|

इलाम : नेकपा एमालेका वरिष्ठ नेता तथा वाम गठबन्धन इलाम क्षेत्र नं १ का उम्मेदवार झलनाथ खनालले वाम पन्थीहरु एक नभए नेपाली कांग्रेसले संविधान च्यात्ने खतरा रहेको बताएका छन्।

 प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनबाट २ तिहाइ हासिल गरेर नेपाली कांग्रेस संविधान संशोधन गर्न चाहिरहेको बताउँदै खनालले भने, ‘वामपन्थी शक्तिहरु एक हुन नसकेको भए तराईका २/४ जनाको उक्साइमा परेर कांग्रेसले लोकतान्त्रिक संविधानको मूल मर्मलाई च्यातेर संशोधनमार्फत पंगु संविधान बनाउथ्यो।’

इलाम सदरमुकामस्थित गौतमबुद्ध सभागृहमा वाम कार्यकताहरुलाई सम्बोधन गर्दै खनालले एमाले र माओवादीलगायत ठूला कम्युनिस्टहरुको कारण नेपालको संविधान बनेकाले अबको जिम्मेवारी संविधान कार्यान्वयन रहेको बताए। उनले टुक्राटुक्रामा विभाजन भएका वाम शक्तिहरुको एकतापछि अब मुलुकबाट नेपाली कांग्रेस पत्तासाफ हुने बताए।

 उनले भने, ‘समयले वामपन्थी एकता माग गरिरहेकाले अब वाम शक्तिसामु कांग्रेस निरीह हुनेछ।’ वामपन्थी शक्तिहरुको कारण परिवर्तन सम्भव भएको बताउँदै खनालले भने, ‘वाम शक्तिहरु नभएको भए न ०६२/६३ को परिवर्तन सम्भव हुन्थ्यो न त मुलुकले संविधान नै पाउथ्यो।’ वामपन्थी शक्तिहरु एक भएपछि इलाम जिल्ला वामपन्थी किल्ला बनाउन लागिपरेको भन्दै सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न अपिल गरे।

त्यसैगरी, पूर्वसभामुख एवं वाम गठबन्धन इलाम क्षेत्र नं २ का उम्मेदवार सुवासचन्द्र नेम्वाङले वाम गठबन्धनले अधिनायकवाद लाध्न खोजेको बताउनु हास्यास्पद भएको बताए। उनले अब हुने चुनावमा वाम गठबन्धनको विकल्प नभएकाले नेपाली जनताले वाम गठबन्धनलाई स्पष्ट बहुमतका साथ बिजय गराउनेमा ढुक्क रहेको बताए।

वामपन्थीहरुको गठबन्धनलाई गठबन्धन भन्न नसक्नु नेपाली कांग्रेसको लाचारीपन भएको बताउँदै नेम्वाङले भने, ‘नेपाली कांग्रेस वापन्थीहरुको गठबन्धनलाई गठबन्धन भन्न नसकी नेपालको सीमामा देखिएको असहज अवस्था भनिरहनु हास्यास्पद हो।’ मुलुकको स्थिरता, समृद्धि र संविधान कार्यान्वयनको लागि वाम गठबन्धन गरिएको नेम्वाङले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.