|

धनकुटा : विगतका सबै स्थानीय र धेरै संसदीय निर्वाचनमा वर्चस्व राख्दै आएको कम्युनिष्ट (वाम गठबन्धन) यो पटक पनि नतिजा आफ्नो पक्षमा पार्ने दाउमा छ। राप्रपा प्रजातान्त्रिक, कांग्रेस र संघीय समाजवादी फोरमको लोकतान्त्रिक गठबन्धन पनि एमाले–माओवादीको गठबन्धन तोडेर विजयको झण्डा फहराउने कसरतमा छ।

पहिले दुईवटा निर्वाचन क्षेत्र रहेको धनकुटामा अहिले प्रतिनिधिसभाको एक र प्रदेशसभाको दुई निर्वाचन क्षेत्र कायम भएको छ। धनकुटामा चुनावी रौनक दिन प्रतिदिन बढन थालेको छ। यहाँ लोकतान्त्रिक र वाम गठबन्धनबीच तीब्र प्रतिस्पर्धा हुने भएको छ। वाम गठबन्धन धनकुटा आफ्नो किल्ला ठान्छ भने राप्रपा प्रजातान्त्रिक, कांग्रेस र संघीय समाजवादी फोरम पनि धनकुटा आधार क्षेत्र भएको दाबी गर्छन्। 

तर, विगतका धेरै निर्वाचनमा वामपन्थीले नै परिणाम आफ्नो पोल्टामा पारेको र अहिले गठबन्धन बनेकाले जीत आफ्नै सुनिश्चित रहेकोमा एमाले र माओवादी नेता–कार्यकर्ता ढुक्क छन्। राजनीतिक विश्लेषक ठाकुर बराल पनि परिणाम कम्युनिष्टको पोल्टामै जाने अनुमान गर्छन्। ‘एमाले र माओवादीलगायतको गठबन्धनले नतिजा कम्युनिष्टकै पोल्टामा पर्ने लगभग पक्काजस्तै छ’, उनी भन्छन्, ‘स्थानीय निर्वाचनको परिणामले पनि प्रतितिनधिसभा र प्रदेशसभामा वामशक्तिको विजयको संकेत गर्छ।’ 

स्थानीय तह निर्वाचनमा सात ओटा स्थानीय तह रहेको धनकुटामा एमालेले सबै तहमा प्रमुख र उपप्रमुख जितेर ‘क्लिन स्विप’ गरेको थियो। वडातर्फको नतिजा हेर्ने हो भने पनि एमाले धेरैले अगाडि आएको थियो। ६० वटा वडा रहेको धनकुटामा ४९ वटामा एमालेको प्यानल, ४ वटामा कांग्रेसको प्यानल र एउटा–एउटामा माओवादी केन्द्र र संघीय समाजवादी फोरमका प्यानल विजयी भएका छन्। बाँकी ११ वडामध्ये कांग्रेस ५ र माओवादी केन्द्रका ४ र संघीय समाजवादी फोरम र नयाँ शक्ति १–१ वडामा मात्रै विजयी भएका छन्।

दोस्रो चरणमा आगामी मंसिर २१ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रतिनिधिसभातर्फ राप्रपा प्रजातान्त्रिक, कांग्रेस र संघीय समाजवादी फोरमको लोकतान्त्रिक गठबन्धनले उद्योगमन्त्री तथा राप्रपा प्रजातान्त्रिकका महामन्त्री सुनिलबहादुर थापा र एमाले–माओवादीको वाम गठबन्धनबाट एमालेका जिल्ला अध्यक्ष राजेन्द्र राई प्रतिस्पर्धामा उत्रिएका छन्।

स्थानीय तहको निर्वाचनमा अध्यक्ष वा प्रमुखलाई मात्र पाएको मत हेर्ने हो भने एमालेले जिल्लाभर २९ हजार ३ सय ९८ मत पाएको थियो भने माओवादी केन्द्रले १० हजार २९ मत पाएको थियो। त्यस्तै एउटा स्थानीय तहमा राप्रपा र दुईवटामा संघीय समाजवादी फोरमसँग चुनावी तालमेल गरेको कांग्रेसले १७ हजार ९ सय ५८ मत ल्याएको थियो।

लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बनेका थापा र वाम गठबन्धनबाट उम्मेदवार बनेका राईको घर पाख्रिबास नगरपालिका नै हो। स्थानीय तहको निर्वाचनमा पाख्रिबास नगरपालिकामा एमालेले वडासम्म पूरै प्यानल नै जितेको थियो।

प्रदेशका दुई क्षेत्र मध्ये ‘क’ मा वाम गठबन्धनका तर्फबाट एमालेका उपसचिव निरन राई र लोकतान्त्रिक गठबन्धनबाट काङ्ग्रेसका पूर्व जिल्लासभापति तथा पूर्वसांसद मनोहर नारायण श्रेष्ठ आमनेसामने भएका छन् भने क्षेत्र ‘ख’ मा बाम गठबन्धनबाट एमाले प्रदेश कमिटी सल्लाहकार सदस्य इन्द्रमणि पराजुली र लोकतान्त्रिक गठबन्धनबाट संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य अर्जुन थापा प्रतिस्पर्धामा छन्।

स्थानीय तहको मतलाई हेर्दा एमाले–माओवादीको जोड्दा ३९  हजार ४ सय २७ पुग्छ, भने राप्रपा प्रजातान्त्रिक, कांग्रेस र संघीय समाजवादी फोरमको करिब १९ हजार मत मात्रै देखिन्छ। यसलाई सिधा हेर्दा वाम गठबन्धनको मत २० हजार बढी मत देखिन्छ तर, स्थानीय तहकै मत नै यो निर्वाचनमा निर्णायक नहुने विश्लेषक बताउँछन्।

हुन त धनकुटाको चुनावी माहोल संधै एकै किसिमको रहेको पनि पाइँदैन। २०५४ को स्थानीय निकायको निर्वाचनमा पनि धनकुटामा राप्रपा र कांग्रेसको नतिजा गत असारमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनको जस्तै धेरै जसो ठाउँमा शून्य नै भएको थियो। तर, २०५६ को संसदीय निर्वाचनमा तत्कालीन राप्रपाबाट पूर्वप्रधानमन्त्री स्वर्गीय सूर्यबहादुर थापा अत्यधिक मतले विजयी भएका थिए।

२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा माओवादी दुई वटै निर्वाचन क्षेत्र जितेको थियो। सो निर्वाचनमा सूर्यबहादुर थापा अत्याधिक मतले पराजित पनि भएका थिए। त्यस्तै २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा क्षेत्र १ मा एमाले र क्षेत्र २ मा राप्रपा विजयी भएको थियो।

२०७० सालमा भएको संविधानसभाको दोस्रो निर्वाचनमा मन्त्री थापा १० हजार ९३ मत ल्याएर धनकुटा क्षेत्र २ बाट विजयी भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका राजेन्द्र राईले ९ हजार ६ सय ३७ मत पाउँदा तत्कालीन माओवादीका हरिराज खेवाले ४ हजार २ सय २५ मत ल्याएका थिए। काङ्ग्रेसका आनन्दसन्तोषी राईले २ हजार ४ सय २४ र संघीय समाजवादी फोरमका राजकुमार राईले ७ सय ४२ मत पाएका थिए। 

त्यतिबेला अहिलेको वाम गठबन्धन एमाले र माओवादीको मत जोड्दा र अहिलेको लोकतान्त्रिक गठबन्धन राप्रपा, कांग्रेस र संघीय समाजवादी फोरमको पनि मत जोड्दा लोकतान्त्रिक गठबन्धन धनकुटा क्षेत्र २ मा ५ सय ३८ मतले पछाडि परेको थियो भने जिल्लाभरिमा त लोकतान्त्रिक गठबन्धन वाम गठबन्धन भन्दा एक हजार नौ सय ६९ मतले पछाडि परेको थियो। त्यतिबेला नै कमजोर रहेको हालको लोकतान्त्रिक गठबन्धन त्यसको चार वर्षपछिको स्थानीय तह निर्वाचनमा झनै कमजोर देखिएको हो।

यता राजनीति दुई गठबन्धनमा समेटिएर देशले स्थायी सरकार पाउन सके विकास निर्माण र समृद्धिका लागि सकारात्मक सहयोग पुग्ने अपेक्षा पनि यहाँका सर्वसाधारणको छ। दलहरुले चुनाव प्रचार थालिसकेका छन्। तर, पछिल्ला निर्वाचन भड्किलो र खर्चिलो बनेको पनि गुनासा आएका छन्।

आफ्नो पक्षमा मत तान्न दलहरुले मतदातालाई भोजभतेर चलाउनेदेखि पूरा गर्न नसकिने आश्वासनका पुलिन्दा बाँड्न थालेका छन्। तर, मुख्य निर्वाचन अधिकृत विनोदकुमार पोख्रेल भने आचारसंहिताविपरीत कार्य गर्नेलाई कडाइ गरिएको दाबी गर्छन्।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.