|

  • रमेश तिमल्सिना-

रौतहटः आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा रौतहटमा त्रिपक्षीय भिडन्त हुने निश्चित भएको छ। 

बिहीबार उम्मेदवारी दर्ता गराउन आएकाको जनलहर हेर्ने हो भने रौतहटमा वाम गठबन्धन, नेपाली कांग्रेस र राजपाबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ।

रवटा क्षेत्र रहेको रौतहटमा सम्पूर्ण उम्मेदवारहरू आआफ्ना निर्वाचन अधिकृतको कार्यालयमा गई उम्मेदवारी दर्ता गराएका छन्। 

वाम गठबन्धनबाट रौतहट क्षेत्र नं.- १ को प्रतिनिधिसभाको सदस्यका लागि नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व ऊर्जा राज्यमन्त्री सत्यनारायण भगतले उम्मेदवारी दर्ता गराएका छन् भने क्षेत्र नं.- २ का लागि एमालेको तर्फबाट पूर्व स्वास्थ्य राज्यमन्त्री मुस्ताक राजाले उम्मेदवारी दर्ता गराएका छन्। उनी यसअघि फोरम लोकतान्त्रिकबाट सोही क्षेत्रबाट आफ्नै मामा नेपाली कांग्रेसका उम्मेदवार आफताब आलमलाई हराएर सांसद भएका थिए। 

उनी केही दिन अगाडि मात्रै उनी एमालेमा प्रवेश गरेका हुन्। क्षेत्र नं.- ३ का लागि नेकपा माओवादी केन्द्रका प्रदेश नं.- २ का संयोजक तथा विना विभागीयमन्त्री प्रभु साहले उम्मेदवारी दिएका छन। त्यस्तै, क्षेत्र नं.- ४ बाट भने नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पूर्व स्वास्थ्य राज्यमन्त्री डा. वंशिधर मिश्रले उम्मेदवारी दर्ता गराएका छन्।

यसैगरी नेपाली कांग्रेसका तर्फबाट क्षेत्र नंं.- १ को प्रतिनिधिसभा सदस्यका लागि जिल्ला सभापति कृष्णा यादव, क्षेत्र नं.- २ मा पूर्व मन्त्री अफताब आलम, क्षेत्र नं.- ३ मा सुनिलकुमार यादव (जितेन्द्र) र क्षेत्र नं.- ४ मा देवप्रसाद तिमल्सिनाले उम्मेदवारी दर्ता गराएका छन्। 

यस्तै, राजपाबाट क्षेत्र नं.- १ मा अनिल झा, क्षेत्र नं.- २ मा किरण साह, क्षेत्र नं.- ३ मा ओमप्रकाश जयसवाल र क्षेत्र नं.- ४ मा कन्थमणि जयसवालले उम्मेदवारी दर्ता गराएका छन्।

राजपाविरुद्ध पूर्व सांसद सिंहको वागी उम्मेदवारी
रौतहट क्षेत्र नं.- १ प्रतिनिधिसभाको लागि राजपाबाट उम्मेदवारी दर्ता गराएका पूर्व मन्त्री अनिल झाविरुद्ध पूर्व सांसद बबन सिंहले वागी उम्मेदवारी दर्ता गराएका छन्। २०६४ सालमा भूमिगत रूपमा सो क्षेत्रबाट निर्वाचित सिंहलाई राजपा र संघीय समाजवादी फोरमको गठबन्धनले टिकट नदिएपछि उनले स्वतन्त्रबाट उमेदवारी दर्ता गराएका हुन्। सिंहले २०६४ सालको संविधानसभाको निर्वाचनमा पनि स्वतन्त्रबाटै आफन्तमार्फत उम्मेदवारी दर्ता गरी विजयी भएका थिए।

सिंह निर्वाचन सकिएपछि संविधानसभाको बैठक हलमै सार्वजनिक रूपमा देखापरेका थिए। संघीय समाजवादी फोरमका केन्द्रीय सदस्यसमेत रहेका सिंहले जनताको आग्रहअनुसार नै आफूले उम्मेदवारी दिएको बताएका छन्। राजपाविरुद्ध नै आफ्नो उम्मेदवारी भएको उनले प्रष्ट पारे। राजपा मधेसका दलालहरूको पार्टी भएको आरोप लगाउँदै उनले आफ्नो उम्मेदवारी अनिवार्य भएको प्रतिक्रिया दिए। ‘जनताको सल्लाहबाट नै मेरो उम्मेदवारी आएको हुँदा मेरो जीत सुनिश्चित छ’, सिंहले बताए।

पूर्व सांसद पटेलविरुद्ध धामीको वागी उम्मेदवारी दर्ता
२०६४ सालको  संविधानसभाको निर्वाचनमा माधव नेपाललाई पराजित गरी सांसद बनेका देवेन्द्र पटेलविरुद्ध गठबन्धनकै राजु धामीले उम्मेदवारी दर्ता गराएका छन्। वाम गठबन्धनले रौतहट क्षेत्र नं.- ४ को प्रदेश ‘क’मा पटेललाई उम्मेदवार बनाएपछि माओवादी केन्द्रका चन्द्रपुर नगर कमिटी संयोजक धामीले प्रदेशसभाको सदस्यका लागि उम्मेदवारी दर्ता गराएका हुन्।

पहिले प्रदेशसभाको सदस्यका लागि आफूलाई पार्टीले टिकट दिने भने पनि पछि आएर धोका दिएका कारण स्वतन्त्रबाट आफूले उम्मेदवारी दर्ता गराएको धामीले बताए। चन्द्रपुर नगर प्रमुखको उम्मेदवारका लागि चर्चामा आएका धामीले प्रदेशमा टिकट नदिँदा आफूलाई पार्टीले अन्याय गरेको गुनासो गरे। 

वाम गठबन्धनबाट क्षेत्र नं.- ४ का लागि प्रतिनिधिसभाकोे उम्मेदवारमा नेकपा एमालेका डा. वंशिधर मिश्र, प्रदेशसभाको लागि ‘क’बाट देवेन्द्र पटेल र ‘ख’बाट नागेन्द्र यादवले उम्मेदवारी दर्ता गराएका छन्। 

यस क्षेत्रमा नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभाको सदस्यका लागि देवप्रसाद तिमल्सिनाले उम्मेदवारी दर्ता गराएका छन् भने प्रदेशसभाका लागि ‘क’बाट धनलाल थोकर र ‘ख’बाट रामज्ञा यादवले उम्मेदवारी दर्ता गराएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.