|

काठमाडौं : अंग्रेजी भाषाको त्रैमासिक पत्रिका ‘हिमाल साउथ एसिएन’ को प्रकाशन बन्द हुने भएको छ। पत्रिकाको प्रकाशक संस्थाले मंगलबार अनलाइन संस्करणमा सूचना प्रकाशित गरी ‘नेपाल सरकारका सम्बन्धित नियमन निकायहरुको असहयोगको कारण प्रकाशन स्थगन गरिएको’ जनाएको छ। पत्रिकाको प्रकाशक गैरसरकारी संस्था द साउथ एसिया ट्रष्टले २०७३ मंसिरमा प्रकाशन स्थगन गर्ने उल्लेख गरेको छ।

‘माथिको दबाव’

सूचनामा ‘सेन्सरसीप या अन्य खालका हस्तक्षेपबाट नभई ब्यूरोक्रेसीको विभिन्न अंगमार्फत दबाव दिई पत्रिका बन्द गराइएको’ दावी गरिएको छ।

गैरसरकारी संस्था द साउथ एसिया ट्रष्टले प्रकाशन गर्ने ‘हिमाल साउथ एसिएन’ त्रैमासिक पत्रिकाले दक्षिण एसियाका साझा मुद्दाबारेका सामग्री प्रकाशित गर्छ। ट्रष्टका अध्यक्ष कनकमणि दीक्षित हुन्। दीक्षित पत्रिकाका संस्थापक सम्पादक समेत हुन्। ‘हिमाल साउथ एसियन’ पत्रिकाको प्रकाशन सन् १९८७ देखि सुरु भएको हो। हाल पत्रिकाको सम्पादक भारतीय पत्रकार अनोहिता मोजुमदार छन्। मंगलबार प्रकाशित सूचनामा द साउथ एसिया ट्रष्टको कार्यकारी समितिको तर्फबाट शमिक मिश्रले हस्ताक्षर गरेका छन्।

पत्रिकाको प्रकाशक द साउथ एशिया ट्रष्टले दातृ संस्थाहरुको अनुदानबाट पत्रिका प्रकाशन गरिरहेको थियो। ‘विभिन्न नियमन निकायका पदाधिकारीले ट्रष्टको क्रियाकलापमा कुनै समस्या नरहेको तर ‘माथिको दबाव’ का कारण आफू निरीह भएको भन्दै आएको’ दावी ट्रष्टको छ।

दातृ निकायबाट स्वीकृत अनुदान ७ महिनाभन्दा बढी समयदेखि प्रयोग गर्न स्वीकृति नदिइएको आरोप ट्रष्टले लगाएको छ। यस्तै पत्रिकामा काम गर्न गैर–नेपाली पत्रकारहरुलाई श्रम स्वीकृति नदिइएको उसको दावी छ।

अनुदान स्वीकृत नहुँदा ‘मुलुक बाहिरका लेखक/स्तम्भकारहरुको पारिश्रमिक पठाउन अस्वाभाविक ढिलाइ हुन थालेको’ पनि पत्रिकाले जनाएको छ।

‘दीक्षितमाथि प्रहार’

सूचनामा ‘स्थितिलाई सम्हाल्न सकिनेभन्दा बाहिर पुर्‍याइएपछि पत्रिका स्थगनको निर्णय लिइएको’ जनाइएको छ। ‘२०७१ बैशाखमा पत्रिकामाथि व्यवस्थापिका संसदमा दोषारोपण हुँदा र गत एक वर्षयता पत्रिकाका संस्थापक सम्पादक एवं ट्रष्टका अध्यक्ष कनकमणि दीक्षितमाथि प्रहार हुँदै गर्दा पनि पत्रिका प्रकाशनमा आँच आउन दिइएन। तर स्थितिलाई सम्हाल्न सकिनेभन्दा बाहिर पुर्‍याइएपछि पत्रिका स्थगनको निर्णय लिइयो’, सूचनामा उल्लेख छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दीक्षितलाई ‘गैरकानूनी सम्पत्ति आर्जन गरेको’ आरोपमा अनुसन्धान गरिरहेको छ। साझा यातायातका अध्यक्ष समेत रहेका दीक्षितलाई जग्गा हडपेको भूमिसुधार कार्यालयले र एक अर्को विषयमा राजस्व अनुसन्धान विभागले अनुसन्धान गरिरहेका छन्। दीक्षितले भने आफूमाथि भैरहेका अनुसन्धान पूर्वाग्रही भएको दावी गर्दै आएका छन्।  

दीक्षित अर्को म्यागेजिन ‘हिमालखबर पत्रिका’ को प्रकाशक हिमाल मिडियाका सञ्चालकसमेत हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.