|

लहान : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि चार निर्वाचन क्षेत्र रहेको सिरहामा २२ स्वतन्त्रसहित ६१ जनाको उम्मेदवारी परेको छ। प्रनिधिसभा, प्रदेशसभा सदस्य निर्वाचन मुख्य अधिकृतको कार्यालय सिरहाका अनुसार साना पार्टीका तीन र दुई स्वतन्त्रसहित पाँच जना महिला उम्मेदवारले मात्र मनोनयन दर्ता गरेका छन्।

बाँकी दलगत र स्वतन्त्र उम्मेदवारहरु पुरुष मात्र रहेका छन्। कुल तीन लाख ४४ हजार तीनसय ७० मतदाता रहेको सिरहाको चार निर्वाचन क्षेत्रका प्रत्यासीहरुको राजनीतिक र व्यक्तित्वको आधारमा विशेषगरी मुख्य दलकै उम्मेदवारहरुको प्रतिस्पर्धा हुने देखिएको छ।

कुन क्षेत्रमा को ?

कुल ८८ हजार ७३ मतदाता रहेको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ मा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सांसद प्रदीप गिरि, वाम गठबन्धनका तर्फबाट नेकपा एमालेका गंगाप्रसाद यादव, संघीय समाजवादी फोरम नेपालका राजलाल यादवको उम्मेदवारी परेको छ।

त्यस्तै, नेपाल मजदूर किसान पार्टीका हरिनारायण महतो, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीको चुनावी मोर्चाको देशभक्त जनगणतान्त्रिक मोर्चाबाट सुरेन्द्रप्रसाद साह, नयाँ शक्ति पार्टीका ज्योतिकुमार राय दनुवारसहित जम्मा १४ जनाको उम्मेदवारी परेको छ, जसमा पाँच जना स्वतन्त्र उम्मेदवार छन्।

कांग्रेसका बौद्धिक नेता र चिन्तकको रुपमा चिनिने गिरि र उनकै छिमेकी रहेका गठबन्धनका यादवबीच नै टक्कर पर्ने अनुमान गरिएको छ। २०४३ सालमा जनपक्षीय उम्मेदवारको रुपमा तत्कालीन बस्तीपुर गाउँपञ्चायतको उपप्रधान पञ्च र २०५४ को स्थानीय निर्वाचनमा गाविस अध्यक्ष जितेका यादव पनि गठबन्धन र सांगठनिक मतको आधारमा अत्यन्त बलिया उम्मेदवार मानिएका छन्।

कुल ८८ हजार ८९ मतदाता रहेको प्रतिनिधिसभा सदस्य क्षेत्र नं. २ मा कांग्रेसका रामचन्द्र यादव, वाम गठबन्धनबाट माओवादी केन्द्रका सुरेन्द्रचन्द्र दासको उम्मेदवारी परेको छ। संघीय समाजवादी फोरमका शत्रुधनप्रसाद सिंह, नेमकिपाका राजकुमार पासवान, देशभक्त जनगणतान्त्रिक मोर्चाका जितेन्द्रकुमार सिंह, नयाँ शक्ति पार्टीका रामबहादुर यादव, नेकपा (माले) का दुर्गाप्रसाद लम्सालसहित १७ जनाको उम्मेदवारी परेको छ, जसमा सात जना स्वतन्त्र उम्मेदवार छन्।

त्यस्तै, ८६ हजार नौ सय सात मतदाता रहेको क्षेत्र नं. ३ मा कांग्रेसका अमर रेग्मी, वाम गठबन्धनबाट एमालेका लिलानाथ श्रेष्ठ, फोरमका अशेश्वर यादव, नेकपा (माले) का रामसोगारथ यादवसहित १३ जनाको उम्मेदवारी परेको छ। उक्त क्षेत्रमा तीन जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन्। वाम गठबन्धनका उम्मेदवार श्रेष्ठ २०७० सालको निर्वाचनमा तत्कालिन सिरहा क्षेत्र नम्बर ५ बाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पराजित भएका थिए। 

८१ हजार तीन सय दुई मतदाता रहेको क्षेत्र नं. ४  मा कांग्रेसका निवर्तमान सांसद मोख्तार अहमद, राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्ष मण्डलका सदस्य तथा पूर्व मन्त्री राजकिशोर यादव, वाम गठबन्धनबाट माओवादी केन्द्रका निवर्तमान सांसद तथा मन्त्री अजयशंकर नायक, नेकपा (माले) का राम एकवाल यादव, देशभक्त जनगणतान्त्रिक मोर्चा रामदेवकारक सुडी, नयाँ शक्तिका चन्देश्वर पासवानसहित १७ जनाले उम्मेदवारी दिएका छन्। प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं. ४ मा ७ जनाको स्वतन्त्र उम्मेदवारी परेको छ। 

ठूला दलका अतिरिक्त निर्वाचनको समयमा मात्र नाम सुनिने संघीय समाजवादी पार्टी, बहुजन शक्ति पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेपाल जनता पार्टी, दलित मुस्लिम जनशक्ति पार्टी, लोककल्याणकारी जनता पार्टी, नेपाल, बहुजन समाज पार्टीसहित एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि जिल्लामा उम्मेदवारी दर्ता गराएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.