|

कास्की : पोखराको गण्डकी मेडिकल कलेजमा शल्यक्रिया गरिएकी सुत्केरीको मृत्यु भएसँगै गण्डकी मेडिकल कलेज शनिबार पनि तनावग्रस्त बनेको छ। अपरेसन गरेर छोरा जन्माएकी स्याङजाकी १९ वर्षीया गीता अर्यालको मृत्यु भएपछि आफन्तजन अस्पताल प्रशासनविरुद्ध आन्दोलित भएका हुन्।

उनीहरुले दोषी चिकित्सकलाई कारबाही, नाबालकको संरक्षणको जिम्मा र क्षतिपूर्ति नदिएसम्म शव नउठाउने बताएका छन्। सुत्केरीका क्रममा अस्पतालकै लापरबाहीको कारण अर्यालको मृत्यु भएको भन्दै आफन्त आक्रोशित भएका छन्। आफन्तले हिजो पनि केहिवेर अस्पताल नै बन्द गरेका थिए। अस्पताल वरपर सुरक्षाकर्मी परिचालन गरिएको छ। अवस्था बिग्रन नदिन वडा प्रहरी कार्यालय बैदामका प्रहरी निरीक्षक वसन्त शर्माको नेतृत्वमा टोली परिचालित छ।

अस्पताल प्रशासनले भने लापरबाही नभएको भन्दै पुष्टि गर्न चुनौति दिएको छ। अस्पताल भनेको बिरामी बचाउने ठाउँ भएकाले कोही पनि बिरामी मरोस् भनेर चिकित्सकले उपचार नगर्ने अस्पतालले प्रस्ट पारेको छ। स्याङजा अर्जुनचौपारी १ की अर्याललाई सुत्केरी हुने मिति कात्तिक १९ गते तोकेको जेठाजु राजन अर्यालले जानकारी दिए। उनका अनुसार अर्याल गत कार्तिक १० गते शुक्रबार बेलुकी पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पुगेका थिए।

स्थान अभाव भएपछि गण्डकी मेडिकल जानु भन्ने सुझावका आधारमा उनीहरु गण्डकी मेडिकल कलेज आएका हुन्। अवस्था राम्रो रहेको र आत्तिनुनपर्ने चिकित्सकको भनाइपछि उनीहरु नागढुंगा गएर बसेका त्यसपछि अफ्ठेरो महसुस भएपछि शुक्रबार बेलुकी नै अर्का दाइको सहयोगमा पुनः गण्डकी मेडिकल कलेज ल्याइएको थियो।

११ कात्तिक शनिबार बिहान ११ बजे शल्यक्रिया गरी छोरा जन्मिएको थियो। त्यसपछि पाँच दिनसम्म बेहोस् अवस्थामा भेन्टिलेटरमा थिइन्। १७ कात्तिक शुक्रबार बिहान ५ बजे मात्रै मृत घोषणा गरियो। सकुशल जन्मेका छोरा भने अहिले नागढुंगामा आफन्तकहाँ छन्।

तर जेठाजु अर्यालले भने पाँच दिन बित्दासमेत बिरामीलाई नजिकबाट हेर्न नदिएको आरोप लगाएका छन्। ‘खाने सुप, जाउलो समेत मगाउथे लगेका बेला कहिल्यै हेर्न दिइएन। सधैं बेहोस् थियो। त्यति बेलै मृत्यु भएर अस्पतालले दिनहुँ पैसा खाने र अन्तिममा सकिएन भन्नका लागि बच्ने उपाय खोजेको हो।’

उनको आरोप छ ‘दिनहुँ २५ देखि ४० हजारको औषधि खर्च भएको छ। मणिपाल हस्पिटलबाट समेत औषधि ल्याइयो। कहिले ज्वरो, प्रेसर, निमोनिया भन्यो । यो सरासर झुटको खेती हो।’ उनले बिहीबार राति एकैचोटी नाजुक अवस्था छ भनेर जानकारी दिएको बताउँदै त्यसबेला प्रशासन, चिकित्सक सहितको जम्बो टोली आउँदा आफूहरु घटनाढाकछोप गरेको कुरामा विश्वस्त भएको बताए।

 पुलिसले समेत सिआइडी खटाएको भन्दै उनले सिभिल पुलिसलाई समेत आफूहरुले कुटपिट गर्न लागेको सुनाए। उनले शल्यक्रिया गर्ने डाक्टर टीका गुरुङ र सन्दिप न्यौपानेसँग भेट गर्न नदिएको भन्दै चण्डिका पण्डित सहितको टिमले पछि आफ्नै टीम भनेको जानकारी दिए।

उनीहरुले ‘जे गर्नुहुन्छ गर्नुस्’ भनेर गैरजिम्मेवार जवाफ दिएको उनको आरोप छ। अस्पताल प्रशासनमा उनीहरुले तालाबन्दीसमेत गरेका छन्। यसैबीच, अस्पताल प्रशासनले भने लापरबाहीका कारण नभइ सक्दो प्रयास गर्दा गर्दै बिरामीको ज्यान गएको स्पष्ट पारेको छ। निष्पक्ष छानकिन गर्न सहयोग गर्ने अस्पतालाले बताएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.