|

धनकुटा : दोस्रो चरणको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ धनकुटामा एक जना पनि महिला उम्मेदवार छैनन्। ३३ प्रतिशत सहभागिता रहनुपर्ने भए पनि यहाँ महिला उम्मेदवार शून्य देखिएको छ।

धनकुटाबाट प्रतिनिधि सभा र प्रदेश सभाका लागि ११ दलका २१ जनाले उम्मेदवारी दिएका छन्। स्थानीय तहमा ३३ प्रतिशतको व्यवस्थाले महिला उम्मेदवारलाई उपप्रमुख पद सुरक्षित भएको देखिए पनि प्रदेशसभा र प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने कुनै दलले उम्मेदवार बनाएका छैनन्। धनकुटामा यसपटक सबै दलले केन्द्रीय तहका नेतालाई टिकट दिएका छन्।

महिलाहरूको राजनीतिक सहभागिता पहिलेदेखि नै कम रहँदै आएकाले पनि निर्वाचनका बेला उम्मेदवारीमा कमी आएको धनकुटा नगरपालिकाकी उपप्रमुख शकुन्तला बस्नेत बताउँछिन्। ‘पहिलेदेखि नै पार्टीका काममा थोरै लाग्ने र काममा सहभागिता जनाउने भएरै महिला आकांक्षी कम देखिन्छन्’, उनी भन्छिन्, ‘विद्यार्थी राजनीतिदेखि नै महिला उपस्थिति कम देखिने भएकाले पनि महिलाहरू पुरुषसरह आउन नसकेका हुन्।’

तीन नगरपालिका र चार गाउँपालिकासहित सात स्थानीय तह रहेको धनकुटामा उपप्रमुख पदमा महिला उम्मेदवार विजयी भएका थिए। तर, प्रमुख पदमा भने दलहरूले पुरुषलाई नै उम्मेदवार बनाएका थिए। पुरुषले झैं नेतृत्व क्षमता बहन गर्न सके महिला पनि निर्वाचनमा खडा हुन सक्ने धनकुटा–३ कागतेकी भीमा अधिकारी बताउँछिन्।

‘त्यसै पनि धनकुटाजस्तो पहाडी इलाकामा महिला राजनीतिमा कमै देखिन्छन्’, उनी भन्छिन्, ‘राजनीति भनेपछि टाढा रहन्छन्। संधै टाढा रहने प्रवृत्तिले पनि उनीहरूमा नेतृत्व विकास नभएको देखिन्छ।’ स्थानीय निर्वाचनको मतका आधारमा यहाँ एमाले पहिलो, कांग्रेस दोस्रो र माओवादी केन्द्र तेस्रो स्थानमा देखिन्छन्।

आसन्न निर्वाचनमा प्रतिनिधिसभातर्फ माओवादी केन्द्रको समर्थनमा एमालेका जिल्ला अध्यक्ष राजेन्द्र राई वाम गठबन्धनबाट उम्मेदवार बनेका छन्। काङ्ग्रेस र संघीय समाजवादी फोरमको समर्थनमा राप्रपा प्रजातान्त्रिकबाट सुनिलबहादुर थापाको उम्मेदवारी परेको छ।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.