|

रुपन्देही : सम्भावित प्रदेश राजधानीको रुपमा रहेको रुपन्देहीमा आगामी निर्वाचनका लागि स्थानीय तहको निर्वाचनमा खसेको मतको जोड घटाउ शुरु भएको छ।  स्थानीय तहको निर्वाचनमा तालमेल गरेका दल र अहिले तालमेल गरेका दल फरक फरक ठाउँमा रहेपनि वडा तहदेखि नै मतको हिसाबकिताब गर्न थालिएको छ।

रुपन्देहीको निर्वाचन क्षेत्र नं १ मा कांग्रेसका अब्दुल रज्जाक र एमालेका छविलाल विश्वकर्मा दोस्रोपटक भिड्दैछन्।  क्षेत्र नम्बर २ मा वाम गठबन्धनका विष्णु पौडेल र नेपाली कांग्रेसका युवराज गिरी प्रतिस्पर्धामा छन्। रुपन्देही क्षेत्र नम्बर ३ मा वाम गठबन्धनबाट घनश्याम भुसाल र नेपाली कांग्रेससँगको समर्थनमा राप्रपा प्रजातान्त्रिकका नेता दीपक बोहरा प्रतिस्पर्धामा छन्। रुपन्देही क्षेत्र नम्बर ४ मा वाम गठबन्धनबाट ओमप्रकाश यादव गुल्जारी र राष्ट्रिय जनता पार्टीका सर्वेन्द्रनाथ शुक्ल प्रतिस्पर्धामा छन्। रुपन्देही ५ मा वाम गठबन्धनबाट डिलाराम आचार्य र नेपाली कांग्रेसबाट भरतकुमार शाह प्रतिस्पर्धामा छन्।

सत्तारुढ दलहरु कांग्रेस र माओवादी केन्द्रले स्थानीय तहमा रुपन्देहीका अधिकांश तहमा तालमेल गरे पनि अहिले एमाले र माओवादीबीच बनेको वाम गठबन्धनपछि हारजितको हिसाब वडा तहदेखिकै मतबाट आँकलन गर्न थालिएको हो। अघिल्लो निर्वाचनताकाका निर्वाचन क्षेत्र भत्काएर कतिपय स्थानीय तहलाई तीनवटासम्म निर्वाचन क्षेत्रमा राखेका कारण रुपन्देहीको नतिजाको आँकलन गर्न वडा तहबाटै हिसाब गनुपर्ने हुन्छ। 

प्रतिनिधि सभाको पाँच र प्रदेश सभाको १० निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा वडा तहदेखिकै मतको हिसाबकिताब गर्ने हो भने वाम गठबन्धन अघि देखिन्छ।जसअनुसार स्थानीय तहको निर्वाचनमा वडाध्यक्षलाई खसेको मतका आधारमा वाम गठबन्धन चार वटा निर्वाचन क्षेत्रमा अगाडि देखिएको छ। कांग्रेस गठबन्धन एउटा मात्रै प्रदेशसभा निर्वाचन क्षेत्रमा अगाडि छ भने फोरम–राजपाको गठबन्धन एक प्रतिनिधिसभा र दुई प्रदेशसभामा बलियो देखिएका छन्।

निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधि सभामा वाम गठबन्धन लोकतान्त्रिक गठबन्धनभन्दा ५ हजार मतले अघि रहेको छ। कांग्रेस र राप्रपाको तालमेलमा २८ हजार ७ सय मत रहेको छ भने एमाले र माओवादी केन्द्रको गठबन्धनमा ३३ हजार ८ सय मत रहेको छ।

यहाँका प्रदेश तर्फका दुवै क्षेत्रमा पनि वाम गठबन्धनको अग्रता छ। प्रदेशको १ नम्बर क्षेत्रमा वाम गठबन्धन झण्डै ३ हजार २ सय मतले अघि छ भने २ नम्बर क्षेत्रमा १ हजार ८ सय मतान्तर रहेको छ। क्षेत्र नम्बर एकमा संघीय समाजवादी फोरमको ५ हजार मत रहेको छ। यो निर्वाचन क्षेत्रबाट यसअघि संविधान सभाको निर्वाचनमा कांग्रेसका अब्दुल रज्जाक विजयी भएका थिए।

यसअघि एमाले उपमहासचिव विष्णु पौडेल विजयी भएको रुपन्देही क्षेत्र नम्बर २ मा कांग्रेस गठबन्धनभन्दा वाम गठबन्धन झण्डै साढे १३ हजार मतले अगाडि देखिन्छ। कांग्रेस गठबन्धनको २३ हजार ५ सय र वाम गठबन्धनको मत स्थानीय तहको परिणाम अनुसार ३७ हजार २ सय रहेको छ। यहाँ संविधान सभाको दोस्रो निर्वाचनमा पौडेलले कांग्रेस नेता सूर्यप्रसाद प्रधान र माओवादी केन्द्रबाट उम्मेदवार बनेका डा. बाबुराम भट्टराईलाई हराएका थिए।   

यहाँ स्थानीय तहको मत अनुसार प्रदेश तर्फका १ नम्बर क्षेत्रमा झण्डै सात हजारले वाम गठबन्धन अघि देखिएको छ भने २ नम्बर क्षेत्रमा सात हजार ६ सयको मतान्तर रहेको छ। बुटवल उपमहानगरपालिका समेत रहेको यो क्षेत्रमा स्थानीय तह निर्वाचनमा कांग्रेस र माओवादी केन्द्रको तालमेल थियो।

प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ३ मा कांग्रेस गठबन्धनको २६ हजार ९ सय मत रहेको छ भने वाम गठबन्धनको ३१ हजार ५ सय मत रहेको छ। यो क्षेत्रमा ४ हजार ४ सयको मतान्तर देखिएको छ। कांग्रेस नेता बालकृष्ण खाँड र राप्रपाका नेता दिपक बोहराले जितेका दुई क्षेत्रलाई एकीकरण गरी क्षेत्र नम्बर ३ निर्माण भएको छ।

यो क्षेत्रमा प्रदेशमा दुई गठबन्धन एक–एक क्षेत्रमा बलिया छन्। १ नम्बर क्षेत्रमा वाम गठबन्धनको बढी मत छ भने २ नम्बर क्षेत्रमा कांग्रेस गठबन्धन झण्डै दुई हजार मतले अगाडि देखिन्छ।

मधेसी समुदायको बाहुल्यता रहेको क्षेत्र नम्बर ४ मा कांग्रेस गठबन्धनको दश हजार एक सय मत रहेको छ भने वाम गठबन्धनको चार हजार सात सय मात्रै मत देखिएको छ। फोरम र राजपाको ११ हजार एक सयबढी मत रहेको छ। कांग्रेसमा विलय भएको फोरम लोकतान्त्रिक ६ हजार सात सय मत रहेको छ। तर फोरम लोकतान्त्रिकबाट सम्मरीमाई गाउँपालिका जितेका अध्यक्ष केही दिनअघि मात्रै एमालेमा प्रवेश गरेका छन्।

प्रदेश तर्फ कांग्रेस र मधेशी दलहरुको प्रतिस्पर्धात्मक मत रहेको छ। यहाँ वाम गठबन्धन निकै कमजोर छ। स्थानीय तहको मत अनुसार क्षेत्र नम्बर ५ मा लोकतान्त्रिक गठबन्धनको १८ हजार १ सय र वाम गठबन्धनको झण्डै २२ हजार मत रहेको छ। राजपाको ७ हजार र फोरमको झण्डै साढे ५ हजार मत रहेको छ। ।

प्रदेश तर्फ १ नम्बरमा वाम गठबन्धन बलियो छ भने २ नम्बरमा राजपा र फोरमको गठबन्धन बलियो देखिएको छ। यो निर्वाचन क्षेत्रबाट कांग्रेसका भरतकुमार शाह विजयी भएका थिए। मधेसी दलहरु विभिन्न पार्टीमा कार्यकर्ता नै बोकेर हिँडेकाले नजिता फरक देखिने राजनीतिकर्मीहरु बताउँछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.