|

विराटनगरः प्रतिनिधिसभामा छ र प्रदेशसभामा १२ जना निर्वाचित हुने मोरङ जिल्लामा प्रतिनिधिसभाका लागि ६७ जना तथा  प्रदेशमा १२६ जनाले उम्मेदवारी दर्ता गरेका छन्। 

छवटा निर्वाचन क्षेत्र रहेको यस जिल्लामा उम्मेदवारहरूले निर्वाचन कार्यालयमा उल्लासमय रूपमा  बिहीबार उम्मेदवारी दर्ता गराएका हुन्। प्रतिनिधिसभाका लागि सबैभन्दा बढी क्षेत्र नम्बर– ३ मा उम्मेदवारी दर्ता भएको छ। 

१ नम्बर निर्वाचन क्षेत्रमा प्रतिनिधिसभाको लागि ११ जनाले उम्मेदवारी दिएका छन्। त्यस्तै प्रदेशतर्फ ‘क’मा ११ र ‘ख’मा १२ जनाले, निर्वाचन क्षेत्र नम्बर– २ को प्रतिनिधिसभामा १२ जनाले उम्मेदवारी दर्ता गराएका छन्। प्रदेशतर्फको ‘क’मा ११ र ‘ख’मा नौ जनाले उम्मेदवारी दर्ता गराएका छन्। 

त्यसैगरी क्षेत्र नम्बर– ३ मा प्रतिनिधिसभामा १५ जनाले उम्मेदवारी दर्ता गराएका छन् भने प्रदेशतर्फको ‘क’मा नौ र ‘ख’मा ११ जनाले उम्मेदवारी दर्ता गराएका छन्। 

क्षेत्र नम्बर– ४ मा प्रतिनिधिसभामा ११ जनाले उम्मेदवारी दर्ता गराएका छन् भने प्रदेशतर्फको ‘क’मा १३ जना र ‘ख’मा नौ जनाले उम्मेदवारी दर्ता गराएका छन्। 
त्यस्तै, प्रदेश नम्बर– ५ मा प्रतिनिधिसभातर्फ सात जनाले उम्मेदवारी दर्ता गराएका छन् भने प्रदेशतर्फको ‘क’मा छ र ‘ख’मा १० जनाले उम्मेदवारी दर्ता गराएका छन्। 

६ नम्बर निर्वाचन क्षेत्रमा प्रतिनिधिसभातर्फ ११ जनाले उम्मेदवारी दर्ता गराएका छन् भने प्रदेशतर्फको ‘क’मा १४ जना र ‘ख’मा ११ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन कार्यालयका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले जानकारी दिए। 

प्रतिनिधिसभा र प्रदेशसभाको मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचनका लागि नेपाली कांग्रेसबाट मोरङ क्षेत्र नम्बर– १ मा डिकबहादुर लिम्बू, २ बाट डा. मिनेन्द्र रिजाल, ३ बाट सुनिल शर्मा, ४ बाट महेश आचार्य, ५ बाट अमृत अर्याल र ६ बाट डा. शेखर कोइरालाले उम्मेदवारी दर्ता गराएका छन्। 

यस्तै, वाम गठबन्धनबाट क्षेत्र नं.– १ मा घनश्याम खतिवडा, २ मा ऋषिकेश पोखरेल, ३ मा भानुभक्त ढकाल, ४ मा अमनलाल मोदी, ५ मा शिवकुमार मण्डल र ६ मा लालबाबु पण्डितले उम्मेदवारी दर्ता गरेका छन्।

प्रदेशसभातर्फ वाम गठबन्धनबाट क्षेत्र नं.– १ को ‘क’मा कुलप्रसाद साँबा र ‘ख’मा उपेन्द्र घिमिरे, क्षेत्र नं.– २ को ‘क’मा गणेश उप्रेती र ‘ख’मा लीलाबल्लभ अधिकारी, क्षेत्र नं.– ३ को ‘क’मा गीता तिम्सिना र ‘ख’मा राजकुमार ओझा, क्षेत्र नं.– ४ को ‘क’मा विजय विश्वास र ‘ख’मा जीवन घिमिरे, क्षेत्र नं.– ५ को ‘क’मा ज्ञानेश्वर राजवंशी, क्षेत्र नं.– ६ को ‘क’मा जीवन आचार्य र ‘ख’मा रमेश पोखरेलले उम्मेदवारी दर्ता गरेका छन्।

उता, नेपाली कांग्रेसबाट क्षेत्र नं.– १ को ‘क’मा ललित अधिकारी र इश्वरी कोइराला, क्षेत्र नं.– ३ को ‘क’मा सूर्यराज राई र ‘ख’मा ललितबहादुर श्रेष्ठ, क्षेत्र नं.– ४ को ‘क’मा भक्तिनाथ माझी र ‘ख’मा विश्वनाथ रिजाल, क्षेत्र नं.– ५ को ‘क’मा सुकदेवप्रसाद मण्डल र राजेशकुमार गुप्ता, क्षेत्र नं.– ६ को ‘क’मा चुमनारायण तबदार र ‘ख’मा केदार कार्कीले उम्मेदवारी दर्ता गरेका छन्। 

मोरङमा प्रतिनिधिसभा र प्रदेशसभाको लागि छ लाख ४४ हजार ७०२ जनाले मतदान गर्ने क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरले जानकारी दिएको छ। कार्यालयका अनुसार ३०० मतदान स्थलमा ७०५ मतदान केन्द्रको व्यवस्था गरिएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.