|

काठमाडौं : तीनकुने हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतर्फ जाँदा सिनामंगलमा पुगेपछि बायाँपट्टिको सडकछेउमै कम्पाउण्डमा एउटा ठूलो जहाज देखिन्छ। झट्ट हेर्दा बिमान बिग्रिएर राखिएको होलाजस्तो लाग्छ। बटुवाहरु के होला? कसो होला? भनेर जिज्ञासा राखिरहेका देखिन्छन्। तर खासमा त्यो ठूलो जहाजभित्र ‘जहाज संग्रहालय’ बनाइएको छ र शनिबारदेखि खुल्ला गर्ने तयारी छ।

जहाज संग्रहालयको कम्पाउण्डभित्र छिरेपछि अगाडि र पछाडिपट्टि खाली ठाउँमा हरियो झार रोपिएको छ। त्यसकै चारकुनाका छेउछेउमा फूल रोप्नका लागि खनजोत हुँदैछ। प्रवेशद्वारकै आडमा पार्किङ र टिकट काउन्टर बन्दैछ।

मूलगेटबाट भित्र पसेर दोस्रो गेटबाट अगाडि बढेपछि बीच भागमा ठूलो बिमान देखिन्छ, जहाँ अंग्रेजी र नेपाली दुवै अक्षरमा लेखिएको छ, ‘नेपाल एभिएसन म्युजियम काठमाडौं।’

नेपाल वायु सेवा निगमको जस्तो सेतो र रातो रङ पोतिएको ठूलो जहाज, झट्ट हेर्दा उड्नै लागेको जस्तो देखिन्छ। जहाजको अगाडि एक र पछाडि दुई वटा चक्का त छँदैछ। भुईंबाट टेको दिएर खडा भएको जहाजमा भित्र पस्न अगाडि दुई र पछाडि एउटा भर्‍याङ बनाइएको छ।

के के छन् जहाज संग्रहालयभित्रका आकर्षण?

जहाज संग्रहालयभित्र ५ खण्ड बनाएर उड्डयन क्षेत्रकै विषयवस्तु प्रदर्शनीका लागि राखिएको छ। ‘भित्र पसेपछि सुरुमै देखिनेछ- वेलकम हल, जहाँ यो संग्रहालय बनाउने क्रममा भएका गतिविधि समेटिएको करिव १२ मिनेटको नेपाली र अंग्रेजी दुवै भाषामा डकुमेन्ट्री देखाइनेछ', जहाज संग्रहालयका सञ्चालक क्याप्टेन वेद उप्रेतीले भने 'त्यही वेलकम हलमै एयरबस–३३० को ग्लास ककपिट पनि राखिएको छ, त्यहिं राइट ब्रदर्सले बनाएको पहिलो जहाजको मोडेल पनि छ।’

वेलकम हलमा वास्तविक विमानमा जस्तै परिचारिकाले स्वागत गर्नेछन्। वेलकम हलको दायाँ र बायाँ पट्टि मिनिचर जहाजहरु र माथि क्याप्टेन उप्रेतीले खिचेका एरियल फोटोग्राफ राखिएका छन्। दोस्रो हललाई ‘एयर फोर्स हल’ नाम दिइएको छ। त्यसमा पहिलो विश्वयुद्धदेखि अहिलेसम्मका लडाकु विमानका मोडलहरु राखिएको छ। त्यसकै अन्तिम भागतीर एयरबस–३८० र बोइङ–७७७ को मोडल हेर्न पाइन्छ। ‘एयरलाइन’ नाम दिइएको तेस्रो हलमा संसारका मुख्य–मुख्य एयरलाइन्सहरुका मुख्य–मुख्य जहाजहरु (बोइङ र एयरबसका विभिन्न सिरिज) राखिएको उप्रेतीले जानकारी दिए। त्यसपछि आउँछ चौथो हल।

‘चौंथो हल पूर्णतया नेपालको सेक्सन हो', उप्रेती भन्छन्, जहाँ नेपालमा उडेका डिसी थ्रीबाट अहिले आउँदै गरेको एयरबस–३३० र आर्मीको सिएन–३५ का मोडेलहरु राखिएको छ।’

विमान संग्रहालयभित्रको अन्तिम पाँचौं हलमा दायाँ–बायाँमा नेपाली विद्यार्थीहरुले बनाएका मिनिचर जहाजहरु र माथि एरिएल फोटोग्राफका साथै बसेर चियापान गर्ने व्यवस्था समेत मिलाइएको छ। विमानको अगाडिकै तल्लो भागमा सभाहल समेत बनाइएको छ। ‘त्यसको नाम हो ‘हुम्ला हल’, जहाँ पाइलटहरुलाई रिफ्रेसर क्लास दिन सकिन्छ र जसले पनि भाडामा लिएर कार्यक्रम गर्न सक्छन्’ उप्रेतीले भने।

कसरी भयो जहाज संग्रहालयको परिकल्पना?

सन् २०१५ मा टर्किस एयरको एयरबस–३३० बिमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा धावनमार्गमा चिप्लिएर ग्राउण्डेड भयो। त्यसले नेपालको विमानस्थल तीन दिनसम्म बन्द रह्यो। एयसवस मर्मतका लागि टर्किस एयरले निकै प्रयास पनि गर्‍यो। तर मर्मत उपकरण ल्याउन नसेकपछि इञ्जिन निकालेर त्यसलाई यतै बेच्ने निचोडमा पुग्यो। त्यो कुरा क्याप्टेन उप्रेतीको कानमा परेपछि संग्रहालयको परिकल्पना भयो।

‘त्यसमा कुनै ठूलो दुर्घटना भएको थिएन, एभिएसन म्युजियम सञ्चालक क्याप्टेन उप्रेती सम्झिन्छन्,'उनीहरु बनाउने पक्षमा थिए, तर इक्युपमेन्ट ल्याउन नसकेर बनाउन सकेनन् र यसलाई यतै डिसम्यान्टल गर्ने सोचिरहेका थिए, अनि त्यही बेलामा यत्रो ठूलो जहाजलाई त काठमाडौंमा हामीले नै बनाउन सक्छौं एभिएसन म्युजियम भन्ने सोच आयो।’ यसले आम सर्वसाधारण र विद्यार्थीमा उड्डयन क्षेत्रको जिज्ञासा मेटाउने र प्रत्यक्ष अवलोकनले ज्ञान समेत अभिवृद्धि हुने उनको विश्वास छ।

आकाशमा उड्नेजहाज, संग्राहालयबन्दासम्म...

फोटो खिच्न र घुम्नमा रुची राख्ने क्याप्टेन उप्रेतीलाई विमानस्थलभित्रको त्यत्रो ठुलो जहाजलाई बाहिर निकाल्न सजिलो थिएन। कानुनी प्रक्रिया मिलाउनुपर्ने त छँदै थियो, जहाजलाई बाहिर निकाल्नलाई धेरै जनशक्ति र उपकरण पनि चाहिन्थ्यो।

विमानस्थलभित्र थन्किएको ठूलो जहाजलाई कसरी यहाँसम्म ल्याउनुभयो? भन्ने प्रश्नमा उनी भन्छन्, ‘खोल्न मिल्ने ठाउँमा खोलियो, खोल्न नमिलेका ठाउँमा करिव १० टुक्रा पारेर स्वदेशी र विदेशी टेक्निसियनहरुले ठूला ठूला लरीहरुमा हालेर ३–४ रात लगाएर सिनामंगल ल्याइयो।’

दिउँसोमा विमानस्थलमा उडान र अवतरणका कारण ल्याउन नमिलेकाले रातको १२ बजेदेखि बिहान ३ बजेको बीचमा त्यो काम भएको उनले बताए। ४ महिना ल्याउन र कानुनी प्रक्रिया मिलाउन तथा ६ महिना निर्माणमा समय लागेको उप्रेतीले बताए। नेपाल नागरिक उड्यन प्राधिकरणले पनि सहयोग गरेपछि वेद उप्रेती ट्रस्टले १० महिनाअघि बिग्रिएको बिमान ल्याएर काठमाडौंको सिनामंगलस्थित नेपाल गरिक उड्डयन प्राधिकरणको स्वामित्वमा रहेको जग्गामा राखेर जहाज संग्रहालय बनाएको हो।

‘टर्किस एयरसँग जहाज त हामीले किनिसकेका थियौं तर त्यही बेला नागरिक उड्यन प्राधिकरणले पनि उड्डयन क्षेत्रमा विद्यार्थी आकर्षित गर्न सहकार्य गरौं भन्ने प्रस्ताव गर्‍यो र सजिलो भयो’, क्याप्टेल उप्रेतीले भने।

अबको १० बर्षपछि उड्डयन क्षेत्रमा काम गर्ने जनशक्तिको ठूलो मात्रामा अभाव हुने भन्दै इन्टरनेसनल सिभिल एभिएसन अर्गनाइजेसन (आइकाओ) ले माध्यमिकदेखि उच्च माध्यामिक तह (कक्षा ९ देखि कक्षा १२) सम्मका विद्यार्थीलाई उड्डयन क्षेत्रमा आकर्षित गर्ने किसिमका कार्यक्रम सञ्चालन गर्न प्रत्येक देशका नागरिक उड्डयन सम्बन्धी निकायलाई निर्देशन दिएको क्याप्टेन उप्रेतीले बताए। ‘आइकाओको निर्देशनले पनि नागरिक उड्डयन प्राधिकरण र हाम्रो इन्ट्रेस्ट समान भयो र प्राधिकरणको जग्गा पनि यहाँ खाली थियो,’ उनले भने।

नागरिक उड्डयन प्राधिकरणसँगको सहमति अनुसार जग्गा प्रयोग गरेवापत संग्रहालय सञ्चालनमा आएपछि परिचयपत्र भएका कक्षा ९ देखि १२ सम्मका विद्यार्थीलाई पूर्णरुपमा निःशुल्क प्रवेश दिने उनले बताए। ‘त्यस बाहेकका विद्यार्थीलाई चाँहि ५० प्रतिशत छुट दिने र अन्यलाइ डेढ सयदेखि ३०० सम्म प्रवेश शुल्क लिने योजना बनाइरहेका छौं, तर रेट फिक्स भइसकेको छैन’, उनले भने।

परिचयपत्र भएका उड्डयन क्षेत्रका कर्मचारीले संग्रहालयमा निशुल्क प्रवेश पाउनेछन्। उप्रेतीले कैलालीको धनगढीमा पनि एभिएसन म्युजियम बनाइसकेका छन्। ३ वर्षअघि कस्मिक एयरको फोकर–१०० विमान त्रिभुवन विमानस्थलमै ग्राउण्डेड भएपछि त्यसलाइ धनगढी लगेर एयरक्राफ्ट म्युजियम बनाएको उनले बताए। ‘त्यहाँभित्र पनि फोटो ग्यालरी, मोडल जहाजहरु राखिएको छ, जुन पर्यटकीय रुपमा पनि आकर्षणको केन्द्रविन्दु बनेको छ’, उनले भने।

लगानी जुटाउन बैंकको लोनदेखि घर बिक्रीसम्म

संग्रहालय निर्माणमा ६ करोड लागत अनुमान गरिएकोमा ७ करोडभन्दा बढी लागेको उप्रेतीले बताए। ‘जसमध्ये दुई करोड ९० लाख एभरेष्ट बैंकबाट लोन लिएका छौं', क्याप्टेन उप्रेती भन्छन्, 'घर समेत बिक्री भा’छ, प्लस आफूले कमाएको पनि यसैमा लगाएको छु।’

करोडौं खर्चेर यत्रो जोखिम किन मोल्नुभयो? भन्ने प्रश्नमा उनी भन्छन् 'टर्किस एयरको जहाज ग्राउण्डेडको इन्सिडेन्ट नभएको भए त सोच नै बन्थेन होला, तर देशका लागि पनि केही न केही गर्नुपर्छ, आखिर सबै मटेरियल पनि छ भन्ने सोच आयो, प्रोफिट मात्रै हेर्ने हो भने केही काम पनि हुँदैन, धनगढीकै कुरा गर्ने हो भने त्यो एयरक्राफ्ट म्युजियम अझै घाटामा छ।’

८० बढी देशको उडानः संग्रहालय निर्माणको उत्प्रेरणा

जहाज संग्रहालयभित्र क्याप्टेन उप्रेतीले नै खिचेका धेरै फोटोहरु अवलोकन गर्न पाइनेछ। अहिलेसम्म ८० भन्दा बढी देश घुमिसकेका उनी फोटोग्राफीमा पनि उत्तिक रुची राख्छन्। ‘त्यही घुमाई, फोटोग्राफी प्लस फ्लाइङकै कारणले यो म्युजियम बन्न सफल भएको हो’ उप्रेतीले भने।

इन्जिनियर बन्ने लक्ष्य राखेका उप्रेतीले २०४० सालमा नेपाली सेनाको सेकेण्ड लेफ्टिनेन्टमा भर्ना भए। सेनामा १२ वर्ष काम गरेपछि नेकोन एयरमा ८ बर्ष बिताएका क्याप्टेन उप्रेती त्यसपछि भारतीय एयरलाइन्सतर्फ तानिए। ‘निकोन एयर बन्द भएपछि इण्डियाको डेकन र किङफिसर एयरलाइन्समा ८ वर्ष उडें', उनी थप्छन्, 'अहिले ६ वर्षदेखि इण्डोनेसियामा उडिराछु एज अ इन्स्टक्टर इक्जामिनर पाइलट।’

विमास्थलमा जहाजभित्र छिरेर जो कोहीले घुम्ने र अवलोकन गर्ने अवसर नपाउने भएकाले एभियसन म्युजियमले त्यो रहर एक हदम्म मेट्ने उनको विश्वास छ। यो नेपालमै नौलो प्रयोग भएको उनको दाबी छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.