|

भक्तपुर : नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले शैक्षिक, नैतिक, राजनीतिक र सैद्धान्तिक रुपमा परिपक्वता भएका व्यक्तिलाई चुनावमा उम्मेदवारी दिनुपर्ने बताएका छन्।

शुक्रबार भक्तपुर ट्रक व्यवसायी संघ को १८औँ वार्षिक साधारणसभामा सम्बोधन गर्दै अध्यक्ष बिजुक्छेले चुनाव भनेको सरकारमा गएका दलहरुको कुकृत्य उदांगो पार्ने अवसर भएकाले सबै पक्षबाट परिपक्वता भएका व्यक्तिलाई उम्मेदवार बन्ने अवसर दिनुपर्ने बताए।

उनले नेपालजस्तो देशमा सम्पत्ति सीमा राखेमा भ्रष्टाचारमा कमी आई धेरै समस्या समाधान हुने विचार व्यक्त गरे। साथै राष्ट्रिय पार्टी भनेको प्रतिशतको आधारमा लिन नहुने विचार पनि व्यक्त गरे।

अध्यक्ष बिजुक्छेले चालकलाई अनुमति पत्र दिनुअघि प्राविधिक कक्षा सञ्चालन गरी शिक्षा दिनुपर्नेमा जोड दिँदै चालकलाई ट्राफिक कार्यालयले छुट्टै तालिमको व्यवस्थासमेत गरिदिनुपर्नेमा जोड दिए। उनले चालकलाई ट्राफिक शिक्षा र  तालिम दिने विद्यालयको व्यवस्थापन गर्नुपर्ने बताए।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख सर्वेन्द्र खनालले ट्राफिक नियम भए पनि दुर्घटना बढी भइरहेको स्वीकार गरे। उनले नियम नमान्ने गरेका कारण यस्तो समस्या देखिएको बताए। प्रमुख खनालले सबैका पेसा मर्यादित हुनुपर्ने भन्दै मर्ने ठूलो कुरा कि पैसा कमाउनु ठूलो यो सबैले बुझ्न अति आवश्यक रहेकोमा जोड दिए। देशमा सवारी गुण्डाराज गर्नेलाई छिट्टै नियन्त्रणमा लिइने प्रतिबद्धतासमेत व्यक्त गरे।

त्यसैगरी, प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले ट्रक व्यवासायले देशको अर्थतन्त्र चलायमान हुनेमा ठूलो सहयोग पुगेको बताए। तर, नेपालको परिवेशमा पूर्वाधारको कमीले गर्दा कुनै पनि व्यवसाय गर्नेका लागि पर्याप्त सेवा र सुविधा दिन नसक्ने स्थिति रहेको उनको भनाइ थियो। उनले मुलुकको सडकको अवस्था एकदमै न्यून र अत्यधिक सवारीसाधन भएकाले पनि  ट्राफिक जामको समस्या खेप्नुपर्ने बताए।

संघका अध्यक्ष महेन्द्र खायमलीको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा भक्तपुर इँटा उद्योग व्यवसायी संघका अध्यक्ष नातिभाइ ह्योम्बा, भक्तपुर निर्वाचन क्षेत्र नं १ प्रदेश २ का उम्मेदवार सुरेन्द्र गोसार्इँ, भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष केपी अवाल लगायतले ट्राफिक दुर्घटना नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण हुनुपर्ने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.