|

काठमाडौं : १३ वर्षअघि विद्यार्थी नेता गुरुराज घिमिरे प्रतिगमनविरुद्ध आन्दोलनको नेतृत्व गरिरहँदा प्रधानमन्त्रीको कुर्सीमा तत्कालिन नेपाली कांग्रेस प्रजातान्त्रिकका सभापति शेरबहादुर देउवा थिए।

प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै तत्कालिन नेपाली कांग्रेसले आयोजना गरेको आन्दोलनको मोर्चामा रहेका घिमिरेले तत्कालिन प्रधानमन्त्री देउवाको चर्को विरोध गर्न समेत पछि परेनन्। १२ बर्षपछि तिनै देउवा नेपाली कांग्रेसको सभापति र पार्टीको तर्फबाट प्रधानमन्त्री भए र नेविसंघ तत्कालिन अध्यक्ष घिमिरे एउटै पार्टीमा केन्द्रीय सदस्यको हैसियतमा रहेका छन्।

घिमिरेले बिहीबार पनि आफ्नै पार्टी सभापतिको हैसियतमा रहेका देउवाको कार्यशैलीको चर्को बिरोध गरे। सामाजिक सञ्जाल फेसबुकमार्फत घिमिरेले भनेका छन् ‘संसदीय समितिले टिकट वितरणमा गरेको विभेद र अन्याय परम्परागत रुपमा राज्यले गरेको विभेद र अन्याय भन्दा जघन्य छ। यस्तो निर्णय मान्न हामी अभिशप्त छैनौं।' 

प्रतिनिधिसभा र प्रदेशसभा गरी ४९५ जना कांग्रेसका नेता/कार्यकर्ताले बिहीबार उम्मेदवारी दर्ता गरे, तर नेपाली कांग्रेसका निर्वाचित केन्द्रीय सदस्य गुरुराज घिमिरे चार सय ९५ जनामा अटाएनन्। त्यसको प्रतिक्रियास्वरुप घिमिरेले यस्तो प्रतिक्रिया जनाएका हुन्।

पार्टी सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले घिमिरे जस्ता १० भन्दा बढी केन्द्रीय सदस्य र प्रभावशाली नेतालाई उम्मेदवार हुनबाट वञ्चित गरेका छन्। यसरी प्रत्यक्ष र समानुपातिकतर्फ समेत उम्मेदवार बन्न नसक्नेहरुमा निर्वाचित केन्द्रीय सदस्यहरु धनराज गुरुङ, गुरुराज घिमिरे, बद्री पाण्डे, सुरेन्द्र पाण्डे, सरिता प्रसाईँ आदि छन्। 

पार्टी विधानमा पदाधिकारीबाहेक आठ जना केन्द्रीय सदस्यलाई कार्य समितिले संसदीय बोर्डमा चयन गर्ने व्यवस्था छ। तर विधान विपरीत देउवाले संसदीय वोर्डमा आफूखुसी १९ जनालाई चयन गरी टिकट वितरण गरेका छन्। सभापति देउवाले विधानलाई समेत संशोधन नगरी, केन्द्रीय कार्य समितिमा छलफल समेत नगरी प्रदेश सभा र प्रतिनिधिसभाको समानुपातिक र प्रत्यक्षतर्फको उम्मेदवारीको टिकट वितरण गरेका हुन्। 

यी हुन टिकटबाट बञ्चित प्रभावशाली नेता

पहिलो चरणमा ३२ जिल्लामा हुने निर्वाचनमा कांग्रेसले केन्द्रीय सदस्य तथा यूवा नेता बद्री पाण्डे, सुरेन्द्र पाण्डे, रत्न शेरचन, पूर्व स्वास्थ्य राज्य मन्त्री तथा तीन पटक जिल्ला सभापति भएका तारामान गुरुङ, पूर्वसांसद ललितजंग शाही, पूर्व सांसद रिता शाहीलाई प्रतिनिधिसभा र प्रदेश सभा कतैबाट पनि उम्मेदवार बनाइएको छैन। शाही जुम्लाबाट यसअघिको संविधानसभा निर्वाचनमा बिजयी सांसद हुन भने रिता शाही समानुपातिक सांसद थिइन्।

बद्री पाण्डे, सुरेन्द्र पाण्डे र शेरचन नेपाली कांग्रेसमा दुई पटक केन्द्रीय सदस्यमा निर्वाचित युवा नेता हुन्। संसदीय वोर्डका सदस्य समेत हरेका खुमबहादुर खड्काले कानुन बमोजिम उम्मेदवारी दिन नमिल्ने भएपछि कतै पनि उम्मेदवार भएनन्।

संविधानसभाका दुवै निर्वाचनमा झापा क्षेत्र नम्बर पाँचबाट विजयी भएका कांग्रेस केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीलाई पनि टिकटबाट बञ्चित गरिएको छ।

प्रतिनिधिसभा र प्रदेश सभाको दोस्रो चरणको निर्वाचन तथा समानुपातिकतर्फ कतै पनि उम्मेदवार हुन नपाएका अन्य नेतामा पूर्व केन्द्रीय सदस्य तथा पूर्व सांसद लीला कोइराला, पूर्व केन्द्रीय सदस्य मनमोहन भट्टराई, पूर्व केन्द्रीय सदस्य नरेन्द्रविक्रम नेम्वाङ रहेका छन्।

निवर्तमान सांसद कविताकुमारी सरदार, मिनाक्षी झा, अशोक कोइराला, गणेशप्रसाद विमली, अनिता देवकोटा, मिठू मल्ल, मुक्ताकुमारी यादव, कौसर साह, रश्मी ठाकुर, मोहम्दी सिद्धिकी, उषा गुरुङ, अञ्जना ताम्ली, यमुनादेवी श्रेष्ठ, सुवर्ण जुहार्चनलाई समेत कतै उम्मेदवार बनाइएको छैन।

निवर्तमान सांसद ओमदेवी मल्ल जोशी, भोटनीदेवी खवास, मोहनकुमार राई, खड्गबहादुर बस्याल, अमृतलाल राजवंशी, सूर्यदेव दास उराउ, राधेश्याम अधिकारी अञ्जनी श्रेष्ठ, अब्दुल हमिद, कल्पना सोप, मैकुलाल बाल्मीकी, मोख्तर अहमद, शान्तिदेवी चौधरी, विष्णुमाया परियार पनि टिकटबाट बञ्चित भए।

समानुपातिकको बन्दसूचीमा पर्ने यी भाग्यमानी

२०६४ सालको पहिलो संविधानसभा निर्वाचनदेखि समानुपातिकको नाममा विभिन्न जात र वर्गको आरक्षणमार्फत नेपाली कांग्रेसमा सांसद हुन पाउने केही भाग्यमानी पनि छन्। 

पार्टी सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल र संसदीय वोर्डका सदस्यको सिफारिसमा पुन समानुपातिकबाटै सांसद बन्न खोज्नेहरु धेरै छन्। पार्टीका पूर्वमहामन्त्री केवी गुरुङ, पूर्वकोषाध्यक्ष चित्रलेखा यादव, पूर्व उपप्रधानमन्त्री सुजाता कोइराला, केन्द्रीय सदस्य सुजाता परियार तथा पूर्वसांसद मधु शाही ठकुरी, महेन्द्र लिम्बु, संसदीय वोर्डका सदस्य विमलेन्द्र निधिकी जेठीसासु दीपशीखा शर्मा ढकाल, वोर्डका अर्का सदस्य खुमबहादुर खड्काकी पत्नी शीला शर्मा खड्का समानुपातिकतर्फ बन्दसूचीमा छन्। 

यसअघिको संविधानसभामा समानुपातिकबाटै सांसद भएकी संगीता मण्डल धानुक, सरवत आरा खातुन हलुवाइनी, झुलबहादुर आले, रामचन्द्र पोखरेल, सूर्यमान गुरुङ, नरभान कामी, लक्ष्मी भण्डारी, ओमप्रकाश शर्मा, मीना सुब्बा, आशा विकको नाम प्रतिनिधिसभातर्फ समानुपातिकको बन्द सूचीमा परेको छ।

पूर्व सांसद ठकुरीलाई प्रदेश सभा २ को, पूर्वसांसद गीता वाग्ले प्रदेश सभा ३ को, झुलबहादुर आले, कृष्णकुमारी परियार प्रदेश नम्वर ४ बाट समानुपातिकमा पुन परेका छन्। केन्द्रीय सदस्य बहादुर सिंह लामा र निवर्तमान सांसद ज्ञानकुमारी छन्त्याल यसअघि प्रत्यक्षबाट निर्वाचन जिते पनि यसपटक समानुपातिकमा नाम राखिएको छ।

यसअघि संविधानसभामा चुनाव लडेर पराजित भएका पुष्पा भुसाल, किशोरसिंह राठौर, मीना पाण्डे, पहिलो संविधासभाकी समानुपातिक सांसद लक्ष्मी परियार, महिला संघ अध्यक्ष उमा रेग्मी, संसदीय वोर्डका सदस्य बालकृष्ण खाँडकी पत्नी मञ्जु खाँडको नाम समानुपातिकतर्फ बन्दसूचीमा सिफारिस गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.