|

काठमाडौं : प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा नेकपा माओवादी केन्द्रले समानुपातिक निर्वाचन पद्धतितर्फ बनाएको उम्मेदवारमा पुरानै नेताको बर्चश्व छ। निर्वाचन आयोगले शुक्रबार सार्वजनिक गरेको समानुपातिक तर्फको बन्द सूचीको अग्रस्थानमा पुराना अनुहार नै बढी छन्।

समानुपातिक सूचीको पहिलो नम्बरमा खस आर्य समुदायबाट रेखा शर्मा परेकी छन्। उनी दोस्रो संविधानसभा निर्वाचनमा माओवादीबाट समानुपातिक संसद हुँदै सामान्य प्रशासनमन्त्री समेत बनिन्। खस आर्य समुदायको दोस्रो नम्बरमा परेकी पूर्णकुमारी सुवेदी २०६४ सालको पहिलो संविधानसभामा उपसभामुख थिइन्। २०६४ सालमा झापा ४ बाट प्रत्यक्षतर्फ निर्वाचन जितेकी धर्मशिला चापागाईं यस पटक खस आर्य समुदायको तेस्रो नम्बरको सूचीमा छिन्।

यस्तै २०६४ सालमा डोल्पाबाट निर्वाचन जितेकी सत्या पहाडी यस पटक माओवादीको समानुपातिक उम्मेदवारको खस आर्य समुदायतर्फ ४ नम्बरमा परेकी छन्। समानुपातिकको ६ नम्बरमा परेकी देवी खड्का २०६४ सालको निर्वाचनमा दोलखाबाट निर्वाचित थिइन्। २०६४ सालमा बैतडीबाट निर्वाचित भएकी रेनु चन्द समानुपाति सूचीको खस आर्यतर्फ १२ औँ नम्बरमा छिन्।

खस आर्य समुदायको पुरुषमा माओवादी केन्द्रले पहिलो नम्बरमा नै पूर्व सांसद हितराज पाण्डेलाई राखेको छ। उनी २०७० सालमा गोरखा क्षेत्र नम्बर २ बाट निर्वाचित थिए। 

चितवनबाट २०६४ मा निर्वाचित भएका पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का भाई नारायणप्रसाद दाहाल पनि यस पटक समानुपातिक सूचीमा अटाएका छन्। २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा समानुपातिक सूचीबाट संसद बनेका खेमराज भट्ट मायालु यस पटक पनि समानुपातिक सूचीमा छन्। 

आदिवासी जनजाति कोटाको पहिलो नम्बरमा रहेकी जयपुरी घर्तीमगर २०६४ सालको निर्वाचनमा समानुपतिक सभासद भएकी थिइन्। २०६४ सालमा समानुपातिकबाट सभासद बनेकी शशी श्रेष्ठ यस पटक पनि आदिवासी जनजातिबाट दोस्रो नम्बरमा समानुपातिक सूचीमा परेकी छन्। दोस्रो संविधानसभामा सभामुख बनेकी ओनसरी घर्तीमगर आदिवासी जनजातितर्फ दोस्रो नम्बरमा समानुपातिकको बन्दसूचीमा परेकी छन्। उनी २०७०को निर्वाचनमा रोल्पाबाट विजयी भएकी थिइन्।

नेता देव गुरुङकी पत्नी यशोदा गुरुङ सुवेदी पनि समानुपातिक सूचीमा परेकी छन्। उनी आदिवासी जनजातितर्फ समानुपातिक उम्मेदवार बनेकी हुन्। उनी २०६४ सालमा पनि समानुपातिक सभासद बनेकी थिइन्। २०६४ सालमा समानुपातिक सूचीबाट सभासद बनेकी अमृता थापा यसपटक पनि आदिवासी जनजातितर्फबाट समानुपातिक उम्मेदवार बनेकी छन्। २०६४ सालमा समानुपातिक तर्फ सभासद बनेका सुरेशकुमार आलेमगर यसपटक पनि आदिवासी जनजाति कोटाबाट समानुपातिक उम्मेदवार बनेका छन्।

२०६४ सालमा एमालेबाट समानुपातिक सभासद बनेका डा. ल्यार्क्याल लामा २०७० मा माओवादीबाट संसद बने। यसपटक पनि उनी माओवादीको समानुपातिक सूचीमा परेका छन्। २०६४ सालमा एमालेबाट समानुपातिक सभासद बनेका गोपाल ठाकुर यसपटक माओवादीबाट मधेसी कोटाबाट समानुपातिक सूचीमा परेका छन्। 

२०६४ सालको निर्वाचनमा बाँकेबाट प्रत्यक्ष निर्वाचित भएका तिलक परियार यसपटक दलित कोटाबाट माओवादीको समानुपातिक सूचीमा परेका छन्। २०६४ मा मोरङबाट प्रत्यक्ष निर्वाचित भएका गोपीबहादुर सार्की अच्छामी यसपटक पनि दलितबाट समानुपातिक सूचीमा छन्। सर्लाहीबाट २०७० सालको निर्वाचनमा विजयी भएका मानपुर चौधरी माओवादी केन्द्रको समानुपातिक सूचीमा छन्। उनी थारु समुदायबाट समानुपातिक सूचीमा परेका हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.