाद छ। कर घोटाला, निगम घोटालामा मौनताको संस्कृति जाग्छ। सबैको हित्तचित्त मिल्छ। समावेशी विधि यहाँ लागू भएको महसुस गर्न सकिन्छ। 

अधिनायकवाद वा सत्ता कब्जा भनी अहिले चलेका वा नियोजित तवरले चलाइएका हल्ला खाँदै आएको आफ्नो भाग खोसिने वा खाने उनीहरू आफूले मुख मिठ्याउनुपर्ने अवस्था जन्मन्छ भनी बुझ्न कुनै दार्शनिक हुन आवश्यक छैन। अधिनायकवाद वा सत्ता कब्जा कि बन्दुकको नालबाट जन्मन्छ कि वर्तमान नेतृत्वको आचरण एवं कार्यबाट। पहिलो कल्पना बेकार हो। बरु कब्जा वर्तमानमा प्रयोग भइरहेको छ।

नेपाली सेनाबाहेक कुन क्षेत्र त्यस्तो छ, जहाँ दलीय कार्यकर्ताको बिगबिगी नभएको होस्। जो इमानमा बसे, ती संस्था जसोतसो जोगिएका छन्, जो आदेशपालक बनी उभिए, त्यसलाई कब्जा नभनी के भन्ने? आईजीपी प्रकरण, न्यायाधीश नियुक्ति, प्रधानन्यायधीशमाथि महाअभियोग प्रकरण, पाइला पाइलामा पेसाभन्दा बाहिर गई गरिने दलीय बण्डा के सत्ता कब्जाको अभ्यास वा प्रयोग होइन? 

आफूले गरेको त्यही काम लोकतान्त्रिक हुने अनि अर्काले गर्दा सत्ता कब्जा? जनता फकिए, लट्ठिए, पट्टिए र दुई तिहाई दिए भने के त्यो पनि सत्ता कब्जा नै हो? त्यसो भए यसअघिका निर्वाचनबाट जन्मिएका बहुमतवाला सरकार त्यही बाटोमा थिए?

कम्युनिष्ट एकताको रोदन सुनाउनु भनेको उत्तर पस्यो, अब तिमीहरू (दक्षिण र पश्चिमा) को पनि खैरियत छैन, आओ केही गर, गठबन्धन च्यातचुत पार भनी बिलौना गर्नुलाई के भनी बुझ्ने? तिमीहरू आओ र हस्तक्षेपका नंग्रा गाड भनेको न हो। 

जो आज एउटै घरको परिकल्पना साकारको बाटोमा छन्, हिजो एकै ठाउँ थिए, केके मिलेन, अलग चुह्लो बनाए, आज फेरि एउटै गरौँ भन्दै छन्। भोलि चित्त नबुझ्ला, पुनः अलग होलान्,  तिनले के बिराए? बरु आफू पनि त्यही बाटो लाग्नु उत्तम होला। मुलुकलाई बरमझियाका पेडा पसल जस्ता अधिक दल समयको माग होइन। विचार, सिद्धान्त र आस्था मिल्नेहरूले एउटै चुह्लो कायम गर्नु उत्तम हुन्छ। चाहे ती लिखितमा देब्रे, बीचका वा दाहिने दल नै किन नहुन्! भलै, अहिलेको मेलमिलाप र एकताले नागरिकले अपेक्षा गरेको फल फल्दैन किनकि वरिपरि स्वार्थको बिगबिगी छ तर आफ्नो दुनोमा बांगिने भएपछि सत्ता कब्जाको कथा त्यति रुचिकर र यथार्थ हुँदैन। 

समग्रमा, लोकतन्त्र भनेको सही विचार हो, सिद्धान्त हो, व्यवहार हो, आचरण हो, नैतिकता हो, इमान हो, जमान हो, असल पद्धति हो, प्रणाली हो, परिपाटी हो, त्यसलाई आत्मसात गर्न सक्ने नेतृत्व हो। लोकतन्त्रको जामामा जबसम्म कानुनी शासन, जवाफदेहिता, सुशासन, पारदर्शिता स्यालको सिङ हुन्छ, हुने र भइरहने यस्तै हो। अतः अहिलेको समयको प्रवाहलाई हेर्दा सत्ता कब्जा वा अधिनायकवाद अरूबीचको एकताभन्दा आफ्नै आचरण र व्यवहारबाट जन्मन्छ। जो अहिले अघोषित रूपमा छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.