|

इलाम : इलाममा स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको १ वर्षको अवधिमा २१ हजार २ सय ६४ जना स्वास्थ्य बिमा गराएका छन्। सामाजिक सुरक्षा विकास समिति इलामले गत वर्ष असार १५ गतेबाट दर्ता प्रक्रिया प्रारम्भ गरी भदौ १ गतेबाट सेवा लिने बिमितहरुलाई विभिन्न स्वास्थ्य संस्थाहरुबाट स्वास्थ्य सेवा दिन सुरु गरेको थियो।

१ वर्षको अवधिमा इलामबाट स्वास्थ्य बिमा गराउने १४ हजार ८ सय ६४ जनाले विभिन्न स्वास्थ्य संस्थाबाट सेवा लिएका छन् जसमध्ये ११ हजार ८ सय ०७ जना बिमितले जिल्लास्थित विभिन्न स्वास्थ्य संस्थाबाट सेवा लिएका छन्। २ हजार ९ सय ३७ जनाले झापा र १ सय २० जनाले काठमाडांैबाट सेवा लिएको सामाजिक सुरक्षा विकास समिति इलामका दर्ता अधिकारी खेमराज अधिकारीले जानकारी दिए।

नेपाल सरकारले ०७२ चैत्र २५ गतेबाट नेपालीहरुलाई स्वास्थ्य सेवामा सहज पहुँच तथा आर्थिक अभावका कारण कुनै पनि नेपालीले गुणस्तरीय स्वास्थ्य सेवा लिनबाट वञ्चित हुनु नपरो भनी पहिलो चरणमा कैलालीबाट स्वास्थ्य बिमा सुरु गरेको थियो।

इलाम र बाग्लुङमा दोस्रो चरणमा ०७३ असार १५ गतेबाट स्वास्थ्य बिमाको दर्ता प्रक्रिया सुरु गरी भाद्र १ गतेबाट सेवा प्रारम्भ गरिएको थियो। गत असोज मसान्तसम्म आइपुग्दा स्वास्थ्य बिमा लागू भएका जिल्ला २२ पुगेका छन्।

स्वास्थ्य कार्यक्रम सुरु हुँदा १ सय ६८ प्रकारका औषधिहरु सेवामा समेटेर सुरु भएकोमा हाल आएर सरकारले निःशुल्क सूचीकृत गरेका ७२ प्रकारका औषधिसहित ९ सय २८ प्रकारका औषधि पु¥याएको छ। जसमा २७ प्रकारका आर्युवेदिक औषधिसमेत समेटिएका छन्।  मंसिर १ बाट सेवा लिने बिमित सदस्यहरुको आवेदन फारम संकलन भइरहेको अधिकारीले जानकारी दिए। इलाममा चालु आर्थिक वर्षको अन्त्यमा १२ हजार जनाको स्वास्थ्य बिमा गराउने लक्ष्य राखिएको थियो।

कहाँ कहाँबाट पाइन्छ सेवा?  

इलाम जिल्लाको हकमा ४ वटा प्राथमिक स्वास्थ्य केन्द्रहरु फिक्कल पशुपतीनगर, मंगलबारे र प्याङ्ग, इलाम अस्पताल, मेची अञ्चल अस्पताल चन्द्रगढी, आम्दा अस्पताल दमक र मेची आँखा अस्पताल विर्ताबजार प्रथम सेवा विन्दुको रुपमा राखिएको छ। झापाको विएन्डसी अस्पताल, कोशी अञ्चल अस्पताल र काठमाण्डौका विभिन्न अस्पतालहरु रिफरल अस्पतालका रुपमा राखी सेवा प्रदान गरिँदै आएको छ।

स्वास्थ्य विमा गराउने विमितहरुको सेवा प्रारम्भको भएको १ बर्ष पुग्नुभन्दा अघिल्लो दिनबाट सेवा समाप्त हुने भएकाले पुन विमा बापतको रकम तिरेर नविकरण गर्नुपर्ने सापकोटाले बताए। स्वास्थ्य विमा कार्यक्रममा १ हजार जनसंख्या बरावर १ जना दर्ता सहयोगी राखेर काम अघि बढाइएको छ।

इलाममा ५२ जना दर्ता सहयोगी राखेर काम गरिदै आएकोमा हाल प्रत्येक स्थानिय तहको वडा अनुसार कम्तीमा १ जना दर्ता सहयोगी राख्नका लागी तालिम सञ्चालन भइरहेको छ। जनताहरुलाई छरितो सेवा पु¥याउनका लागी दर्ता सहयोगी अपुग भएका ३३ वटा वडामा ३४ जना दर्ता सहयोगीहरु छनौट गरि कार्तिक ७ गतेबाट ९ गतेसम्म तालिम संचालन गरिएको छ।

नयाँ छनौट भएका दर्ता सहयोगीहरुले कार्तिक १० गतेबाट काम थाल्नेछन। नयाँ छनौटसँगै इलामका ८१ वडामा ८३ जना दर्ता सहयोगी रहने अधिकारीले बताए। यसअघि दर्ता सहयोगी छनौट हुन नसक्दा जिल्लाका विभिन्न क्षेत्रका नागरिकहरुमा स्वास्थ्य विमाको पहुँच पुग्न सकेको थिएन। इलाम जिल्लामा गरिवी परिचयपत्र वितरण नभएका कारण स्वास्थ्य विमा मार्फत गरिव वर्गलाई छुट दिन नसकिएको अधिकारीले बताए।

इलाममा कस्ता रोगी बढी?

इलाममा स्वास्थ्य विमा गराउने मध्ये दिर्घ रोगीका बिरामी बढी देखिएका सामाजिक स्वास्थ्य सुरक्षा विकास समिती इलामले जानकारी दिएको छ। स्वास्थ्य विमामा सेवा लिने मध्ये उच्च रक्तचापका विरामी बढी देखिएका छन। त्यसै गरी रोग पहिचान नभएका, ग्याष्ट्रिक, मधुमेह, तल्लो पेट दुख्ने विरामीको संख्या बढी देखिएको अधिकारीले जानकारी दिए।

 विमित सदस्यहरुले बर्ष भरिमा स्वास्थ्य सेवा लिनु परे वा नपरे पनि ४० बर्ष उमेर पार गरेका सम्पूर्ण विमितहरुको बर्षमा एक पटक स्थानिय क्षेत्रमा नै गएर स्वास्थ्य जोखिम परिक्षण सेवा दिने उद्धेश्य अनुरुप पहिलो चरणमा इलाममा ७२० जनाको स्वास्थ्य जोखिम परिक्षण गरिएको छ।

स्वास्थ्य बिमाले कस्ता सेवा समेट्दैन?

स्वास्थ्य विमाले घर लैजान औषधीमा सुचिकृत औषधीभन्दा बाहेकका औषधी आवश्यक परेमा स्वास्थ्य विमाले समेटदैन तर अस्पतालमा भर्ना भएर उपचार गर्ने विरामी भने एम्बुलेन्स र एम आरआइ सेवाबाहेक अरु सबै सेवा स्वास्थ्य बिमाले समेट्ने अधिकारीले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.