|

काठमाडौ‌: साहित्यकार एसपी कोइरालाको कवितासंग्रह ‘गौँथलीहरूको गीत’को अनुदित कृति ‘सङ्स अफ स्वालोज’ सार्वजनिक गरिएको छ।

सिर्जनात्मक महिला समूहले आज काठमाडऔ‌मा आयोजना गरेको कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस्तक लोकार्पण गरेकी हुन्। राष्ट्रपति भण्डारीले कलाकार अरूणा हिङमाङको नौ दिने एकल चित्रकला प्रदर्शनीको पनि शुभारम्भ गरिन्।

कलाकार हिङमाङले साहित्यकार कोइरालाको कवितासंग्रहमा संगृहित कविताका चित्र बनाएकी छन्। चित्र पुस्तकमा पनि समावेश गरिएको छ। यिनै चित्र प्रदर्शनीमा राखिएको हो। कलाकार हिङमाङको यो चौथो एकल चित्रकला प्रदर्शनी हो। 

कार्यक्रममा राष्ट्रकवि माधवप्रसाद घिमिरेले विदेशीको नक्कल गरेर नभई नेपाली मौलिकपनका कृतिको रचना सिर्जना गरेर नेपाली साहित्यलाई विश्व जगत्मा फैलाउन सकिने धारणा राखे।

'नेपालीले साहित्यमा नोबेल पुरस्कार जित्न विदेशीले जस्तो साहित्य रचना गर्नुपर्दैन, हाम्रै कला संस्कृतिका आधारमा पनि नोबेल पुरस्कार जित्न सकिन्छ', उनले भने।

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय जगत्मा लैजान नेपालीमा लेखिएका कृतिलाई अंग्रेजीमा अनुवाद गरिनुपर्ने बताए।

'अनुवादमार्फत नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय जगतमा लगे नोबेलजस्ता ठूला पुरस्कार पनि जित्न सकिन्छ, त्यसका लागि कृतिको भावना नमर्ने गरी अनुवाद हुनुपर्छ', उनले भने।

कृतिकार कोइरालाले मन दुःखेका बेला आउने भावनालाई ‘गौँथलीका गीत’ मा समावेश गरिएको जानकारी दिए। यो उनको चौथो कृति हो।

प्रशासनिक सेवामा २५ वर्ष काम गरेका पूर्व सचिव शंकरप्रसाद कोइरालाले दोस्रो संविधानसभा निर्वाचन सम्पन्न गराउन पूर्व प्रधानन्यायाधीश खिलराज रेग्मीको अध्यक्षतामा गठित मन्त्रिपरिषद्का अर्थ, उद्योग र आपूर्तिमन्त्रीको जिम्मेवारीसमेत पूरा गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.