|

धनगढी : दुई वर्षअघि टीकापुरमा एक बालकसहित आठ सुरक्षाकर्मीको ज्यान जानेगरी भएको घटनाका फारार अभियुक्त रेशम चौधरीले कैलाली निर्वाचन क्षेत्र १ मा राजपाका तर्फबाट प्रतिनिधिसभामा उम्मेदवारी दर्ता गराएका छन्। उनले वारेसनामामार्फत उम्मेदवारी दर्ता गराएका हुन्।

राज्यको नजरमा फरार रहेको व्यक्तिले उम्मेदवारी दर्ता गर्नु गैरकानुनी भएको कानुनी व्यवसायीको भनाइ छ। मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद अर्यालले अभियुक्तको उम्मेदवारी दर्ता गराएको बताएका छन्। अदालतमा मुद्दाको अन्तिम किनारा नलागेसम्म अभियुक्तले पनि उम्मेदवार बन्न पाउने कानुनी प्रावधान भएको उनको भनाइ छ।

रेशमविरुद्ध कसैको पनि उजुरी परेको छैन। नेपाल बार एसोसियसन कैलालीका पूर्वअध्यक्ष गंगाप्रसाद पाध्यायले राज्यको नजरमा फरार अभियुक्तले उम्मेदवारी दर्ता गर्न नपाइने बताए। ‘फरार अभियुक्तले वारेस नै राख्न पाइँदैन।’ अर्का अधिवक्ता गम्भीर ऐरले कानुनमा वारेस दिन अयोग्य व्यक्तिले वारेसनामा दिन नपाइने उल्लेख भएको स्पष्ट पारे। ‘अयोग्य व्यक्तिले गैरकानुनी रूपमा वारेसनामा दिएका व्यक्तिले उम्मेवारी दर्ता पाइँदैन’ उनले भने।

मुख्य निर्वाचन अधिकृत अर्याल निर्वाचन लड्न पाउने भएपछि फरार व्यक्तिले वारेसनामा पनि राख्न पाइने बताए। टीकापुर घटनामा संलग्न भएको भन्दै रेशविरुद्ध कर्तव्य ज्षन मुद्दा, ज्यान मार्ने उद्योग र हतियार डकैतीसम्बन्धी तीनवटा मुद्दा जिल्ला अदालतमा परेको छ। त्यही मुद्दामा २५ जना दुई वर्षदेखि पुर्पक्षका लागि थुनामा छन्। घटनाका मुख्य योजनाकार भनिएका रेशम दुई वर्षदेखि फरार छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.