कसको व्यवसाय के?

|

काठमाडौं : प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा दलहरुले मुख्य प्राथमकिता आर्थिक समृद्धिलाई दिएका छन्। एजेण्डामा आर्थिक समृद्धिलाई प्राथमिकता दिएजस्तै दलहरुले उम्मेदवारमा धेरै व्यवसायीलाई अवसर दिएका छन्।

प्रदेश तथा प्रतिनिधिसभामा प्रत्यक्ष तर्फ ३५ भन्दा बढी व्यवसायी विभिन्न पार्टीबाट चुनावी मैदानमा छन्। जसमध्ये कांग्रेसबाट २४, एमालेबाट ८, संघीय समाजवादी फोरमबाट २ र राप्रपा प्रजातान्त्रिकबाट १ जना रहेका छन्। उम्मेदवार बनेका व्यवसायीमध्ये अधिकांश निर्माण व्यवसायी रहेका छन्। ३५ उम्मेदवारमध्ये १९ निर्माण, ५ स्वास्थ्य, ४ जलविद्युत, ३ पर्यटन, २ शिक्षा र २ अन्य व्यवसायमा संलग्न छन्। व्यवसाय र पार्टीको राजनीति पनि संगै गरिरहेका कतिपय नेताहरु आफ्नो निर्वाचन क्षेत्रमा लोकप्रिय समेत छन्। 

उम्मेदवार बनेका व्यवसायी प्रदेशसभामा भन्दा प्रतिनिधिसभा सदस्यमै बढी छन्। उम्मेदवार बन्नेमा अधिकांश निर्माण व्यवसायी छन् भने कतिपय स्वास्थ्य, शिक्षा, पर्यटन, जलविद्युतका लगानीकर्ता छन्। व्यवसायबाट राजनीतिमा आउनेमा अधिकांश नेपाली कांग्रेसका छन्। एमाले, राप्रपा, संघीय समाजवादी फोरमबाट पनि व्यवसायिक पृष्ठभूमिका नेताहरु चुनावी प्रतिस्पर्धामा छन्।

व्यापारीक पृष्ठभूमिबाट राजनीतिमा समेत स्थापित विक्रम पाण्डे, जनार्दन ढकाल, टेकबहादुर गुरुङ, दिलमान पाख्रिन, पूर्णबहादुर तामाङ (कान्छाराम), मोहन आचार्य प्रतिनिधसभामा उम्मेदवार बनेका छन्। रमेश धमला, विष्णु खत्री, राजेन्द्र बजगाईं लगायतका केही नेता प्रदेश सभामा प्रतिस्पर्धामा छन्।  

कसको व्यवसाय के?

कांग्रेसको समेत सहयोगमा चितवन ३ बाट प्रतिनिधिसभा उम्मेदवार बनेका राप्रपा प्रजातान्त्रिकका महामन्त्री विक्रम पाण्डे कालिका कन्ट्रक्सनको सञ्चालक हुन्। उनले चितवनमा कालिका एफएम पनि सञ्चालन गर्छन्। यसअघि भूमिसुधार मन्त्री भइसकेका पाण्डे अहिलेको सरकारमा वनमन्त्री हुन्।

वाम गठबन्धनको तर्फबाट धादिङ निर्वाचन क्षेत्र नम्बर १ को क बाट उम्मेदवार बनेका राजेन्द्र पाण्डे स्थापित राजनीतिज्ञ हुन्। राजनीतिमा स्थापित भइसकेका उनले अस्पताल र मेडिकल शिक्षामा लगानी गरेका छन्। उनीसहितको संलग्नतामा मनमोहन अस्पताल सञ्चालनमा छ। २०४६ सालपछिका निर्वाचनमा धादिङबाट पटक पटक निर्वाचित भएका उनी एमालेको नवौं महाधिवेशनमा उपाध्यक्ष पदमा पराजित भएका थिए।

धादिङ निर्वाचन क्षेत्र नम्बर १ को क बाट उम्मेदवार बनेका राजेन्द्र पाण्डे स्थापित राजनीतिज्ञ हुन्। राजनीतिमा स्थापित भइसकेका उनले अस्पताल र मेडिकल शिक्षामा लगानी गरेका छन्। उनीसहितको संलग्नतामा मनमोहन अस्पताल सञ्चालनमा छ।

त्यस्तै धादिङ २ बाट प्रतिनिधिसभामा कांग्रेस उम्मेदवार दिलमान पाख्रिन क वर्गका निर्माण व्यवसायी हुन्। अहिलेको सरकारमा कानुन न्याय तथा संसदीय व्यवस्था राज्यमन्त्री रहेका पाख्रिन दोस्रो संविधानसभा निर्वाचनमा समानुपातिक सांसद थिए।

त्यस्तै धादिङको क्षेत्र नम्बर २  ख बाट प्रदेशसभा उम्मेदवार रहेका रमेश धमला पर्यटन व्यवसायी हुन्। ट्रेकिङ एजेन्सिज एसोसिएन अफ नेपाल(टान) का पूर्व अध्यक्ष धमला पर्यटनलगायतका व्यवसायमा आवद्ध छन्।

नेपाली कांग्रेसको तर्फबाट ललितपुर २ का प्रतिनिधिसभा उम्मेदवार चन्द्र महर्जन इँटा व्यवसायी हुन्। नेपाली कांग्रेसको तर्फबाट निवर्तमान सांसद समेत रहेका उनी ललितपुर जिल्लामा कांग्रेसका अब्बल नेताको रुपमा गनिन्छन्।

त्यस्तै रसुवाबाट प्रतिनिधसभा उम्मेदवार कांग्रेस र एमाले दुवै  क वर्गका ठेकदार हुन्। एमालेको तर्फबाट निवर्तमान सांसद समेत रहेका जनार्दन ढकाल सूर्यचन्द्र कन्ट्रक्सनका सञ्चालक हुन्। कांग्रेसका उम्मेदवार मोहन आचार्य रसुवा कन्ट्रक्सनका सञ्चालक हुन्। नेपाल निर्माण व्यवसायी महासंघका एसोसिएट सदस्य समेत रहेका आचार्यको औषधि उद्योग र बैंकमा समेत लगानी छ।

रामेछापबाट प्रतिनिधिसभामा कांग्रेसका उम्मेदवार पूर्णबहादुर तामाङ (कान्छाराम) र मकवानपुर २  ख का उम्मेदवार इन्द्रबहादुर बानियाँ दुवै क वर्गका निर्माण व्यवसायी हुन्। निर्माण व्यवसायी महासंघको पूर्व उपाध्यक्षसमेत रहेका तामाङले कान्छाराम कन्ट्रक्सन सञ्चालन गर्छन्। त्यस्तै मकवानपुर २ ख का उम्मेदवार  बानियाँले बानियाँ कन्स्ट्रक्सन सञ्चालन गरेका छन्। उनले निर्माण व्यवसायी महासंघको सदस्यता समेत लिएका छन्।

कांग्रेसका तर्फबाट काभ्रे १ बाट प्रतिनिधि सभा उम्मेदवार तीर्थ लामा, प्रदेशसभा उम्मेदवार गणेश लामा, एमालेका तर्फबाट काभ्रेमा प्रदेशसभा उम्मेदवार चन्द्र लामा, सिन्धुलीमा कांग्रेसबाट प्रदेशसभा उम्मेदवार छत्रबहादुर बम्जन सबै निर्माण व्यवसायी हुन्।

कांग्रेस उम्मेदवार तीर्थ लामा काभ्रे निर्माण व्यवसायी संघको साधारण सदस्य छन्। काभ्रे २ बाट प्रदेश सभा उम्मेदवार गणेश लामा सिरुवा कन्ट्रक्सनका सञ्चालक हुन्। काभ्रेमा एमाले उम्मेदवार चन्द्र लामा निर्माण व्यवसायी संघ काभ्रेका अध्यक्ष हुन्। सिन्धुली २ को २ बाट कांग्रेस प्रदेशसभा उम्मेदवार बम्जन जिल्ला निर्माण व्यसायी संघका सदस्य रहेका छन्।

सिन्धुपाल्चोक १ को क मा कांग्रेस उम्मेदवार राजेन्द्रकुमार श्रेष्ठ र ख का उम्मेदवार विष्णुकुमार खत्री दुवै व्यवसायी हुन्। श्रेष्ठ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी समिति सदस्य र सिन्धु विकास बैंकका अध्यक्ष हुन्। चाकु र तल्लो बलेफी जलविद्युत आयोजनामा लगानी गरेका खत्री नेपाल हिमालय सिमापार वाणिज्य संघका वर्तमान अध्यक्ष, सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष समेत हुन्।

मनाङबाट प्रतिनिधिसभामा कांग्रेस उम्मेदवार पूर्वश्रममन्त्री टेकबहादुर गुरुङ वैदेशिक रोजगार व्यवसायी हुन्। उनले हिमाल जनशक्ति नामको म्यानपावर कम्पनी सञ्चालन गरेका छन्। उनी यसअघि २०७० सालको संविधानसभा निर्वाचनमा मनाङबाट निर्वाचित भएका थिए।

स्याङ्जा १ बाट प्रतिनिधिसभामा कांग्रेसका उम्मेदवार राजु थापा क वर्गको निर्माण कम्पनीको सञ्चालक हुन्। थापा नेपाल निर्माण व्यवसायी संघ स्याङ्जाका पूर्व अध्यक्ष र नेपाली कांग्रेस महासमिति सदस्य हुन्। 

गोरखा १ को (ख) बाट प्रदेशसभामा कांग्रेस उम्मेदवार राजेन्द्र बजागाई पनि ठूला व्यवसायी हुन्। गोर्खा इन्काउन्टर्स ट्रेकिङ कम्पनीका सञ्चालक, काठमाडौं सांग्रिला क्यासिनोका सञ्चालक समेत रहेका बजगाई बहुराष्ट्रिय कम्पनी सिल्भर हेरिटेजका नेपालस्थित कार्यकारी अध्यक्ष समेत हुन्।

गोरखा १ को (ख) बाट प्रदेशसभामा कांग्रेस उम्मेदवार राजेन्द्र बजागाई पनि ठूला व्यवसायी हुन्। गोर्खा इन्काउन्टर्स ट्रेकिङ कम्पनीका सञ्चालक, काठमाडौंमा क्यासिनो द मिलिनियर्स क्लब सञ्चालक समेत रहेका  बजगाई यसअघि नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा पराजित भएका थिए। बहुराष्ट्रिय कम्पनी सिल्भर हेरिटेजका नेपालस्थित कार्यकारी अध्यक्ष समेत रहेका बजगाई अहिले होटल क्षेत्रमा लगानी गरिरहेका छन्।

कांग्रेसबाट सोलुखुम्बुको प्रदेशसभा क का उम्मेदवार प्रकाशसिंह कार्की, झापा  १ क का केशवराज पाण्डे, नेकपा एमालेबाट झापा ४ प्रतिनिधिसभा उम्मेदवार एलपी साँवा लिम्बु, झापा १ क का प्रदेशसभा उम्मेदवार श्रीप्रसाद मैनाली सबै व्यवसायिक क्षेत्रका हुन्। फ्रेट फरवार्डर्स एसोसिएनसनका अध्यक्षसमेत रहेका कार्कीको कार्गो तथा पर्यटन व्यवसायमा लगानी छ।

केशव पाण्डे यसअघि नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्य तथा मेला आयोजना समितिको सभापति भएका व्यक्ति हुन्। त्यस्तै झापाबाट एमाले प्रतिनिधिसभा उम्मेदवार लिम्बु म्यानपावर व्यवसायी हुन्। उनले काठमाडौंमा ग्लोवल एलायन्स नामक म्यानपावर कम्पनी सञ्चालन गरेका छन्। त्यस्तै झापा एमाले प्रदेशसभा उम्मेदवार  मैनाली बस व्यवसायी हुन्।

मोरङ ३ मा नेपाली कांग्रेसबाट प्रतिनिधि सभाका उम्मेदवार सुनिलकुमार शर्मा पनि व्यवसायी हुन्। स्वास्थ्य क्षेत्रमा लगानी रहेको शर्मा नोवल मेडिकल कलेज सञ्चालन गर्छन्। यसअघि नेकपा माओवादी केन्द्रमा रहेका उनी शर्मा अहिले भने नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार भएका हुन्। कांग्रेस मोरङ ६ का प्रतिनिधिसभा उम्मेदवार तथा पार्टी केन्द्रीय सदस्य शेखर कोइरालाको पनि नोवल मेडिकल कलेजमा लगानी छ। त्यस्तै कांग्रेस केन्द्रीय सदस्य तथा मोरङ २ का प्रतिनिधिसभा उम्मेदवार मिनेन्द्र रिजालको काठमाडौंको एपेक्स कलेजमा लगानी रहेको छ।

प्रतिनिधिसभा तर्फ सप्तरी ४ र सर्लाही ३ का कांग्रेस उम्मेदवार पनि  चिनिएका व्यवसायी हुन्। सप्तरी ४ का तेजुलाल चौधरीको शिक्षा र सर्लाही ३ का हरेशप्रसाद महतोको निर्माण क्षेत्रमा लगानी रहेको छ। वर्तमान युवा तथा खेलकुद राज्यमन्त्री रहेका चौधरी कांग्रेसको तर्फबाट निवर्तमान सांसद समेत हुन्। उनले ललितपुरको कुपण्डोलमा नाइटिङ्गेल बोर्डिङ स्कुल र नाइटिङ्गेल एकेडमी समेत सञ्चालन गरेका छन्। क वर्गका ठेकदार महतो निर्माण व्यवसायी संघ सर्लाहीका सदस्य छन्।

संघीय समाजवादी फोरमको तर्फबाट १ का प्रतिनिधिसभा उम्मेदवार अशोक राईको पनि शिक्षा क्षेत्रमा लगानी रहेको छ। काठमाडौंको बुद्धनगरमा एसभी बोर्डिङ स्कुल र एसभी एकेडमी सञ्चालन गरेका राई फोरमका वरिष्ठ नेता हुन्। यसअघि उनी नेकपा एमालेका उपाध्यक्ष समेत भएका थिए।

त्यस्तै संघीय समाजवादी फोरमका तर्फबाट पर्सा ३ का प्रतिनिधिसभा उम्मेदवार हरिनारायण चौधरी, नेकपा एमालेको तर्फबाट सर्खेत १ 'क' प्रदेशसभा उम्मेदवार खड्कबहादुर खत्री, कपिलवस्तु ३ 'क' मा कांग्रेसबाट प्रदेशसभा उम्मेदवार विरेन्द्रकुमार कनौडिया सबै व्यवसायी हुन्। फोरमका चौधरी र एमालेका खत्री निर्माण व्यवसायी हुन् भने कांग्रेसका कनौडिया उखु व्यवसायी हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.