|

काठमाडौं : आउँदो मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि देशभरी मनोनयन दर्ता सकिएको छ। प्रतिनिधिसभाको १६५ र प्रदेशसभाका ३३० निर्वाचन क्षेत्रमा विभिन्न दलका नेता र स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएका छन्। पहिलो हुने निर्वाचित हुने पद्धतिमा ती क्षेत्रबाट जम्मा एक जनामात्रै निर्वाचित हुन्छन्। यसरी पराजित हुनेमा पार्टीका शीर्ष नेता पनि पर्न सक्छन्।

यसअघि २०६४ र २०७० सालको संविधानसभा निर्वाचनमा देशका प्रमुख पार्टीका शीर्ष नेताले नै तुलनात्मक रुपमा कम चर्चा र हैसियतमा रहेका नेताहरुसँग पराजित हुनुपर्‍यो। २०६४ सालको निर्वाचनमा हालका एमाले अध्यक्ष केपी शर्मा ओली झापा-७ बाट पराजित भए भने बाँके क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका तत्कालिन कार्यबाहक सभापति तथा पूर्वप्रधानमन्त्री सुशील कोइराला, झापा-३ बाट कांग्रेस नेता कृष्णप्रसाद सिटौला, काठमाडौं-२ बाट एमाले तत्कालिन महासचिव माधवकुमार नेपाल पराजित भए।  

२०७० को दोस्रो संविधानसभा निर्वाचनमा काठमाडौं-१० बाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, सर्लाही-१ बाट एमाले नेता झलनाथ खनाल, मोरङ-९ बाट वर्षमान पुन पनि पराजित भए। प्रमुख पार्टीको महत्वपूर्ण भूमिकामा रहेका नेताहरुलाई हराउने सामान्य नेताहरु अहिले कहाँ छन्? हामीले खोजी गरेका छौं।

विश्वदीप लिंदेन

२०६४ सालको संविधानसभा निर्वाचनमा झापा ७ बाट एमाले नेता केपी शर्मा ओली नेकपा माओवादी केन्द्रका नेता विश्वदीप लिङदेनसँग पराजित भएका थिए। राष्ट्रिय राजनीतिमा त्यति नाम नसुनिएका लिङ्देनले उक्त क्षेत्रमा ओलीलाई पराजित गर्दा आश्चर्यको रुपमा हेरिएको थियो। यही क्षेत्रमा २०७० सालको निर्वाचनमा भने अध्यक्ष ओली नै विजयी भए।

ओलीलाई हराएर सभासद बनेका लिङदेन अहिले कांग्रेसमा पुगेका छन्। पहिलो संविधानसभा विघटन भए लगत्तै उनी संघीय समाजवादी फोरममा प्रवेश गरे। उनी उक्त पार्टीको केन्द्रीय सदस्य थिए। उनले हालको झापा नम्बर ५ बाट संघीय समाजवादी फोरम नेपालको तर्फबाट ओली बिरुद्ध प्रतिनिधिसभा सदस्यतर्फ उम्मेदवार बन्ने पक्कापक्की थियो। तर उम्मेदवारी दर्ताको केही दिनअघि उनी नेपाली कांग्रेसमा प्रवेश गरे।

राजन केसी

प्रचण्डलाई २०७० सालको संविधानसभा निर्वाचनमा काठमाडौं १० बाट कांग्रेसका नेता तथा वर्तमान सरकारका युवा तथा खेलकुद मन्त्री राजन केसीले पराजित गरेका थिए। यसअघि २०६४ मा भएको पहिलो संविधानसभा निर्वाचनमा प्रचण्डले नै केसीलाई पराजित गरेका थिए। यसवर्षको निर्वाचनमा भने प्रचण्डले उक्त निर्वाचन क्षेत्र छाडेर चितवन ३ बाट उम्मेदवार बनेका छन्। केसी भने त्यसै क्षेत्रमा कांग्रेसको तर्फबाट उम्मेदवार छन्।

झक्कुप्रसाद सुवेदी

एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल २०६४ सालको निर्वाचनमा तत्कालिन एकीकृत नेकपा माओवादीका झक्कुप्रसाद सुवेदीसंग काठमाडौं क्षेत्र नम्बर २ मा पराजित भएका थिए। त्यसपछि २०७० को दोस्रो संविधानसभा निर्वाचनमा नेपाल उक्त क्षेत्रबाट विजयी भए। २०७० सालको संविधानसभा निर्वाचनमा भने नेता नेपाललाई पराजित गर्ने सुवेदीले निर्वाचनमा प्रतिस्पर्धा नै गरेनन्। आउँदो मंसिर २१ गते हुने निर्वाचनमा भने सुवेदी वाम गठबन्धनबाट काठमाडौं ६ मा प्रतिनिधिसभाका लागि उम्मेदवार बनेका छन्। 

शम्भुलाल श्रेष्ठ

२०७० को दोस्रो संविधानसभा निर्वाचनमा इलाम १ सँगै सर्लाही १ बाट पनि उम्मेदवार बनेका नेकपा एमालेका तत्कालिन अध्यक्ष झलनाथ खनाल सर्लाहीमा भने पराजित भएका थिए। त्यतिबेला उनी नेकपा माओवादी केन्द्रका उम्मेदवार शम्भुलाल श्रेष्ठसंग पराजित भएका थिए। त्यतिबेला श्रेष्ठले कांग्रेसबाट उम्मेदवारी नपाएपछि तत्कालै पार्टी छाडेर माओवादी केन्द्रबाट उम्मेदवार बनेका थिए। यो पटक पनि श्रेष्ठ सर्लाही १ बाट नै चुनाव प्रतिस्पर्धा गर्दैछन् कांग्रेस पार्टीबाट। खनाल भने इलाम १ बाट मात्र उम्मेदवार बनेका छन्। हाल विना विभागीय राज्यमन्त्री रहेका श्रेष्ठ चुनाव लड्नकै लागि तीन दिनअघि माओवादी केन्द्रबाट कांग्रेसमा प्रवेश गरेका हुन्।

सरला रेग्मी

२०६४ सालको संविधानसभा निर्वाचनमा नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतम बर्दिया १ र प्युठान १ बाट पराजित भए। उनलाई बर्दिया १ बाट पराजित गरेकी थिइन्, तत्कालिन नेकपा माओवादीकी उम्मेदवार सरला रेग्मीले। एमालेका एक हस्तीलाई पराजित गरेर चर्चित बनेकी रेग्मी त्यसपछि भने आफू राजनीतिबाट टाढा बसेको बताउँछिन्। पटक पटक पार्टी फुट्न थालेपछि आफू स्वतन्त्र बसेको उनले थाहाखबरसँग बताइन्। उनले आफूले २०७० सालको निर्वाचनदेखिनै चुनाव लड्ने इच्छा नराखेको बताइन्। उनले भनिन्,‘पार्टीमा नातावादको हाबी हुँदै गयो। हामी त्याग गरेकालाई वास्ता गर्न छाडियो। त्यसैले स्वतन्त्र बस्न नै उचित ठानेँ।’ उनले जुन सपना देखेर संघर्ष गरेको त्यो पूरा नभएपछि अब राजनीति नगर्न निर्णय गरेको बताइन्। २०७० सालमा भने एमाले नेता गौतम प्युठान १ र बर्दिया १ दुबै क्षेत्रबाट निर्वाचित भए। त्यसपछि भने उनले बर्दियाको निर्वाचन क्षेत्र छाडेका थिए। मंसिर २१ गते हुने निर्वाचनमा गौतम बर्दिया १ बाट नै उम्मेदवार बनेका छन्।

सर्वदेव ओझा

२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा बाँके क्षेत्र नम्बर २ बाट कांग्रेसका तत्कालिन कार्यबाहक सभापति सुशील कोइराला पराजित भए। उनलाई तत्कालिन मधेसी जनअधिकार फोरमका नेता सर्वदेव ओझाले पराजित गरेका थिए। ओझा महिला, बालबालिका तथा समाजकल्यण मन्त्री समेत भए। तर पछिल्लो समय उनी सक्रिय राजनीतिमा छैनन्। मधेसी जनअधिकार फोरमबाट उनी विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकमा गए। तर उनले राजनीतिप्रति वितृष्णा भएको भन्दै २०६६ सालबाट सक्रिय राजनीति छाडेको बताए।

सुशील कोइराललाई हराए पनि नेपालको राजनीतिप्रति वितृष्णा जागेकाले राजनीतिबाट अलग भएको बताए। उनले भने,‘झुटको राजनीति कहिलेसम्म गर्ने? मलाइ अहिलेको राजनीति मन परेन त्यसैले राजनीतिमा नआउने घोषणा गरेँ।’ अहिलेको राजनीति सिद्धान्तबिहीन बनेको उनले बताए। ‘सिद्धान्तबिहीन राजनीतिमा बस्नु भन्दा अलग बस्न राम्रो हुन्छ’,उनले भने‘अब समाजमा चेतना जगाएर समाज सेवा गर्छु।’ २०६४ सालमा पराजित कोइराला २०७० सालको निर्वाचनमा भने बाँके र चितवन ४ दुबै ठाउँबाट निर्वाचित भएका थिए।

पूर्णसिंह राजवंशी

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई २०६४ सालको पहिलो संविधानसभाको निर्वाचनमा झापा–३ बाट माओवादी केन्द्रका उम्मेदवार पूर्णसिंह राजवंशीले पराजित गरेका थिए। त्यसपछिको दोस्रो संविधानसभा निर्वाचनमा राजवंशी त्यस क्षेत्रबाट उठेनन्। २०७० को दोस्रो संविधानसभा निर्वाचनमा राजवंशी झापा–२ बाट पराजित भएका थिए। 

मंसिर २१ मा हुन लागेको दोस्रो चरणको प्रतिनिधिसभा निर्वाचनका लागि झापा–३‘क’ बाट राजवंशीले वाम गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका छन्।  पार्टीको इमान्दार कार्यकर्ता भएकाले आफू पार्टीले जहाँ उठाए पनि चुनाव लड्न तयार भएको बताए। उनले भने ‘म पार्टीको एउटा इमान्दार सिपाही हो। पहिला सभासद पनि भएर सिटौलाजीलाई हराएँ, तर म पार्टीको इमान्दार कार्यकर्ता भएकाले यसपटक पार्टीको निर्णयका बमोजिम प्रदेशमा उठ्दैछु।’

डिकबहादुर लिम्बु

माओवादी नेता वर्षमान पुन २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा मोरङको तत्कालिन क्षेत्र नम्बर ९ बाट कांग्रेसका डिकबहादुर लिम्बुसंग पराजित भएका थिए। उनलाई पराजित गर्ने लिम्बु नेपाली कांग्रेस मोरङका जिल्ला सभापति हुन्। लिम्बुले लगातार त्यस क्षेत्रबाट दुई पटक चुनाव लडे त्यसमा एक पटक हार ब्यहोरे भने २०७० सालमा विजयी भएका थिए। पहिलो संविधानसभा निर्वाचनमा माओवादीका नगेन्द्र धिमालसंग पराजित भएका लिम्बुले दोस्रो संविधानसभा निर्वाचनमा माओवादीका प्रभावशाली नेता पुनलाई पराजित गरे। यस पटकको प्रतिनिधिसभा निर्वाचनमा पनि लिम्बू निर्वाचन क्षेत्र नम्बर १ (पहिलाको ९) बाट उठ्दैछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

कमेन्ट

  • २०६४ सालको निर्वाचनमा बामदेब गौतम प्युठान १ का उम्मेदवार नै थिएनन ।एमालेको धन बहादुर रायमाझी हुनुहुन्थ्यो ! पत्रकार ज्यु।