|

धनकुटा : धनकुटालाई एक नम्बर प्रदेशको अस्थायी राजधानी तोकिएको खुसियालीमा धनकुटा बजारका चोकचोकमा दीप प्रज्वलन गरेर खुसियाली मनाइएको छ।

शनिबार साँझ धनकुटा बजारका भीमनारायण चोक, चुवाको बोट चोक र मदन चोकमा भिन्दाभिन्दै कार्यक्रमको आयोजना गरी दीप प्रज्वलन गरिएको हो। दीप प्रज्वलनमा सहभागीहरुले धनकुटालाई १ नम्बर प्रदेशको राजधानी तोकिएकोमा खुसियाली मनाउँदै एक अर्कामा खुसी साटासाट गर्दै नेपाल सरकारलाई धन्यवाद व्यक्त गरेका थिए।

धनकुटामा रहेको क्षेत्रीय प्रशासन कार्यालयलाई १ नम्बर प्रदेशको सचिवको कार्यालय तोकेर सरकारले आफूहरुका मागलाई सम्बोधन गरेकोले कार्यक्रमको आयोजना गरिएको धनकुटा बजार व्यवस्थापन समितिका अध्यक्ष विप्लव श्रेष्ठले जानकारी दिए। नेपाल सरकारले केही दिन अगाडि धनकुटामा रहेको पूर्वाञ्चल क्षेत्रीय प्रशासन कार्यालयलाई १ नम्बर प्रदेशको सचिवको कार्यालय तोकेको थियो।

पहिले देखिनै प्रशासनिक केन्द्र हुँदै यसअघि पूर्वाञ्चल विकास क्षेत्रको सदरमुकाम समेत रहेको धनकुटालाई राजधानी बनाउनका लागि माग गर्दै जिल्लाबासीले चरणवद्ध आन्दोलन गर्दै आएका थिए। १ नम्बर प्रदेशका १४ वटै जिल्लाको केन्द्रभागमा रहेको, पर्याप्त भौतिक संरचना, उपयुक्त हावापानी, मजवुत सुरक्षा ब्यवस्था भएको लगायत कारणले धनकुटालाई नै प्रादेशिक राजधानी बनाइनुपर्ने जिल्लाबासीको माग थियो।

उनीहरूले यसअघि जिल्ला प्रशासन कार्यालय र क्षेत्रीय प्रशासन कार्यालयमार्फत पनि प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाइसकेका थिए भने काठमाडौं गएर राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री लगायत ज्ञापन पत्र बुझाएका थिए।

भौतिक पूर्वाधार, सामर्थय, सुरक्षा, सु्न्दरता, ऐतिहासिकताका आधार लगायत सबै किसिमले धनकुटा प्रदेशको राजधानी बन्न उपयुक्त रहेकाले कुनै पनि हालतमा अन्य स्थानमा राजधानी नस्वीकार्ने अडानसहित धनकुटाबासी आन्दोलनमा उत्रिएका थिए।

धनकुटाबासीले २०६८ सालमा पनि १८ दिनसम्म बजार बन्द गरि प्रादेशिक राज्यको राजधानी धनकुटालाई बनाउन माग गर्दै आन्दोलन गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.