|

विराटनगर : विराटनगरमा महानगरपालिकामा अत्याधुनिक प्रविधियुक्त तारणीप्रसाद कोइराला सञ्चारग्राम निर्माण सुरु भएको छ। विराटनगर ४ मा निर्माण गरिने सञ्चारग्रामको करिब एक वर्ष अगाडि नै शिलान्यास भएकोमा शुक्रबारबाट निर्माणको काम सुरु भएको हो।

निर्माणको कामको विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले सुरुआत गरेका हुन्। १ नम्बर प्रदेशकै सूचना तथा सञ्चार क्षेत्रको केन्द्र बनाउने उद्देश्यले विराटनगर–४ स्थित खार्जी कोहबारामा सञ्चारग्राम निर्माण हुने भएको हो।

यसअघि, सञ्चारग्रामको तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले समेत शिलान्यास गरेका थिए। यसअघि, निकै तामझामका साथ शिलान्यास गरिएको भए पनि बजेट विनियोजित नहुँदा निर्माणको काम अलपत्र बनेको थियो।

सञ्चार मन्त्रालय र रेडियो नेपालको १९ करोड ९६ लाखको संयुक्त लगानीमा सञ्चारग्राम निर्माण हुन लागेको हो। ६ कठ्ठा ८ धुरमा निर्माण हुन लागेको सञ्चारग्राम ४ तलाको हुनेछ। आगामी ०७५ चैत मसान्तसम्म निर्माण सम्पन्न भइसक्ने ठेकेदार कम्पनी रविनाजोसी जेवीका प्रमुख रमेश कार्कीले बताए। उनले द्रुत गतिमा काम गर्दै गुणस्तरीयतामा समेत कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरे।

विराटनगर महानगरपालिकाको व्यवस्थापनमा निर्माण हुने सो सञ्चारग्राम नेपालको नमुना सञ्चारग्राम हुने बताइएको छ । महानगरपालिकाका अनुसार सञ्चारग्राममा २ सय ५० जना अट्ने हल, १ सय ५० जना क्षमताको तालिम हल, क्षेत्रीय सञ्चार संग्राहलय, ई–लाइब्रेरी, रेकर्डिङ स्टुडियो, समाचार तथा कार्यक्रम प्रसारणका लागि एफएम स्टुडियो, प्रशासनिक कक्ष लगायतका संरचना निर्माण हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.